
पाल्पा । गाईजात्रा पर्व पाल्पामा पनि भव्यरुपमा मनाइएको छ । जिल्लाको तानसेन, रामपुर, भैरवस्थान, खस्यौली, ताहुँ, जब्गादी, सिलुवा, हुमीन लगायतका ठाउँहरुमा नेवार समुदायका मृतकका परिवारहरूले बिहानैदेखि गाईजात्रा निकालेका थिए ।
दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म यो पर्व मनाइने गरिन्छ । मंगलबार जिल्लाका विभिन्न क्षेत्रमा दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गराइएको थियो । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वासका साथ यसो गराइएको हो ।
नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
गाई जात्राको दिन जिल्लाका विभिन्न बजारमा दर्जन भन्दा बढी गाईजात्रा निकालिएको छ । तानसेनमा काठमाडौं उपत्यकापछि सबै भन्दा बढी जात्रा मनाइन्छ । तानसेनमा गाईजात्राबाट सुरु भएर कृष्ण नवमीको दिन भगवती जात्रा निकालेपछि मात्र समापन हुन्छ । गाई जात्राको दिन आज तानसेन नगर सरकारले स्थानीय बिदा दिएको छ । आइतबार बसेको नगर प्रमुखस्तरीय बैठकबाट आईजात्राको दिन अर्थात् भदौं ४ गते एक दिनका लागि स्थानीय विदा दिने निर्णय गरेको थियो । विदाको दिन नगर कार्यपालिकाको कार्यालयसहित मातहतको सबै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयसहित अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच