✍️ उदय ठाकुर, देहरादून
उपन्यास आधुनिक सभ्यताको एउटा लोकप्रिय कलाको स्वरूप हो । साहित्यका कविता, निबन्ध, कथा आदि विधाहरू छन् । तीमध्ये उपन्यास पनि एक हो । उपन्यासमा मनोरञ्जन र कथात्मकता हुने हुनाले यो अरूभन्दा रोचक हुन्छ । मुख्यतः मानव जीवनमा केन्द्रित हुँदै यसले विस्तृत परिवेश समेटेको हुन्छ । जीवनका अनेक पक्षहरू हुन्छन् । एउटा सानो पक्षलाई लिएर लेखिएको उपन्यास अति गहन र सूक्ष्म पनि हुन सक्छ ।
उपन्यासको उत्पत्ति तथा विकास झण्डै पच्चीस सय वर्षअघि सुरु भएको देखिन्छ । त्यतिबेला भरतमुनिले नाट्यशास्त्रमा यसको उल्लेख गरेर शाब्दिक परिचय गराएका थिए । देश, विदेशका साहित्यिक विधाका विभिन्न पुस्तक पढेर प्रेरणा प्राप्त गरे पनि आफ्नै अनुकूल परिस्थिति सिर्जना नहुँदासम्म लेखनको विकास सम्भव हुँदैन । नेपाली उपन्यास लेखनमा पनि यो लागू हुन्छ । मानिसको सामाजिक जीवनमा अनेक घटना घटिरहेका हुन्छन् । कुनै सामान्य हुन्छन् भने कुनै विशेष हुन सक्छन् । तिनै विशेष घटना लेखनका लागि सहायकसिद्ध हुन सक्छन् । समाजमा जनजागृति ल्याउने कार्य पनि उपन्यास लेखनमा एक रोचक विषयवस्तु बन्न सक्छ ।
सरल र सहज भाषामा ‘लाहुरेको रेलिमाई’ अगाडि बगेको छ । उपन्यासभित्र अलौकिकता, साहसिकता, अदभूतता अनि नेपाली मन र नेपाली पनको वास्तविक चित्रण गरेको पाइन्छ । प्रथम विश्वयुद्धमा गोर्खाली पल्टनहरूको संलग्नतालाई बडो कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
बहुप्रतिभासम्पन्न मास्टर मित्रसेनले तत्कालीन नेपाली गोर्खा समाजमा साहित्य र गीतसंगीतमार्फत जनजागरण फैलाउने महान् कार्य गरेका थिए । मित्रसेनको यही योगदान विजय हितानलाई उपन्यास लेख्नका लागि खुराक बनेछ । अनि त उनले मित्रसेनको जीवनमा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई’ लेखेर त्यसको प्रबर्धनमा आज (५ नोभेम्बर २०२३) देहरादून आइपुगेका छन् । सन् १९३८ मा स्थापित गोर्खाली सुधारसभाका संस्थापक सदस्य थिए मित्रसेन । यो संस्था स्थापना गर्ने कार्यमा उनको प्रमुख भूमिका छ । अनि त कस्तो संयोग भने नि तिनै मित्रसेनका बारेमा लेखिएको उपन्यासलाई उनैले स्थापना गरिदिएको संस्थाको सभाहलमा हामीहरू विमर्श गरिरहेका छौं । लेखकसँग अन्तर्संवाद गरिरहेका छौं ।
सरल र सहज भाषामा ‘लाहुरेको रेलिमाई’ अगाडि बगेको छ । उपन्यासभित्र अलौकिकता, साहसिकता, अदभूतता अनि नेपाली मन र नेपाली पनको वास्तविक चित्रण गरेको पाइन्छ । प्रथम विश्वयुद्धमा गोर्खाली पल्टनहरूको संलग्नतालाई बडो कलात्मक ढंगले प्रस्तुत गरिएको छ । युद्धरत मित्रसेन र घर छाडेर गएको परिवारको पीडादायिक संवेदनालाई हृदयविदारक तरिकाले अभिव्यक्त गरिएको छ । युद्धसाहित्यको एक उत्कृष्ट लेखनको उदाहरण हो यो । यो एउटा भावुकताजन्य आख्यान हो, जसलाई पाठकहरूले खुब मन पराउने छन् भन्ने मलाई लागेको छ ।
उपन्यासमा युद्धरत सिपाहीका दिनहरू त्रासदीपूर्ण अवस्थाबाट गुज्रिरहेको हुन्छ । मित्रसेन र अन्य गोर्खाली सिपाहीले व्यतित गरेको जीवनलाई हेर्दा उपन्यासकारलाई करुणाका छविकार भन्न सकिन्छ । पढ्दै जाँदा मित्रसेन, कप्तान बहादुरसिंह बराल, भीसीद्वय कुलवीर थापामगर र कर्णबहादुर रानामगर साथै मास्टर मित्रसेनसँग गीत, संगीत, नाटक र समाजसुधारमा सहकार्य गरेका अनि तत्कालीन भूपू गोर्खा एसोसिएसनका व्यक्तित्वसँग साक्षात्कार हुँदै जान्छौं । यो एक नियात्रा धारमा लेखिएको हुनाले पाठकअगाडि चित्रैचित्र कोरिँदै जान्छन् । यो उपन्यासको फ्रेम भनेकै वर्णात्मक शैलीमा मित्रसेन कुन खकुन दिन युद्ध लड्दैलड्दै कहाँ कहाँ पुगे भनेर लेखिनु हो । यस्तो लेखनशैली नै यस उपन्यासको उत्कृष्टता हो, यसको विशेषता हो । अनि यसभित्रका शब्दहरू एउटा कालजयी गीतजस्तै बनेर पाठको मनमस्तिष्कमा सधैं रहिहनेछ ।
‘लाहुरेको रेलिमाई’मा मित्रसेनका भावनालाई मनन गर्दा लाग्छ, यो त पूजामा पञ्चामृत बाँडेझैँ मात्र हो । हितानको कलमबाट कोरिएका यस्ता उपन्यास भविष्यमा धेरै पढ्ने आशा राखेँ । आफ्नो जाति विशेषप्रति कस्तो अटुट सम्बन्ध हुन्छ, कति गहिरो माया हुन्छ, कति ठूलो योगदान दिएका रहेछन् भन्ने कुरा यस उपन्यास पढेर छर्लंग हुन्छ ।
लाहुरेको रेलिमाई मित्रसेनद्वारा गाइएको एक प्रसिद्ध कालजयी झ्याउरे गीत हो । यसका बारेमा एक रोचक प्रसंग छ । सन् १९६२ को भारत-चीन युद्धपश्चात् कवि प्रदीपले लेखेको गीत ‘ऐ मेरे वतन के लोगोँ जरा आँख मेँ भरलो पानी, जो शहीद हुए हैँ उनकी जरा याद करो कुर्बानी’ गीतलाई स्वर साम्राज्ञी लता मंगेशकरले गाउँदा तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूका आँखा आँसुले भिजेका थिए ।
मराठा अनि गोर्खा पल्टनका जवानहरूको एक संयुक्त सांस्कृतिक समारोह हुँदै थियो । फिल्ड मार्शल मानेक्सा त्यस समारोहमा मुख्य अतिथिको रूपमा आउनुभएको थियो । मराठा जवानहरूले सर्वप्रथम आफ्नो प्रस्तुतिमा ‘ए मेरे वतन के लोगोँ जरा आँखमे भर लो पानी, जो शहीद हुए हैँ उनकी जरा याद करो कुर्बानी...’ गीत प्रस्तुत गर्दै थिए । बीचमै मानेक्शा आफ्नो स्थानबाट जुरुक्कै उठे र यस गीतको प्रस्तुतिलाई रोक्न भने । अनि जोडले कराए, ‘ए माइला, ए साइँला, यता आऊ । तिमीहरू सिपाही हौ, तिमीहरूले यस्तो रुन्चे गीत गाउनुपर्दैन ।’ उनले, ‘आऊ मसँग गाऊ र नाच भन्दै, ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकरी भिरेको..’ गीत गाउन थाले । सिपाहीको मन दुःखी तुल्याउने होइन कि उनीहरूको मनोबललाई उच्च राख्ने संगीत प्रस्तुत गरिनुपर्छ भन्ने मानेक्शाको मनसाय थियो ।
ऐतिहासिक, गुणात्मक, परिमाणात्मक र प्रकारगत रूपमा केलाउँदा हितानको नेपाली साहित्यको क्षेत्रमा अत्यन्त महत्वपूर्ण योगदान रहेको छ भन्ने कुराको पुष्टि हुन्छ । यसरी नेपाली सांगीतिक आकाशका चम्किला तारा मास्टर मित्रसेनको प्रकाशलाई विलीन हुन नदिन ‘लाहुरेको रेलिमाई’ उपन्यासले आउने दिनहरूमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
हामीलाई गर्व लाग्छ कि गोर्खा पल्टनका सैनिकहरूको मनमुटुमा बस्न सफल यस गीतलाई टिपेर विजय हितानले उपन्यास लेखेछन् । मित्रसेनको जीवनमा महात्मा नरबहादुर थापाको ठूलो प्रभाव थियो । सन् १९३४-३५ तिर उनीसँग मित्रसेनको भेट भएको थियो । उनले नै मित्रसेनलाई समाजसुधारको कार्यतिर लगाएका थिए । भक्तिभावमा महात्मा नरबहादुर थापा एक चमत्कारी व्यक्ति थिए । भगवानको ध्यानमा बसिरहने उनी लाहोरको मिलिटरी इन्जिनियर सर्भिस विभागमा क्लर्क थिए । हिमाञ्चलको मकडी गाउँमा उनको प्रतिमा, समाधिस्थल र मन्दिर छ । उनी त्यो गाउँमा कुलदेवताको रूपमा पूजित छन् । प्रतेक वर्ष मार्च १३-१४ तारिखमा पर्ने सङ्क्रान्तिको दिन उनको स्मृतिमा भव्य मेला लाग्छ । अप्रिल १५ तारिख मन्दिरमा भण्डारु लगाइन्छ र रातभरि जागरण गरिन्छ ।
स्मरण रहोस् कि २० नोभेम्बर १९९९ मा नेपाल सरकारले र १ अक्टोबर २००१ मा भारत सरकारले मित्रसेनको नाममा हुलाक टिकट जारी गरेका थिए । मित्रसेन एक राष्ट्रवादी, भाषाप्रेमी, बहुआयामिक प्रतिभाशाली व्यक्तित्व थिए । बहादुरसिंह बरालको साथ र सहयोगले उनी भारत र नेपालका विभिन्न स्थानमा भ्रमण गर्दै गीतसंगीत र नाटक प्रस्तुत गरेर नेपाली संस्कृतिको प्रचारप्रसारमा जुटेका थिए । मित्रसेनको गायनका बारेमा अझ अर्को रोचक प्रसंगको पनि यहाँ चर्चा गरिन जरुरी छ । जसलाई लाहुरेको रेलिमाईभित्रको ‘शिलाङतिर बरालिँदै दार्जिलिङ’ शीर्षक दिइएको अनुच्छेदमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
यो शिलाङको कुरा हो । नरध्वज नामका एक नेपालीको घरमा भजन गाउँदै थिए मित्रसेनले । त्यही बेला घरको अर्को कुनामा मणिपुरे युवतीको नृत्य सुरु भएछ । मानिसहरू ती युवतीको नृत्य हेर्न उतै झुम्मिएछन् । त्यो देखेर मित्रसेनलाई रिस उठेछ । अनि त हार्मोनियमको तालमा उनले हिन्दी, उर्दूमिश्रित गाना यसरी गाए कि नृत्य हेर्न गएकाहरू हुरुरु फर्केर मित्रसेनलाई सुन्न आएछन् । त्यतिबेला मित्रसेन आफ्नो गायन बन्द गरेर उठे । त्यति बेला उनले भनेका थिए, ‘म नेपाली भाषाको लोक गीतसंगीत प्रबर्धन गर्ने मान्छे हुँ । नेपाली भाषाको अपमान सहन सक्दिनँ ।’ अनि उपस्थित दर्शक र घरबेटीले आफ्नो सांगीतिक प्रस्तुतिलाई निरन्तरता दिन निवेदन गर्दागर्दै पनि उनी उठेर हिँडेका थिए ।
निष्कर्षमा ऐतिहासिक, गुणात्मक, परिमाणात्मक र प्रकारगत रूपमा केलाउँदा हितानको नेपाली साहित्यको क्षेत्रमा अत्यन्त महत्वपूर्ण योगदान रहेको छ भन्ने कुराको पुष्टि हुन्छ । यसरी नेपाली सांगीतिक आकाशका चम्किला तारा मास्टर मित्रसेनको प्रकाशलाई विलीन हुन नदिन ‘लाहुरेको रेलिमाई’ उपन्यासले आउने दिनहरूमा महत्वपूर्ण भूमिका खेल्ने छ भन्दै हितानलाई हार्दिक बधाई अनि शुभकामना !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच