भोजपुर नगरपालिकाले तयार गर्‍याे स्थानीय पाठ्यपुस्तक

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । स्थानीय पाठ्यपुस्तक तयार नहुँदा विद्यार्थी र शिक्षक अन्योलमा परी रहेको अवस्थामा भोजपुर नगरपालिकाले आफ्नो नगर भित्रका विद्यालयका लागि पुस्तक तयार गरेको छ । स्थानीय पाठ्यक्रम भित्र कुन विषय पठनपाठन गराउने अन्यौलमा रहेका शिक्षकलाई अव भने सहजता हुने भएको छ ।

पुस्तक निर्माणका लागि जिम्मेवारी पाएको शिक्षकहरुको टिमले छ महिना लगाएर ‘कक्षा एक देखि पाँचसम्मको लागि ‘हाम्रो भोजपुर नगरपालिका स्थानीय पाठ्यपुस्तक’तयार गरेको हो । तयार पारिएको पुस्तक अध्ययनका लागि नगर प्रमुखलाई बुझाईएको शिक्षकहरुले बताएका छन् ।

भोजपुर नगरपालिकाले पुस्तक तयारीका लागि शिक्षकहरु लालकुमार तामाङ, विष्णुकुमार राई, दुर्गाप्रसाद बराल, लक्ष्मण जोशी, रक्तम राई रहेको टिम बनाएको थियो । टिमका सदस्य शिक्षक रक्तम राईले पुस्तक तयारी भए पछि अव नगर क्षेत्रका विद्यालयहरुका लागि सहजता भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “कक्षा १ देखि ५ सम्म लेखन तथा सम्पादन गरिएको एक प्रति पुस्तक पालिकामा बुझाउन सफल भएका छौँ ।” यो पाठ्यपुस्तक लेखन जस्तो प्राज्ञिक, प्राविधिक र गहन तथा चुनौतिपूर्ण कार्य पुरा भएको छ, शिक्षक राईले भन्नुभयो ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी पालिकाहरुले विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गरेपछि पाठ्यपुस्तक निर्माण नहुँदा समस्या हुँदै आएको थियो । नगरपालिकाले समयमा पाठ्यपुस्तक तयार नगर्दा आफुहरुलाई विद्यार्थीलाई पढाउन समस्या हुने गरेको गुनासो शिक्षकहरुले गर्दै आई रहेका थिए ।

भोजपुर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक कैलाश कुमार आलेले शिक्षकहरुको टिमले स्थानीय पाठ्यक्रम निर्माण गरेको र सो अध्ययन गरेर अन्तिमरुप दिईने बताउनुभयाे । उहाँले भन्नुभयाे, “पाठ्यपुस्तक तयार भएको अव स्थानीय विषय पढाउन सहज हुन्छ, पुस्तकमा सवै क्षेत्रलाई समेट्ने खालका विषयबस्तु समावेश छन् ।”

स्थानीय पाठ्यक्रममा भोजपुरको पहिचान, कला, संस्कृति र सम्पदा, इतिहासलगायतका विषयहरुलाई समावेश गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?