काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्रै कीर्तिपुर क्रिकेट रंगशालामा ‘फ्लडलाइट’ र ‘स्कोरबोर्ड’ जडानको काम सकिने बताउनुभएको छ । आफूले प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै तीन सय दिनभित्र कीर्तिपुर रंगशालालाई सुविधासम्पन्न बनाउने निर्णय लिएको उल्लेख गर्दै सजिलो काम नभएको जिकिर गर्नुभयो । ‘यो सजिलो काम होइन, हिसाब गरेरै मैले अझ यो स्वाभाविक गतिमा जाने हो भने तीन वर्षभन्दा बढी समय लाग्छ,’ उहाँले भन्नुभयो, ‘अहिले तत्कालै फ्डलाइट, स्कोरबोर्ड बनाएर राती पनि खेल्ने अभ्यास खेलाडीहरूले थालिहाल्नुहुनेछ केही समयभित्र । अब धेरै समय लाग्दैन । फ्लडलाइट अब तीन महिनाको कार्यप्रगति भनेका छौँ । त्यसको आसपासमा गर्नेछौँ ।’
साथै, उहाँले त्यसका लागि २४ सै घण्टा काम सञ्चालन गर्नुपर्ने आँकलन आफूहरूको रहेको पनि दाबी गर्नुभयो । ‘त्यसका लागि २४ सै घण्टा तीन सिफ्टमा काम गर्नुपर्ला भन्ने आँकलनका साथ, साँच्चै मरिमेटेर लाग्ने हो भने ३०० दिनमा सम्भव छ भन्ने हिसाब गरेर भनेको हुँ,’ उहाँले भन्नुभयो ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद निशा डाँगीले उक्त निर्णय गरेको ३८ दिन बितिसकेको भन्दै कार्यप्रगति माग्नुभएको थियो । ‘तीन सय दिनलाई शतप्रतिशत मान्ने हो भने आज १२ प्रतिशत काम सकिसकेको हुनुपर्ने,’ उहाँले भन्नुभयो, ‘प्रगति विवरणको समेत जानकारी गराइदिनुहुन्छ ?’
उहाँले कीर्तिपुरमा तीन सय दिनमा अति आवश्यक पूर्वाधार र सुविधासहित अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्ने गरी निर्माणको तयारी गरिएको बताउनुभयो ।
‘रंगशालालाई नौवटा क्षेत्रमा विभाजन गरी पूर्वाधार निर्माण गर्न कार्ययोजना तयार भएको छ । हालसम्म रंगशाला क्षेत्रको टोपोग्राफी सर्भे गर्ने कार्य सम्पन्न भएको छ । अवधारणा नक्सा तयार गरेर संरचनाका लागि डिपिआर तयार गर्ने, खरिद प्रक्रिया र निर्माण गर्ने कार्य द्रूत प्रक्रियाबाट सम्पन्न गर्ने गरी तयारी गरिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच