काठमाडौं । यात्रा आरामदायी रहोस् र गन्तव्यमा समयमै पुग्न पाइयोस् भन्ने कामना सबैको हुन्छ । तर, नेपालमा अपवादबाहेक यो कामना पूरा हुन सकेको छैन । सडक तथा यातायात क्षेत्र लथालिंग र भताभुंग छ । सवारी दुर्घटनाको खबर नआएको दिन छैन । साँघुरो र जीर्ण सडक तथा चालकको लापरबाहीले दुर्घटना न्यूनीकरण हुन सकेको छैन । दुर्घटनामा नागरिकले अनाहकमा मृत्युवरण गरिरहनुपर्ने अवस्था छ ।
नेपालमा हुने मानवीय क्षतिको महत्वपूर्ण कारण गाडी दुर्घटना रहँदै आएको छ । प्रहरीको तथ्यांकले नेपालमा सडक यात्राको सुरक्षामा प्रश्नचिहृन खडा गरेको छ । बर्सेनि दुई हजार बढीले सवारी दुर्घटनामै ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांक छ । पछिल्ला केही दिनयता एकपछि अर्को भयानक दुर्घटना भएका छन् । हरेक दिन भइरहेका भयानक सवारी दुर्घटनाका कारण आम नागरिक त्रसित भएका छन् ।
पछिल्लो तीन दिनमा मात्रै साना ठूला गरी करिब एक दर्जन सवारीसाधन दुर्घटना भएका छन् । तिनमा सवार करिब तीन दर्जन व्यक्तिको ज्यान गएको छ । शुक्रबारदेखि आइतबार दिउँसोसम्म भएका सवारी दुर्घटनाबाट ३४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न दुर्घटनामा परेर पाँच दर्जन व्यक्ति घाइते भएका छन् । केही बेपत्तासमेत छन् ।
गएको शुक्रबार तनहुँको आबुखैरनीमा सबैभन्दा ठूला दुर्घटना भएको थियो । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जना भारतीय पर्यटकको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए ।
तनहुँको मस्र्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको थियो । रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग२ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । त्यसैदिन पोखरामा विद्यालयको बस दुर्घटना परेको थियो । शुक्रबार दिउँसो पोखरा महानगरपालिका-१७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा एकजना घाइते भएका थिए । शुक्रबार नै काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएका थिए । त्यसैदिन बिहान पोखरा सिर्जनाचोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो । त्यस्तै, दिन अरू दुर्घटना पनि भएका थिए ।
दुर्घटनाको क्रम शनिबार पनि कायम रहृयो । शनिबार मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । शनिबार साँझ खोटाङबाट भक्तपुर आइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुँडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका प्रहरीले जनाएको छ । यो क्रम आइतबारसम्म पनि कायम रहृयो । आइतबार बिहान मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दोरम्बा पहिरोमा ६ जनाको मृत्यु, चार बेपत्ता
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेखर्कमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । चारजना अझै बेपत्ता छन् । पहिरोमा परी मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका शैलुङ-३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उहाँका १८ महिने छोरा आयुष, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी रहनुभएको छ । यस्तै, फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी र बिन्दा पहरी बेपत्ता हुनुहुन्छ । चण्डिकाको घरबाट एक बालिकाको भने घाइते अवस्थामा उद्वार गरिएको थियो । पहिरोमा परेर बेपत्ता चार जनाको भने आइतबार दिउँसोभर खोजी गर्दा पनि फेला पर्न नसकिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो ।
पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उहाँको भनाइ थियो । मृत्यु भएका ६ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइ सकिएको निरौलाले जानकारी दिनुभयो । उद्धार कार्यमा पानी बाधक बनेको छ । बेपत्ताको खोजी कार्य आइतबार पानी परेपछि रोकिएको थियो । अविरल वर्षाका कारण खसेको पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले वडा नं २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।
३० घरधुरी रहेको लेकखर्कको बस्ती नै पहिरोको जोखिममा परेको छ । यस्तै, दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोबाट ४५ घर जोखिममा परेका वडा अध्यक्ष सन्तलाल थापामगरले जानकारी दिनुभयो । ४५ घरका करिब १३० जना विस्थापित भएका र उनीहरूलाई विद्यालय र पालिकाको कार्यालयमा राखिएको उहाँले बताउनुभयो । शनिबार राति भीषण वर्षासँगै बाढी र पहिरोले उक्त क्षेत्र सडक सम्पर्कविहीन हुन पुगेको छ ।
विपद्का घटनासँगै मानवीय क्षति पनि बढ्यो
सवारी दुर्घटना मात्रै होइन विपद्का घटना पनि दिनानुदिन बढिरहेका छन् । मनसुनजन्य विपद्मा मानवीय क्षति गत वर्षको तुलनामा यसपालि साढे दुई गुणाभन्दा बढीले वृद्धि भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकानुसार यो वर्ष मनसुन सुरु भएपछिका ७६ दिनमा विपद्का घटनामा परी १९७ जनाको मृत्यु भएको छ । यो वर्ष जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो । ०८१ जेठ २८ देखि भदौ ८ गते सम्मका ७६ दिनमा मनसुनजन्य विपद्का घटनामा १९७ नेपालीको ज्यान गएको केन्द्रको तथ्यांक छ ।
गत वर्ष २०८० जेठ ३१ देखि भदौ ८ गते सम्मका ७३ दिनको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी नेपालमा ७५ जनाको मृत्यु भएको थियो । यो वर्ष मनसुन सुरु भए यताको अवधिमा मनसुनजन्य विपद्का एक हजार ४४५ घटना रेकर्ड गरिएको छ । ती घटनामा ४४ जना बेपत्ता छन् । २४० जना घाइते भएका छन् ।
बाढीपहिरो, भारी वर्षा, चट्याङजस्ता मनसुनजन्य विपद्का घटनाबाट यो वर्ष चार हजार ४१९ परिवार प्रभावित भएका छन् । यस्ता विपद्का घटनाले १९७ घरमा आंशिक र २५५ मा पूर्ण क्षति गरेको छ । सोही अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ९११ चौपायाको मृत्यु भएको छ ।
गत वर्षको मनसुन अवधिमा विपद्ले गरेको भन्दा यसपालि दुई गुणा बढी मानवीय क्षति साढे दुई महिनामा भइसकेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । २०८० मा जेठ ३१ देखि असोज २८ गतेसम्म कुल १२४ दिन नेपालमा मनसुन अवधि थियो । गत वर्ष औसतभन्दा १२ दिन ढिलो गरी पानी पार्ने मनसुन प्रणाली नेपालबाट बाहिरिएको थियो ।
गत वर्ष नेपालमा मनसुनको कुल अवधिमा रेकर्ड गरिएका ८९१ उक्त विपद्का घटनामा परी ९२ जनाको मृत्यु र ३० जना बेपत्ता भएका थिए । उक्त अवधिमा ती घटनामा परी १६८ जना घाइते भएका थिए । यो वर्ष मनसुन सुरु भएपछिका साढे दुई महिनामा उक्त विपद्का घटनामा परी १९७ जनाको मृत्यु र ४४ जना बेपत्ता भएका छन् ।
१० वर्षमा तीन हजार बढीको मृत्यु
मनसुनजन्य विपद्का घटनामा परी पछिल्लो १० वर्षमा नेपालमा तीन हजार ५२ जनाको मृत्यु भएको छ । २०७१ देखि ०८० सम्म विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । १० वर्षमा बाढीका एक हजार ६०२, पहिरोका दुई हजार ८४०, भारी वर्षाका एक हजार ५९७ र चट्याङका दुई हजार ४०० गरी कुल आठ हजार ४४१ मनसुनजन्य विपद्का घटना रेकर्ड गरिएको थियो । उक्त अवधिमा बाढीमा परी ७४९, पहिरो खस्दा एक हजार ३१४, भारी वर्षाका कारण १०६ र चट्याङ लागेर ८८५ जनाको मृत्यु भएको थियो । पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्का घटनामा परी ७९१ जना बेपत्ता भएका छन् । चार हजार १७६ जना घाइते भएका थिए । १० वर्षमा ८५ हजार ६४६ परिवार यस्ता घटनाबाट प्रभावित भएका प्राधिकरणको तथ्यांकले देखाउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच