क्यानबेरा । अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने मंगलबार घोषणा गरेको छ । घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।
शिक्षामन्त्री जेसन क्लियरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाउनुभएको छ । उहाँले निर्धारित सीमाहरू, संसद्ले पारित गर्ने बताउँदै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिनुभएको छ ।
घोषणा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन् । घोषणा शिक्षा प्रणालीलाई अझ प्रभावकारी र निष्पक्ष रूपमा स्थापना गर्ने प्रयत्नशील रहेकाले केही विश्वविद्यालयलाई मात्र नभई सम्पूर्ण क्षेत्रलाई लाभान्वित गर्ने क्लियरले उल्लेख गर्नुभयो ।
यसअघि सत्तारुढ लेबर पार्टीले सन् २०२२-२३ मा अष्ट्रेलियाको कुल आप्रवासन संख्या पाँच लाख २८ हजार बाट घटाएर सन् २०२४–२५ सम्ममा दुई लाख ६० हजार बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी संख्या सीमित गर्ने योजना घोषणा गरेको थियो ।
गत जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क ७१० अष्ट्रेलियन डलरबाट दोब्बर बढाएर एक हजार ६०० अष्ट्रेलियन डलर बनाएको छ । गैरसरकारी संस्था युनिभर्सिटीज अष्ट्रेलियाका प्रमुख कार्यकारी ल्युक सिहीले अगस्टको सिनेट सुनुवाइमा विश्वविद्यालयको अर्बाैं डलर राजस्व खर्च गर्ने र १४ हजार रोजगारी जोखिममा पार्ने जनाउनु भएको थियो ।
उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीले गतवर्ष अष्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको बताउँदै लगभग उनीहरूले नै राष्ट्रलाई मन्दीबाट जोगाएको उल्लेख गर्नुभयो । सरकारी तथ्यांकका अनुसार सन् २०२३ मा अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ बिलियन अष्ट्रेलियन डलर थियो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच