काठमाडौं । निर्देशक, अभिनेता, एवं सञ्चारकर्मी दिनेश डिसी (दिनेश राज दाहाल)ले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । बोर्डका नवनियुक्त अध्यक्ष डिसीले चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
आइतबार सञ्चारमन्त्रीबाट नियुक्तिपत्र लिएसँगै सोमबार बोर्डको कार्यालयमा पुगेर विधिवत भदभार ग्रहण गरेर काम थाल्नुभएको हो । बोर्डका कर्मचारीहरूले फूलमाला लगाएर डिसीको स्वागत गरेका थिए । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उहाँले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गर्नुभएको थियो । पदभार ग्रहण गर्दै डिसीले फिल्म ज्ञान शास्त्रलाई निर्माण इजाजतपत्रमा हस्ताक्षर गर्नुभयो ।
त्यसक्रममा उहाँले आफू जागिर खानमात्रै नआएको भन्दैै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ‘बोल्ने काम जिन्दगीमा धेरै गरियो । बोलेरै चलचित्र निर्देशन, निर्माण गरेको हो । खेलेको हो । यो पटक चाहिँ म काम गर्न आएको छु । यसपटक मेरो एउटै स्टेटमेन्ट, म जागिर खान होइन, काम गर्न आएको हो’, उहाँले भन्नुभयो । उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनेदेखि बक्स अफिस कार्यान्वयन गर्नेसम्मका प्रतिबद्धता जनाउनुभएको छ । डिसीले कर्मचारीलाई केही निर्देशनसमेत दिनुभएको थियो ।
उक्त अवसरमा चलचित्र संघसंस्थाका प्रमुख र प्रतिनिधिले बधाई तथा शुभकामना दिएका थिए । उहाँलाई बधाई दिन चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । अध्यक्ष डिसीले सोमबार एक दिनमा मात्र शुभकामना लिने बताउनुभएको छ ।
लामो समयदेखि सञ्चारकर्मसहित चलचित्र क्षेत्रमा सक्रिय डिसीलाई गत बिहीबार मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । अध्यक्षका लागि ६ जनाको नाम छानिएकोमा सरकारले डिसीलाई नियुक्त गरेको हो । डिसी चलचित्र विकास बोर्डको १८औं अध्यक्ष हुनुहुन्छ । उहाँको कार्यकाल दुई वर्षको हुनेछ ।
बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै डिसीले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताउनुभएको थियो । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।
डिसी सत्तारुढ एमाले निकट भ्रातृ संगठनमा आबद्ध हुनुहुन्छ । उहाँ जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
डिसीले सन् १९९७ मा रिलिज भएको चलचित्र ‘सुनचाँदी’बाट अभिनयमा डेब्यु गर्नुभएको थियो । ५० बढी चलचित्रमा अभिनय गर्नुभएका उहाँले ‘सावधान’, ‘मायाज् बार’, ‘६ एकान ६’, ‘फूलै फूलको मौसम तिमीलाई’ जस्ता चलचित्रको निर्देशन पनि गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच