पोखरा । हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले चुम्नुभएको छ । उहाँले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गर्नुभएको हो ।
स्विस प्रणालीका आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एञ्जल महर्जनलाई पराजित गर्दै सर्वाधिक पाँच अंकसहित च्याम्पियन हुनुभएको हो । ३० वर्षीया शान्ति अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५औँ चेस ओलम्पियाड २०२४ खेल्ने नेपाली टिमकी खेलाडी पनि हुनुहुन्छ ।
दुई वर्षअघि चेन्नाईमा भएको ४४औँ ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौँ चरणमा १६४६ रेटिङकी एञ्जललाई पराजित गर्दै सफलता हासिल गर्नुभएको हो । निहाना श्रेष्ठ चार अंकसहित उपविजेता हुनुभयो । समान चार अंक भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संैजु तेस्रो हुनुभयो ।
हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोजित प्रतियोगितामा यू-१५ मा प्रज्ञा पन्त (४ अंक), यू-१३ मा एञ्जल महर्जन (४ अंक), यू–११ मा नायुमा मगर (४ अंक), यू-९ मा प्रज्ना तुलाधर (३ अंक) र यू-७ मा चार्वी खेम्का (३.५ अंक) प्रथम हुनुभयो । ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २५ अंक बटुल्दै पहिलो हुनुभयो र प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रीति राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक विनिता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो । प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए ।
एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतीज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गर्नुभएको थियो ।
गत चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रूपमा ७३ जना बालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ । उसले आयोजना गरेको तेस्रो प्रतियोगिता हो तीज चेस टोर्नी । उसले यसअघि एसइई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच