काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीशहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी, ५० एमभिएका पावर टान्सफर्मर रहेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार सबस्टेसन निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरण सफलतापूर्वक परीक्षण गरिएको छ । १३२ केभी सबस्टेसनलाई भने सञ्चालनमा ल्याइएको छ ।
प्राधिकरण र हिमालयन पावर पार्टनरबीचको विद्युत् खरिदबिक्री सम्झौताबमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् सोही सबस्टेसनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब सोही सबस्टेसनमा जोडिनेछ ।
उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत् दोर्दीखोला जलविद्युत् र दोर्दी करिडोर प्रसारण लाइनबाट आएको विद्युत्लाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यमस्र्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा जोडिएको थियो ।
सबस्टेसन सम्पन्न भएकाले अब दोर्दी करिडोर प्रसारण लाइनलाई सोही सबस्टेसनभित्र छिराएर मध्यमस्र्याङ्दीको स्वीचयार्डतर्फ विद्युत् प्रवाह गरिने र त्यसपछि मध्यमस्र्याङ्दी-मस्र्याङ्दी १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत् स्थानीयरूपमा समेत विद्युत् आपूर्ति गरिने हुँदा सो क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोजनाअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै चितवनको भरतपुरसम्मको २२० केभी प्रसारण लाइन आगामी वैशाखभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ, उक्त लाइन बनेपछि त्यस क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि झन् सहज हुने भएकाले यो लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’
मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ ।
उक्त प्याकेजको उदीपुर-मार्कीचोक खण्डमा पर्ने ११० टावरमध्ये ९० वटाको जग हालिएको छ भने मार्कीचोक भरतपुर खण्डमा पर्ने ८३ टावरमध्ये निजी जग्गामा पर्ने ३५ टावरको जग हालिएको छ । बाँकी टावर वन क्षेत्रमा पर्ने भएकाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाउन सम्पूर्ण प्रक्रिया पूरा गरी रुख कटान सुरु गर्न लागिएको आयोजना प्रमुख नारायण रेग्मीले बताउनुभयो ।
आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार दुर्ई सय २५ रुख कटान गर्नुपर्नेछ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
तेस्रो प्याकेजअन्तर्गत मनाङ (धारापानी)-खुदी-उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र दुर्ईवटा सबस्टेसन निर्माणाधीन छन् । २२०/१३२/३३ केभी खुदी सबस्टेसन निर्माण करिब ९० प्रतिशत सकिएको छ । २२०/१३२/३३ मनाङ सबस्टेसन पनि निर्माणाधीन छ । खुदी-उदीपुर प्रसारण लाइन खण्डमा पर्ने ४६ वटा टावरमध्ये २२ वटाको जग हालिएको छ भने छवटा टावर खडा गरिएको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच