काठमाडौं । अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने हुनुभएको छ । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन शनिबार बिहान अमेरिका पुग्नुभएका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ताको समय तय भएको हो ।
दुई प्रधानमन्त्री बीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ । यद्यपि, समयमा केही हेरफेर हुनसक्ने सचिवालयले उल्लेख गरेको छ । भेटमा इपिजिको प्रतिवेदन, सीमा समस्यालगायत विषयमा कुराकानी हुने बताइएको छ । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीले दिएको इपिजी र सीमा सम्बन्धका अभिव्यक्तिबारे भारत रुष्ट छ ।
भेटमा नेपाल र भारत बीचको सम्बन्ध, दुई देशबीचको उच्चस्तरीय भ्रमणलगायत विषयमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी गराउनुभयो ।
भारतीय विदेश मन्त्रालयका अनुसार मोदी २३ सेप्टेम्बरसम्म अमेरिकामा रहने कार्यक्रम छ । २३ तारिखमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर मोदी फर्किने भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ । सोही कारण पनि ओली-मोदीबीचको भेट मिलाइएको स्रोतको दाबी छ ।
‘भारतीय प्रधानमन्त्रीको भ्रमण छोटो भएकै कारण २३ तारिखमै भेटवार्ता सुनिश्चित गरिएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ । गत भदौ २२ गते प्रधानमन्त्री ओलीले फराकिलो मनले संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताउनुभएको थियो । उहाँले भारत लामो संस्कृति भएको छिमेकी मित्र भएको र नेपालले खुलारूपमा छिमेकीसँग कुरा गर्नुपर्ने बताउनुभएको थियो ।
न्युयोर्कमा हुने भेटमा पनि उहाँहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ । नेपाल–भारतबीचको सम्बन्धलाई मजबुत बनाउन र दुई देशका सरकारबीच आपसी सहकार्यका विषयमा पनि उनीहरूबीच छलफल हुने स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली असोज १२ गतेसम्म न्युयोर्कमा रहनुहुने छ । त्यहाँ रहँदा उहाँले अन्य उच्चस्तरीय भेटवार्तासमेत गर्नुहुनेछ । असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली १४ गते नेपाल फर्किनुहुने छ ।
नेपालले संयुक्त राष्ट्रसंघ (युएन) को ७९औँ महासभा र समिट अफ फ्युचर कार्यक्रममा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवहाक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदी लगायतले जोन एफ केनेडी विमानस्थलमा स्वागत गर्नुभयो । महासभादेखि समिट अफ द फ्युचरसहित अमेरिकामा रहँदा ओलीले सात कार्यक्रममा सम्बोधन गर्नुहुने छ भने एक दर्जनभन्दा बढी साइडलाइन भेटवार्ता तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमार्फत सम्पूर्ण गृहकार्य पूरा गरिसकेको छ ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघभित्र भने महासभाको भ्रमणका दौरान चार महत्वपूर्ण कार्यक्रममा सम्बोधन गर्ने हुनुभएको छ । परराष्ट्रका अनुसार प्रधानमन्त्री ओलीले समिट अफ द फ्युचर, ७९औँ महासभाको उच्चस्तरीय छलफल, ‘एन्टिमाइक्रोबियल रेसिस्सटेन्स’ को उच्चस्तरीय सत्र र ‘सी लेभल राइज’ को उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । साथै न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरूलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सिङ द फुचरः मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ओलीले असोज ७ मा समिट अफ द फ्युचरमा सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । ओलीले आएकै दोस्रो दिन महासचिव गुटेरेससँग भेटवार्ता गर्नुहुने छ भने महासभालाई असोज १० मा सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले राष्ट्रसंघबाहेक असोज ७ मा न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा ‘प्रजातन्त्र र आर्थिक समृद्धिमा नेपालको यात्रा’ विषयमा सम्बोधन गर्नुहुनेछ भने ‘संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म नेपालको दृष्टिकोण’ सम्बन्धमा असोज ११ मा बोस्टनको हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच