
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समावेशिता, समानुपातिक प्रतिनिधत्व बढ्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी गर्नुभयो ।
उहाँले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन प्रणालीबाट सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने पनि बताउनु भयो ।
उहाँले कसैको दबाब र लहडमा नेपाली काँग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने बताउनु भयो । उहाँले समानुपातिक प्रणाली हटाइ राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा पार्टीका केही नेताहरुले गरेको भन्दै काँग्रेस त्यसको पक्षमा नरहेको बताउनु भयो ।
राष्ट्रिय सभालाई समानुपातिक बनाउने कुरा काँग्रेसको नीति नरहेको भन्दै गलत प्रचर नगर्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । आन्दोलनबाट स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधत्व, महिला, दलितको प्रतिनिधित्व बढ्ने तर नघट्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज हामी १० वर्षको संविधानको अनुभवका आधारमा त्यसको पुनरावलोकन गर्नुपर्छ भनेका छौँ । साथै निर्वाचन प्रणालीमा पनि बहसमा छौँ । हामी आफ्नै आन्दोलनबाट आफ्नो अनुभवबाट, आफ्नो नेतृत्वबाट, यस्तो निर्वाचन प्रणाली, जुन निर्वाचन प्रणालीबाट सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्छ, हामीले बनाएको संसदमा, हामीले बनाएको वडा, गाउँपालिका सबै ठाउँमा महिला, दलित, मधेसी, अल्पसंख्यक सबैको प्रतिनिधित्व हुनुपर्छ भनेर बनाएको कुरा कसैको दबाबमा, कसैको लहडमा हामी यसमा पछाडि हट्छौँ, यो हामीलाई कसैले बोकाइदिएको भारी हो ? यो हामीले गरेको नेतृत्व हो । नेपाली काँग्रेस पार्टीले गौरवका साथ यो अभियानको नेतृत्व गरेको होइन ? ०६२/०६३ को आन्दोलनको नेता को ? सबै हामी सहभागी थियौँ । नेता को ? २०७०, २०७२ सालको संविधान निर्माण गर्ने बेलाको नेता को ? हामी हौँ । अनि हाम्रो पार्टीभित्र बेलाबेला किन भ्रमित हुन्छ । नेपाली काँग्रेसको केन्द्रको तर्फबाट कुनैपनि साथीले कुनैपनि ठाउँमा गएर छलफल गर्दैगर्दा सजिलोसँग के भनिदिन्छौँ भने अब हामी समानुपातिक प्रणाली हटाउँछौँ, राष्ट्रिय सभालाई समानुपातिक बनाउँछौँ । त्यो कसैले गर्छ, कसैले गर्न पाउँछ, गर्नसक्छ ? सरकार बनाउने प्रतिनिध सभा हो नि । त्यो प्रतिनिधि सभामा महिला, दलित, मधेसी सबै लिएर जान्छौँ भनेर हामीले बनाएको प्रणाली हो । हामी कतिपय ठाउँमा आशंका राख्छौँ, एउटा पार्टी आउँछ, सरकार भन्दा बाहिर बसेको पार्टीले भनिदिन्छ, अहिले काँग्रेस, एमाले मिलेर यो प्रणाली हटाउँदै छन् खबरदार भनेर कुनै नेताले भनिरहनुभएको छ । हाम्रो साथीहरु पनि अलिअलि अल्मलिएको जस्तो देख्छु । अल्मल गर्ने छुट पनि कसैलाई छैन । आशंका गर्ने छुट पनि कसैलाई छैन । हामीले हाम्रो आन्दोलनबाट स्थापित गरेको समावेशिता, समानुपातिक प्रतिनिधत्व, महिला, दलितको प्रतिनिधित्व बढ्छ, घट्दैन । बढ्छ घट्दैन । यो नेपाली काँग्रेसको कुरा हो । यो पार्टीको जिम्मा हो ।’
महामन्त्री थापाले सात बुँदे सहमति हुनुभन्दा पहिला नै निर्वाचन प्रणाली लगायतका केही विषयमा संविधान संशोधन गर्नेकुरा उल्लेख गरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच