काठमाडौं । भदौको पहिलो सातादेखि सुरु भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समिति बैठक सकिएको छ । अन्तिम दिन आइतबार माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्चुअल परामर्श बैठक बसेको थियो । आइतबार बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एसिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरू सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका थिए । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारीस्वरूप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम शृंखला हो । आइतबारको बैठकसँगै प्रदेश परामर्श बैठक सकिएको छ । माओवादी केन्द्र अब केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ ।
आइतबारको बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य शृंखलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभएको थियो । बैठक सुरुवात गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ । परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।’
गत साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बस्नुअघि प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक राख्ने निर्णय गरेको थियो । स्थायी समिति बैठकको निर्णयअनुसार भूगोलका सात प्रदेशका साथै गैरभूगोलतर्फ उपत्यका विशेष, प्रदेश समन्वय, प्रवासतर्फ एसिया, युरोप अमेरिका समिति केन्द्रीय निकाय, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न भइसकेको छ । अन्तिम दिन आइतबार सार्क राष्ट्रमा कार्यरत केन्द्रीय सदस्यहरू र पदाधिकारीको संयुक्त बैठक बसेको थियो ।
प्रदेशस्तरीय बैठक सकिएपछि आवश्यकताअनुसार केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति बैठक दशैँलगत्तै बस्ने जानकारी दिनुभएको छ । केन्द्रीय पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समिति बैठकबाट आएका सुझावका आधारमा केन्द्रीय समितिले बृहत् योजना ल्याउने गरी तयारी भइरहेको उहाँको भनाइ छ । पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै वामपन्थी दलहरू गोलबन्द भएर जानुपर्नेमा प्रत्येक प्रदेशस्तरीय परामर्स समितिको बैठकबाट सुझाव आएको जिकिर गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘समीक्षा राम्रो भइराखेको छ । विचारको बहस पनि भइराखेको छ । समाजवादी विचारधारा निर्माणको बहसतिर पनि लगिराखेको छ । सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको आधारमा प्रचण्डको नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडि बढ्नुपर्छ भन्ने साझा निष्कर्ष छ । सबै चुनौतीको सामना गर्न बृहत् वामपन्थी एकीकरण आवश्यक छ । त्यसको साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठन गर्नुपर्छ भन्नेमा सबैको जोड छ । नयाँ चुनौतीको सामना गर्न नयाँ विचार संश्लेषण आवश्यकता रहेकोमा सबैको जोड रहेको छ ।’
स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी दस्तावेज पेस गर्नुभएको थियो । पार्टी निर्माण र नेतृत्वको विकल्पको सम्बन्धमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठको छुट्टै दस्ताबेज पेस गर्नुभएको थियो । परामर्श समिति बैठकमा स्थायी समिति बैठकको निर्णयसहित शर्माको दस्तावेजमाथि पनि छलफल भएको थियो । सबै प्रदेशमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सबैको विचारलाई समेटेर केन्द्रीय समिति बैठकमा राजनीतिक दस्तावेज प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्रदेश परामर्श समितिको बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व सत्ता केन्द्रित हुनु, जनजीविकाका मुद्दा छोड्दै जानु, तल्लो तहका नेता तथा कार्यकर्ताको व्यवस्थापन र मूल्यांकन नहुनु पार्टी कमजोर हुनुको मुख्य कारण भएको बताएका थिए । उनीहरूले पार्टीको मुख्य नेतृत्वले सरकारमा जाँदा पार्टी र संगठनतिर ध्यान नदिएकै कारण माओवादी केन्द्र अहिलेको अवस्थामा पुगेको गुनासो गरेका छन् । कतिपय नेता तथा कार्यकर्ताहरूले भने कांग्रेस र एमालेमा जस्तै माओवादीमा नातावाद र कृपावाद हावी भएको कारण पार्टी र संगठनका लागि खट्ने इमानदार नेता तथा कार्यकर्ताहरू निष्क्रिय मात्र नभई पलायन नै हुनुपरेको गुनासोसमेत गरेका छन् ।
प्रदेश परामर्श बैठकले पार्टी र जनतामा नयाँ उत्साह : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्रदेश परामर्श बैठकले पार्टी र जनतामा माओवादीप्रति उत्साह बढेको दाबी गर्नुभएको छ । सबै प्रदेशको परामर्श बैठक सकिँदा पार्टी र जनतामा नयाँ उत्साह पैदा भएको उल्लेख गर्दै प्रचण्डले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको समेत जिकिर गर्नुभएको छ । आफूहरूले सरकार छाडेको छोटो समयमै जनताको बीचमा यथार्थ बुझाउन सफल भएको उल्लेख गर्दै अब जनसम्बन्धलाई केन्द्रमा राखेर पार्टी पुनर्गठनको अभियान चलाइने उहाँको भनाइ छ ।
वर्तमान सरकार भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्न उद्दत : सापकोटा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्न नै सारा तागत लगाइराखेको आरोप लगाउनुभएको छ । एमाले अध्यक्ष ओली नेतृत्वको सरकार गठन भएको सय दिन पुग्न बाँकी रहेको भए पनि प्रारम्भिक रुझान हेर्दा सारा ध्यान सुशासनविरुद्ध रहेको आरोप लगाउँदै सापकोटाले भन्नुभयो, ‘यो सरकार सुशासन होइन अघिल्लो सरकारले थालेको सुशासन बिथोल्न उद्दत देखिन्छ । अहिले हामी अध्ययन मात्र गरिरहेका छौँ । सय दिनपछि सूक्ष्म ढंगले अगाडि बढ्छौँ । प्रथम दृष्टिमै यो सरकार प्रतिगमततर्फ गएको छ । मुख्यतः भ्रष्टाचार विरुद्धको अभियानलाई निस्तेज पार्न नै सारा तागत लगाइराखेको छ ।’
सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा
समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिनुभयो । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहनुभएका नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको जानकारी दिनुभयो । वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको र मोर्चाले अनौपचारिक रूपमा ती समूहसँग छलफल गरिरहेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच