बाढी-पहिरोको बितण्डा : पनौतीको गागलमा एक विदेशीको मृत्यु, दर्जनौं घरमा क्षति

काठमाडाैं । अविरल बर्षासँगै काभ्रेको गागल र मास्स खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ । पनौती नगरपालिका-१२ कलाली भूमीडाँडा गागलमा बाढीले दर्जानौं घरमा क्षति पुर्‍याएको हो । बाढीसँगै आएको पहिरोले घर पुरिँदा एक जना विदेशी नागरिकको समेत मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकन नागरिक बर्ड हसन रहनुभएको छ । उहाँको शव स्थानीयले आइतबार बिहान पुरिएको घरबाट निकालेका थिए । उक्त घरमा उहाँ एक्लै बस्दै आउनुभएको स्थानीय कुशल निरौलाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बिहीबारदेखिको अविरल बर्षाले गागलसहित यहाँका धेरै ठाउँमा क्षति पुर्‍याएको छ । अरुबेला खहरेको रुपमा बग्ने गागल र मास्स खोला शनिबार अचानक बढेको थियो । राति खोला ठूलो भएर घरको आगनसम्म पुगेपछि हामी घरको झयाल फोडेर भाग्न सफल भयौं । विदेशी नागरिक बर्डको घर भने खोलासँगै थियो । उहाँ घरमा एक्लै बस्नुहुन्थ्यो । मध्यराति परेकाले सुतेकै समयमा बाढीसँगै आएको पहिरोले उहाँको घर पुरियो र उहाँ त्यही पर्नुभयो ।’

उद्दारको पर्खाईमा स्थानीय

बिहीबार राति देखिको बर्षाका कारण यि दुई खहरे खोलासँगै यहाँ रोशी र कलाली खोलालेसमेत ब्यापक क्षति गरेको छ । गागल तलका बस्तीहरू त पुरै डेबेको स्थानीयले बताएका छन् । यति धेरै जनधनको क्षति हुँदासमेत प्रहरी प्रशासनले भने तदारुकता नदेखाएको उनीहरूको गुनासो छ । यि स्थानमा बिहान नेपाली सेनाको टोली पुगेको भएपनि अहिलेसम्म एक जना प्रहरीबाहेक कोही नआएको गुनासो उनीहरूले गरेका छन् ।

स्थानीय कुशलले भन्नुभयो, ‘यति धेरै क्षति भएको छ । हामीले नगरपालिका, वडादेखि प्रहरी प्रशासनसम्मलाई फोन गर्‍यौं तर उहाँहरू अहिलेसम्म कोही आउनुभएको छैन । बिहान नेपाली सेनाको टोली आएको थियो । तर, उनीहरूले यहाँको बस्तुस्थित बुझेर मात्र पर्किए । अहिले एक जना मात्र प्रहरी यहाँ बसेका छन् । मृतकको शव पनि अलपत्र छ ।’

बाढी र पहिरोले यस स्थानमा बिजुलीका पोलहरूमा समेत क्षति गर्दा यहाँ दुईदिनदेखि बत्तिसमेत रहेको छैन । स्थानीय आफैँ उद्दारमा जुटेपनि आइतबार दिउँसोसम्म यहाँ कुनै पनि निकायका उद्दारको टोली पुग्न सकेको छैन ।

धानखेत बगरमा परिणत

अविरल वर्षाका कारण भित्र्याउने बेला भएका धानखेत बगरमा परिणत भएका छन् । पनौती नगरपालिकाका वडा नम्बर १ पर्खालचौर आसपास, पनौती-३ को ठूलाखेतसहितका ठूलो फाँटलाई बाढीले बगरमा परिणत गरिदिएको हो । सयौं किसानले भित्र्याउन ठिक्क भएको धानखेत एकाएक बगरमा परिणत बनेपछि किसानहरु विछिप्त बनेका छन् ।

अविरल वर्षासँगै आएको बाढीले ५० औं रोपनीमा गरिएको च्याउखेती पनि पुरिएको छ । झण्डै एक सयबाट घर गोठमा पनि क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?