बागलुङ । बागलुङको गलकोट नगरपालिका-२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झर्नु भयो । बसाइँसराइ गरि परिवारसहित चितवन झर्नु भएका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यवसायिक अकबरे खुसार्नीमा खेतीमा लाग्नु भएको छ । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरा पालन गर्नु भएका कार्कीले व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लाग्नु भएको थियो । बाख्रापालनसँगै गत बैशाख महिनादेखि अकबरे खेतीमा लाग्नु भएको हो । अकबरे खेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेती तर्फ जोड दिनु भएको छ । बैशाखमा लगाएका अकबरेका विरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्य बनेका छन् ।
छ महिनामै १० लाखको अकबरे विक्री गर्नु भएका कार्कीले खेती बिस्तार गर्ने योजनामा हुनुहुन्छ । बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा अहिले गाउँका खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् । बसाइँसराइ गरेर गएको १० वर्षपछि फर्किएर व्यवसाय थाल्नु भएका कार्कीले गाउँमा ठूलो संभावना देख्नुहुन्छ । अहिले उहाँले गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थाल्नु भएको छ । अकबरेको माग समेत बढेको हुँदा उत्पादन बढाउनु पर्ने दबावमा कार्की हुनुहुन्छ । १० रोपनी क्षेत्रफलमा करिब छ हजार अकबरेका विरुवा सप्रिएर फल दिएपछि उहाँ विहानदेखि साँझसम्मै बारीमा ब्यस्त हुनुहुन्छ ।
करिब तीन लाख लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो सिजनमा २० लाख आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुवाती चरण भएको हुँदा सोचे अनुसार नभएको नभएको कार्कीले बताउनुभयो । प्रति किलो दुई सय रुपैयाँ करिब पाँच हजार किलो अकबरे विक्री गरि सकेको उहाँको भनाइ छ । अझै केही मात्रामा खुसार्नी टिप्न बाँकी रहेको उहाँ बताउनुहुन्छ । अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताउनुभयो । चितवनमा बुबाआमा रहेको हुँदा उहाँहरुले विक्री गर्ने गरेको कार्की बताउनुहुन्छ ।
“हाम्रो परिवार धेरै वर्ष अगाडि चितवन बसाइँसराइ गरेको थियो, म पनि धेरै वर्ष उतै बसेँ, पछि गाउँ धेरै संभावना देखेर आएको हुँ, सुरुमा कुखुरा पालन गरियो, राम्रो भएन, पछि बाख्रा पालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु, यसबाट धेरै राम्रो भयो” कार्कीले भन्नुभयो - “सुरुमा धेरै आइडिया भएन, अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ, अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, गाउँमा जग्गा जति पनि छ, मान्छेहरु कोही बजार, झरेका छन्, कोही विदेश गएका छन् ।”
कार्कीलाई उहाँकी श्रीमती सन्दीपा कार्कीले साथ दिइँदै आउनु भएको छ । चार वर्षदेखि बाख्रापालन गर्दै आउनु भएका कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आउनु भएको छ । अब अकबरे खतीलाई नै बढी समय दिने उहाँको भनाइ छ । हाल उहाँको बाख्रा फर्ममा ६० वटा खसी बोका छन् । बढ्दो बसाइँसाइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै संभावना रहेको देखाउने गरि काम गर्ने कार्की बताउनुहुन्छ ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको संख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्ने गरि काम गर्न थालेको बताउनुभयो । कार्कीले सिंचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उहाँको भनाइ छ । कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राबिधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताउनुभयो । खुर्सानी खेती पहिलो पटक गर्न लागेको हुँदा बजार लगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उहाँ बताउनुहुन्छ ।
प्रवक्त भण्डारीले भन्नुभयो - “नगरपालिकाले व्यवसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोहोत्सानका लागि अनुदानसहित प्राबिधिक सहयोग गर्दै आएका छौँ, गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रो लागि राम्रो पक्ष हो, यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ, उहाँहरुलाई प्रेरित हुने गरि काम गर्नेमा हामीहरु प्रतिबद्ध छौँ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच