काठमाडौं । लगातारको झरी तीन दिनपछि रोकियो । तर, पीडितको पीडा रोकिनुको सट्टा झनै बल्झिएका छन् । पानी रोकिए पनि बाढीले काठमाडौं उपत्यकाका नदी किनारका बस्ती अहिले खण्डहर बनेका छन् । पीडितहरू दुई दिनदेखि अवशेष बनेका घर र आँगन सरसफाइ गर्न जुटेका छन् । भयानक बाढीले काठमाडौंको बागमती करिडोर छेउछाउ ठूलो जनधनको क्षति गरेको छ । करिडोर छेउछाउका केही घर माटोले पुरिएका छन् भने कतिपय घर र टहरा तहसनहस भएका छन् । माटोको बाक्लो लेदो बस्ती छिरेको छ । बाढीपछि नक्खु करिडोर क्षेत्र खण्डहर देखिएको छ । एक तले घरमा माटो भोरिएको छ भने टिनका घरहरू बाढीले बगाएको र बस्नै नमिल्ने अवस्थामा रहेका छन् । कागेश्वरी मनोहरा, बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, गोदावरी, नक्खु, बल्खुलगायत करिडोरका बस्तीमा लेदोसहितको बाढी पसेको थियो । लेदो सहितको बाढीले किनारका घरहरूसहित अन्य भौतिक संरचनामा समेत क्षति गरेको छ । करिडोरमा निर्माण भएका पार्क, सडक, सत्तलहरू अधिकांश क्षतिग्रस्त छन् । क्षतिको यकिन विवरण अझै आइसकेको छैन ।
मनोहरा करिडोरको टीकाथली-बालकुमारी-च्यासलदेखि बागमती दोभानसम्म निर्माण भएका संरचना भत्केर सडक आवत जावतमै समस्या भएको छ । यस्तै, युएन पार्कदेखि बल्खु करिडोरमा पनि भद्रगोल स्थिति छ । हिलो पसेका कारण खोला किनाराका घरहरू बस्न नमिल्ने भएका छन् । खोला किनाराका अधिकांश घरको भुइँतलामा हिलो भरिएको छ ।
आइतबारबाट पानी पर्न रोकिएसँगै स्थानीयहरू घर सफा गर्न, बँचेका सामानहरू सुरक्षित स्थानतिर सार्न लागेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको ललितपुर महानगरपालिका-१८ नक्खु पुल छेउमा बस्दै आउनुभएकी रेणुका लिम्बूले बताउनुभयो । ‘शुक्रबार राति १२ बजे कोठाभित्र पानी पसेको थियो । पानी पस्नेबित्तिकै सामान अर्को ठाउँमा सार्दै थियौँ । सामान सार्दासार्दै खोला बढ्दै गएर बिहान ७ बजेसम्म सबै बगायो,’ उहाँले भन्नुभयो, ‘हाम्रो मात्र होइन, अरूको पनि धेरै क्षति भएको छ । अहिले बाढी रोकियो । अब हामीसँग केही छैन । न खाने गाँस न बस्ने बास ।
गत बिहीबारअघि नै मौसम विज्ञान विभागले ठूलो वर्षाको आँकलन गरेको थियो । केही ठाउँमा धेरै ठूलो पानी पर्ने भन्दै सतर्कता अपनाउन विभागले सचेत गराएको थियो । तर, पूर्वचेतावनी हुँदाहुँदै पनि जनधनको ठूलो क्षति भयो । भौतिक क्षति रोक्न नसकिए पनि पूर्वतयारी गरेको भए मानवीय क्षति कम गर्न सकिन्थ्यो । तर, पूर्वतयारी त त्यस्तै हो, राहत उद्धारमा समेत सरकार सुस्त देखियो । संघीय राजधानी काठमाडौंमै घण्टौँसम्म उद्धार पर्खिँदा पर्खिँदै नागरिक बाढीमा हेलिए ।
सरकारले वास्ता नगरेको गुनासो
पीडितहरूले सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले पनि आवश्यक सहयोग गरेको उनीहरूको भनाइ छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्ने दलमर्दन कामीले सरकारले आफूहरूको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । आफूहरूलाई खाने/बस्नेलगायत व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाइ थियो । ‘यस्तो पीडामा पनि कसैले सहयोग गरेको छैन ।
काठमाडौं महानगरपालिकालाई हामीले देख्न पाएका छैनौँ,’ उहाँले भन्नुभयो, ‘सरकार हाम्रो अभिभावक हो । सरकारले नै हाम्रो व्यवस्थापन गर्नुपर्छ ।’ सरकारले खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सुकुम्बासी बस्ती छोड्न आफूहरू तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताउनुभयो । ‘यहाँ बसेको झण्डै २० वर्ष भयो । यस पटकको बाढीले झण्डै बगाइदियो । हामी पनि सधैँ खोलाको किनारामा बस्ने भन्ने होइन । यस्तो अवस्थामा बस्नु भनेको हाम्रो बाध्यता हो,’ उहाँले भन्नुभयो, ‘हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरि खोलाको डर हुन्छ । हामी बाध्यतावश बसेका हौँ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’
बेपत्ता भएकाका परिवारलाई पनि मृतकसरह राहत
सरकारले बाढी-पहिरोलगायत मनसुनजन्य विपद्मा परी बेपत्ता भएका नागरिकका परिवारलाई पनि मृतकसरह राहत रकम उपलब्ध गराउने भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको सोमबार बसेको बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतकसरह मानेर परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । समितिको बैठकले बाढी पहिरोमा परेकाहरूको खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको काम एकद्वार प्रणालीबाट हुनेछ ।
अस्थायी आवास बनाउन सरकारले रकम दिने
सरकारले घरबास गुमाएकाहरूलाई अस्थायी आवास बनाउन नगद उपलब्ध गराउने भएको छ । त्यसका लागि सम्बन्धित स्थानीय तहले लाभग्राही पहिचान गरेपछि राहत रकम वितरण गरिने समितिको निर्णय छ । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिम रकम उपलब्ध गराइने गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनुभयो । घरबास गुमाएकाहरूलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । बैंक खाता भएकालाई बैंकमा जम्मा गरिदिने र बैंक खाता नभएकाले चेक पाउनेछन् । त्यसबाहेक जिल्ला प्रशासन कार्यालयले तत्कालका पाँचजना सम्मको परिवारलाई १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँको दरले राहत रकम पनि उपलब्ध गराउनेछ ।
भौतिक पूर्वाधार मन्त्रीको दाबी-२५ अर्बभन्दा बढीको भौतिक क्षति
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताउनुभएको छ । अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्की पुलदेखि सडक, झोलुंगे पुल बगाएको र ठूलो क्षति भएको बताउनुभयो । क्षतिग्रस्त सडकहरू मर्मत गरी यातायात सुचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको भन्दै उहाँले चाडवाडअघि नै अवरुद्ध सबै सडक सञ्जाल सुचारु भइसक्ने बताउनुभयो । यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोले सडक र पुल भत्किँदा २३ राजमार्ग प्रभावित भएका थिए ।
सडक र पुल भत्किँदा दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको अनुमान गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीले नेपाल र चीन जोड्ने अरनिको राजमार्गमा पर्ने तीन पक्की पुल बगाएको छ । लार्चा, लिपिङ र घट्टे खोलामा रहेका पुल बगाएको हो । बाढीले पाँचथरको मेची राजमार्गको हेवा खोला माथिको बेली पुल र इलाम सन्दकपुर जोड्ने रती खोलाको स्थायी पुलसहित कोशी प्रदेशमा मात्र चारवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
यस्तै, अविरल वर्षाले देशभर सात हजार हेक्टर धान खेती डुबानमा परेको प्राधिकरणले जनाएको छ । अविरल वर्षा, बाढी र पहिरोका कारण ठूलो संख्यामा चौपायको मृत्यु भएको छ । बाढी–पहिरोले देशभर १० वटा स्वास्थ्य संस्थामा क्षति पुगेको जनाइएको छ । बाढीले जलविद्युत् क्षेत्रमा मात्रै साढे दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । २६ वटा जलविद्युत् आयोजनाको प्रारम्भिक निरीक्षणमा दुई अर्ब ४५ करोडको क्षति भएको मन्त्रालयले जनाएको छ ।
एनआरएनएले बाढी प्रभावितलाई एक करोड सहयोग गर्ने
बाढी पहिरोबाट प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार राति बसेको संघ बैठकले बाढी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा. हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ । समितिमा संघ पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू तथा राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरू समेत संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गर्नुभयो ।
भाटभटेनीका अध्यक्ष गुरुङले एक करोड ११ लाख सहयोग गर्ने
भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बाढी पीडितको उद्धार र राहतका लागि सहयोग प्रदान गर्न लागेको उहाँले बताउनुभयो । भाटभटेनीका सिइओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो । अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उहाँले बताउनुभयो ।
सचिवहरूले पाँच दिनको तलब दिने
नेपाल सरकारका सचिवहरूले बाढी-पहिरोबाट प्रभावित घर परिवारलाई राहत दिन पाँच दिन बराबरको तलब दिने भएका छन् । सोमबार बसेको सचिव बैठकले निजामती सेवाका विशिष्ट श्रेणीका पदाधिकारीको पाँच दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बैठकले बाटोमा अलपत्र परेका यात्रुहरूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा गन्तव्यमा पुर्याउने, विपद् पीडितलाई प्रदेश र स्थानीय तहमार्फत अस्थायी आवास निर्माण र खाद्यान्नका लागि राहत दिने निर्णय गरेको छ । त्यस्तै, बाढी-पहिरोका कारण अवरुद्ध राजमार्ग यथाशीघ्र खुलाई आवागमन सहज बनाउन भौतिक पूर्वाधार मन्त्रालयले काम गर्ने र नेपाली सेनाको प्राविधिक सहयोगमा आवश्यक ठाउँमा बेलिब्रिज राख्ने निर्णय पनि सचिव बैठकले गरेको छ ।
बुधबारदेखि फेरि वर्षाको सम्भावना
आगामी बुधबारदेखि फेरि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षा हुने महाशाखाको पूर्वानुमान छ । महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थान तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । मौसमविद् विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराहृनपख वर्षाको सम्भावना रहेको बताउनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना नरहेको उहाँको भनाइ छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनी वायुको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत मिसिँदा असोज ११ र १२ गते भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ । अत्यधिक वर्षा गराउने बादल कोशी, बागमती र गण्डकी प्रदेशमा केन्द्रित थियो । हाल यो प्रणाली कमजोर हुँदै पूर्वतिर सरिरहेको छ । मंगलबार अपराह्नदेखि कोशी प्रदेशलगायत पूर्वी भूभागका जिल्लामा बादल लागेर हल्का वर्षाको सम्भावना छ ।
बाढी-पहिरोमा मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, अझै ३३ जना बेपत्ता
बाढी र पहिरोलगायत विपद्का घटनामा परी मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । विपद्का घटनामा परेर सोमबार साँझसम्ममा २०९ जनाको ज्यान गएको पुष्टि भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार हालसम्म कोशी प्रदेशमा २३, मधेश प्रदेशमा तीन, काठमाडौं उपत्यकामा ८२, बागमती प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । अझै ३३ जना बेपत्ता छन् । बाढी र पहिरोले १९ वटा पुलमा र एक हजार ७८३ घरमा क्षति गरेको छ । बाढी र पहिरोले तीनवटा बेलिब्रिज, पाँचवटा पक्की पुल, सातवटा झोलुंगे पुल र अन्य किसिमका चार पुलमा क्षति पुर्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच