नारी हस्ताक्षर राधादेवीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ गत भदौ महिनामा पाठकमाझ आएको थियो । उहाँको पहिलो उपन्यास ‘खुला कैदी’ रहेको थियो । पहिलो उपन्यासलाई सहयात्री दर्पण नेपालले प्रकाशन गरेको थियो भने दोस्रो उपन्यासलाई शब्दविम्ब प्रकाशन प्रालिले प्रकाशन गरेको छ । राजनीतिमा पनि सक्रिय रहँदै आउनुभएकी राधादेवी साहित्यतर्फ पनि त्यत्तिकै सक्रिय देखिनुहुन्छ । त्यसैको पछिल्लो उपज हो ‘धमिलो प्रकाश’ । गीत, कविता, कथा एवं मुक्तकमा पनि कलम चलाउनुहुने भण्डारी समाजसेवामा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ आफूले देखे, भोगेका, अनुभव गरेका साथै समाजका विषयवस्तु साहित्यमार्फत् पस्किने बताउनुहुन्छ । आफूले देखे, भोगेका, अनुभव गरेका विषयवस्तु समाजमा पस्किनका लागि साहित्यलाई रोजेको उहाँको भनाइ छ । साहित्यको अध्ययन र लेखनको अभ्यास आफ्नो जीवन चर्याको अभिन्न अंग बनेको बताउनुहुने साहित्यकार राधा भण्डारीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश :-
यतिबेला के गर्दै हुनुहुन्छ ?
गत भदौ महिनामा मेरो नयाँ उपन्यास ‘धमिलो प्रकाश’ पाठकमाझ आएको छ । विभिन्न साहित्यिक व्यक्तित्व र पाठकहरूबाट त्यसको प्रतिक्रिया पाइरहेकी छु । भर्खर नेपालीहरूको महान् पर्व बडादशैँ समापन भएको छ । दशैँअघि कोलकातामा भएका इण्डो नेपाल अन्तर्राष्ट्रिय अवार्डमा सहभागी भएकी थिएँ । दशैँको पूर्वसन्ध्यामा आएको बाढीपहिरोले धेरै जनधनको क्षति पुर्यायो । त्यही बाढीपहिरोको कहरबीच हामीले दशैँ मनाउँदै यसलाई बिदा गरेका छौँ । म पनि दशैँका केही दिन सक्रिय रहेँ । यस्तै यस्तै केही घरायसी काम, केही सामाजिक कार्यमा व्यस्त छु भन्नुपर्ला ।
साहित्यमा सुरुमा त म रहरले आएँ । यो क्षेत्र मेरो रुचिको क्षेत्र पनि हो । आफूले देखे, भोगेका, अनुभव गरेका विषयवस्तु समाजमा पस्किनका लागि मैले यो माध्यम रोजेकी हुँ । बितेका केही वर्षमा साहित्य सिर्जनाप्रति मेरो हृदयमा अदम्य लगाव र उत्साह जागेको मात्र होइन, साहित्यको अध्ययन र लेखनको अभ्यास मेरो जीवन चर्याको अभिन्न अंग बनेका छन् । जीवन जगत्लाई गहिराइमा पुगेर बुझ्न साहित्यले मलाई एउटा असल साथीका रूपमा बडो स्नेहपूर्ण ढंगले सघाएको छ । साहित्यको अध्ययन गर्न थालेपछि मैले आफूलाई प्रेम गर्न र त्यसको आलोकमा सारा जगत्लाई स्नेहिल अंगालोमा बाँध्न सिकेकी छु ।
यहाँको नयाँ उपन्यास हालै ‘धमिलो प्रकाश’ पाठकमाझ आएको छ, कस्तो पाइरहनुभएको छ प्रतिक्रिया ?
माथि पनि भनेँ गत भदौ महिनामा मैले यो कृति पाठकमाझ ल्याएकी थिएँ । विविध कारणवस केही ढिला यो पुस्तक पाठकमाझ आयो । मेरो पहिलो उपन्यास कृति ‘खुला कैदी’ रहेको थियो । ‘खुला कैदी’ करिब चार वर्षअघि पाठकमाझ आएको थियो । पहिलो उपन्यासलाई जस्तै यो दोस्रो उपन्यासलाई पनि पाठकहरूले मन पराइरहनुभएको छ । राम्रो प्रतिक्रिया पाइरहेकी छु ।
कस्तो उपन्यास हो ‘धमिलो प्रकाश’ ?
प्रेम कहानीमा आधारित उपन्यास हो यो । साहित्यका मिमांसकहरू कुनै पनि आख्यानपरक साहित्यिक कृतिलाई मूलरूपमा त्यसको रचयिताको आत्मकथा नै भन्दछन् । हुन पनि एक उपन्यासकारले आफूले लेख्ने उपन्यासको तानाबाना बुन्दा सबैभन्दा पहिले आफू, आफ्नो परिवेश, आफ्ना भोगाइहरू, आफूले चिने-जानेका पात्रहरू र तिनको व्यथा-कथालाई दिल र दिमागको दर्पणमा ल्याएर लेखनलाई अघि बढाउने गर्दछ । कुनै पनि आख्यानको रचना-प्रक्रियाको यस आरम्भिक बिन्दुलाई ध्यानमा राखेर हेर्दा कुनै पनि कथा-कहानी वा उपन्यासलाई त्यसको रचयिताको आत्मकथा भन्न सकिन्छ । वास्तवमा धमिलो प्रकाशले नेपाली समाजमा विद्यमान त्यस्तो पुरूषप्रधान मानसिकतालाई उजागर गर्न खोजेको छ जसले राष्ट्रको आधा आकाश भनिने नारीहरूमाथि शदियौँदेखि भौतिक, मानसिक दुवै स्तरमा चरम शोषण गर्दै आएको छ । धमिलो प्रकाश ती सम्पूर्ण नेपाली नारीहरूको कथा हो, जो आ-आफ्ना परिवारको सबैभन्दा भरोसालाग्दो खम्बा भएर पनि परिवारका पुरूष सदस्यहरूबाट पाउनुपर्ने स्नेह र सम्मानबाट सदैव वञ्चित रहँदै आएका छन् । यो उपन्यासले त्यस्ता नेपाली नारीहरूको कथा सुनाउने प्रयत्न पनि गरेको छ जसलाई हाम्रो परम्परागत पुरुष हैकमवादी समाजले दिनुपर्ने हैसियत दिनमा जहिले पनि कञ्जुस्याइँ गर्दै र हेय दृष्टिले हेर्दै आएको छ । धमिलो प्रकाश ती अभागी नेपाली नारीहरूको कथा पनि हो, जो किशोरावस्थामै बलात् विवाह बन्धनमा बाँधिन्छन् र आफ्नो इच्छा, अनिच्छाका बारेमा सोच्नसम्म नपाई हरेक रात पुरूषको वासनापूर्तिको साधनका रूपमा प्रेमरहित यौनक्रीडामा सामेल हुन बाध्य हुन्छन् । यस उपन्यासले नेपाली समाजमा व्याप्त लैंगिक विभेदको कुरूप स्वरूपमाथि हालिएको पर्दा हटाउने चेष्टा पनि गरेको छ । उपन्यासकी नायिका मीरालाई लैंगिक विभेदको शिकार लाखौं नेपाली नारीहरूको प्रतिनिधि पात्र बनाउने जमर्को गरेकी छु ।
यहाँको नेपाल बाहिरको भ्रमण बाक्लै हुँदै गइरहेको पाइन्छ, अहिलेसम्म कुन-कुन देशको भ्रमण गर्नुभयो ?
म स्विट्जरल्याण्ड, जर्मन, अष्ट्रिया, चीन, भारत, अजरवैजान, दुबई, कुवेत, इजिप्टलगायतका देश पुगेकी छु । एसिया र युरोपका गरी झण्डै १५ देशको भ्रमण गरेकी छु ।
साहित्यतर्फ कसरी आकर्षित हुनुभयो ?
सुरुमा त म रहरले आएँ । यो क्षेत्र मेरो रुचिको क्षेत्र पनि हो । आफूले देखे, भोगेका, अनुभव गरेका विषयवस्तु समाजमा पस्किनका लागि मैले यो माध्यम रोजेकी हुँ । बितेका केही वर्षमा साहित्य सिर्जनाप्रति मेरो हृदयमा अदम्य लगाव र उत्साह जागेको मात्र होइन, साहित्यको अध्ययन र लेखनको अभ्यास मेरो जीवन चर्याको अभिन्न अंग बनेका छन् । जीवन जगत्लाई गहिराइमा पुगेर बुझ्न साहित्यले मलाई एउटा असल साथीका रूपमा बडो स्नेहपूर्ण ढंगले सघाएको छ । साहित्यको अध्ययन गर्न थालेपछि मैले आफूलाई प्रेम गर्न र त्यसको आलोकमा सारा जगत्लाई स्नेहिल अंगालोमा बाँध्न सिकेकी छु ।
सुरुमा यहाँको साहित्यिक रचना के थियो ?
मैले सुरुवाती चरणमा जानीनजानी कविता नै कोरेँ । यस्तै गीत, गजल, मुक्तक पनि लेख्ने गरेकी छु । लघुचलचित्रको स्टोरी पनि लेख्ने गरेकी छु ।
यहाँको लेखाइमा कस्ता विषयवस्तुले प्राथमिकता पाउने गर्छन् ?
हाम्रो समाज, परिवेश, भोगाइ, परिस्थिति नै हुन् । अलिक बढी नारीका पीडा, भोगाइका विषयमा लेख्न रुचाउँछु ।
यहाँको सिर्जनाको मुख्य उद्देश्य ?
मुख्य कुरा त आत्मसन्तुष्टि नै हो । अर्को कुरा साहित्यलाई समाजको दर्पण भनिन्छ । त्यही दर्पणलाई देखाउनु हो । समाजलाई झकझक्याउनु हो ।
राधा भण्डारी को हो ?
यो समाजको एक प्रतिनिधि पात्र । एक सचेत नागरिक । अनेक व्यवधानका बीच पनि मुस्कुराइरहेको एक असल नागरिक । समाज र राष्ट्रलाई केही योगदान गरौँ भन्ने अभिप्रायले आफूलाई हरसमय चलायमान बनाइरहेकी एक नारी ।
यहाँले देखेका, भोगेका र अनुभव गरेका आधारमा भन्नुपर्दा जीवन के रहेछ ?
जति सिक्यो कहिल्यै नसकिने एउटा निरन्तर यात्रा रहेछ जीवन । अनेक बाधा व्यवधानबीच, अनेक संघर्षबीच कहिले सफल र कहिले असफल हुँदै सफलताका लागि अघि बढिरहने यात्रा हो जीवन । सुख-दुःख, हाँसो-रोदनको संगम हो जीवन ।
राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
देश राम्रो हुनका लागि त्यो देशमा कुशल राजनेताको आवश्यकता पर्दोरहेछ । स्थिर राजनीतिले समृद्धिको यात्रा तय गर्ने रहेछ । राजनीति राम्रो हुँदामात्रै धेरै कुरा राम्रो हुने रहेछन् । विडम्बना हाम्रो देशको राजनीति अस्थिर छ । यसले राम्रो संकेत गर्दैन । आफ्ना व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर देश बनाउनका लागि सबै एकजुट हुनु आजको आवश्यकता हो तर हाम्रो देशको विडम्बना त्यसो हुन सकेको छैन । जसले गर्दा आमजनताले अनेक दुःख, कष्ट भोग्नुपरेको छ । देशको युवा शक्ति विदेशमा पसिनासँग पैसा साट्न बाध्य छ । देशको युवा शक्ति आफ्नो पाखो बञ्जर बनाएर मरुभूमि हराभरा बनाउन हिँडिरहेको छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशमा आफ्नो भविष्य खोज्दै यात्रामा रहेकाहरूको लर्को देखिन्छ । उनीहरूले विदेशबाट पठाएको रेमिट्यान्समा हामी खुसी खोजिरहेका छौँ । यसले कालान्तरमा राम्रो गर्दैन । युवा शक्तिलाई देश विकासमा लगाउन जरुरी छ । उनीहरूलाई यहीँ उचित अवसरको खाँचो छ ।
अन्त्यमा ?
मेरा केही कुरा राख्ने मौका दिनुभएकोमा आभारी छु । यहाँलाई यस वार्ताका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो पछिल्लो उपन्यास जतिले पढ्नुभएको छ राम्रै प्रतिक्रिया दिनुभएको छ । जसले पढ्नुभएको छैन एकपटक पढेर प्रतिक्रियाको अपेक्षा राख्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच