आर्थिक सम्पन्नताले घटेन खाद्यान्नमा परनिर्भरता

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको छ बगरफाँट गाउँ । राजनीति गर्ने नेताहरुदेखि लिएर पढेलेखेका र निजामती सेवाको उपल्लो तहमा पुगेका मानिसहरु भएको यो गाउँ बेनी नगरपालिका वडा नं २ मा पर्छ ।

यहाँका अधिकांश युवाहरु विदेशमा छन् । गाउँमा बाँकी रहेका र उमेर पुगेका युवाहरु पनि विदेश जाने तयारीमा छन् ।अमेरिका,अष्ट्रेलिया,क्यानडा,जापानदेखि लिएर युरोप र खाडी मुलुक यहाँका युवाहरुको गन्तव्य हुने गरेको छ ।

गाउँ सुन्दर छ । सुगम छ । विकासका सबै पूर्वाधारहरु यहाँ उपलव्ध छन् । गाउँको शिरानमा जंगल,पुछारमा म्याग्दी नदी र बिचमा समथर उर्वर फाँट छ । विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाण्डौ,पोखरा जस्ता सहरमा घर घडेरीका लागि जान्छ । गाउँको जमिनमा लगानी गर्ने,उत्पादन र विक्री गर्नेतर्फ ध्यान नजाँदा आयातित खाद्यान्नको भरमा यहाँका मानिसहरुको दैनिकी चल्छ ।
गाउँमा जति जति विदेशी आम्दानी भित्रिदै छ त्यति नै बढी परनिर्भरता पनि बढ्दै गएको छ । यो बगरफाँट गाउँको मात्र अवस्था होइन म्याग्दीका प्रायः सबै गाउँहरुको यही अवस्था रहेको छ ।

बगरफाँटका ८७ वर्षिय बेदप्रसाद उपाध्याय गाउँका खेतबारी बाँझिदै गएकोमा चिन्तित हुनुहुन्छ । डेढ दशक अघिसम्म स्थानीय कृषि उत्पादनले नै खान पुग्ने यो गाउँमा अहिले बोराका बोरा खाद्यान्न बजारबाट ल्याएर खानु पर्ने अवस्थालाई उहाँले परनिर्भरताको पराकाष्ठ भनेर बुझ्नुभएको छ ।

उपाध्यायका अनुसार केही वर्षयता गाउँहरु परनिर्भर बन्दै गएका छन् । न गाउँमा खेतीपातीका लागि मल पाइन्छ, न दुध,दही र घिउ नै । पशुपालन गर्ने चलन हट्दै जाँदा खाद्यान्न उत्पादनमा पनि कमी आउँदै गएको छ ।

“गाउँ अब गाउँ जस्ता रहेनन्” उपाध्यायले भन्नुभयो “गाउँको सह गयो, उत्पादन हरायो । रैथाने सीप र परम्परा पाखा लागे । स्थानीय उत्पादनका परिकारहरु नमीठा हुन थाले । खाजामा मकै, भटमास,रोटी होइन चाउचाउ, मम र केके जाती आउन थाले । गाउँमा आएको पैसा खाद्यान्न र अनुत्पादक क्षेत्रमा खर्च हुन थाल्यो ।”

म्याग्दीमा दुई दशक अघिसम्म कोदो,मकै,धान,भाँगो,गहुँ लगाएतका बाली राम्रो हुने गर्दथे । अहिले स्थनीय जातका रैथाने बालीहरु हराएर गएका छन् । जिल्लाको उत्पादनले मुस्किलले पनि छ महिना खान नपुग्ने अवस्था छ । ६ महिना बढीका लागि आयातित खाद्यान्नको भर पर्नुपर्ने अवस्था रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

पशुपालन घट्दै गएको छ । व्यवसायिक रुपमा केही युवाहरुले गरेको कृषि पेसा रहर लाग्दो देखिए पनि उत्पादित कृषि उपजले राम्रो बजार पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको व्यवसायिक कृषकहरुले बताउन थालेका छन् ।
वार्षिक करोडौं रुपैयाँको आयातित तरकारी खपत हुने म्याग्दीमा स्थानीय उत्पादनले लागत अनुसारको मूल्य नपाउँदा कृषकहरु निरास बनेका म्याग्दीका अगुवा कृषक चन्द्रवहादुर कार्कीले बताउनुभयो ।

“बारीभरी बन्दा र टमाटर छन्, तर मूल्य छैन । बाहिरबाट आएको तरकारी सस्तोमा पाइन्छ । तर,यहाँको अर्गानिक उत्पादन व्यपारीहरुले सस्तोमा खोज्छन्” उहाँले भन्नुभयो ।

जिल्लामा भेडापालन व्यवसाय पनि घट्दै गएको छ । मासुका लागि बाहिरबाट ल्याइएका खसी बोका नै खपत हुने गरेका छन् । भेडाको ऊनबाट कपडा बुन्ने चलन पनि हराएको छ । खाने नुनदेखि लगाउने सुनसम्म सबै कुरामा परनिर्भरता बढ्दै गएको मंगला गाउँपालिका २ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो ।

“पहिला पहिला गाउँ अनुशासित थियो” विगतलाई सम्झदै बेनी नगरपालिका २ का ८२ वर्षिय मीनबहादुर घिमिरेले भन्नुभयो “पहिले भ्रष्टाचार हुँदैनथ्यो । सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागीदार भइन्थ्यो । अहिले समाज पनि छाडा बन्दै गएको छ । आदर,सम्मान र अनुशासनको खडेरी परेको छ ।”

“पहिले अन्न बेच्थ्यौं, अहिले किन्छौं । विदेशी कपडा र खाद्यान्न आउन थालेपछि हिमाली पहिचान बोकेका लुगाफाटो र खानेकुरा हराउँदै गए” मंगला गाउँपालिका ५ का ७८ वर्षिय टेकबहादुर सेनले भन्नुभयो ।

“अहिले १२ कक्षा पास गर्ने वित्तिकै युवाहरुको हातमा पासपोर्ट हुन्छ । हँसिया र कोदाली कस्ता हुन्छन् उनीहरु चिन्दैनन्” सेनले भन्नुभयो “खेती हुने जग्गा छ तर उत्पादन गर्ने जाँगरिला हात छैनन् । खेती नगर्दा स्थानीय उत्पादन घट्दै गएको छ । उत्पादन घटेसँगै आयातित खाद्यान्नको आपूर्ति बढेको छ ।विदेशबाट कमाएर पठाएको पैसा विभिन्न बहानामा विदेशमा नै फिर्ता भएको छ ।”

सेन भन्नुहुन्छ “गाउँमा भान्छामा फापरको रोटी, आलु, मकै, सिमीका परिकार पाक्दैनन् । घरेलु औजारले भौतिक पूर्वाधार निर्माणदेखि खेतीकिसानीसम्मको काम हुँदैन । पैसा जताबाट आउँछ,उतै जाने गरेको छ । पहिले अन्न बेच्थ्यौं, अहिले किन्छौं । कसरी आत्मनिर्भर भएको मान्नु ?”

स्थानीय जेष्ठ नागरिकहरुका अनुसार पहिला गाउँमा धेरै पढेका मान्छे कम थिए तर अहिले पढेकाले गाउँ छाड्न थालेको स्थानीय बूढापाकाहरु बताउँछन् । अहिले घरघरमा ठालु, गाउँगाउँमा नेता–कार्यकर्ता जन्मिएका छन् । पुराना संस्कार, संस्कृति र मूल्यमान्यता मान्न छाडिएको छ । गाउँमा अनिकाल लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?