विद्यालय छेवैमा खुलेआम ‘ताडी’ बिक्रीवितरण

करैयामाई गाउँपालिका–७ उमजनमा विद्यालय छेउमै ताडी बिक्रीवितरण गर्दै व्यापारी ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । वर्षमा एक सिजनमा मात्र ताड, खजुरको रुखबाट पाइने ‘ताडी’ पिउनेहरूको जमघट पछिल्लो समय बढेको छ । ताडी प्रायः शान्त र सडकछेउको बगैंचामा राखेर बिक्रीवितरण तथा सेवन गरिरहेको पाइन्छ । तर, मदिराजन्य तथा नशायुक्त पदार्थ सेवन तथा बिक्रीवितरण मापदण्ड सरकारले बनाएको छ । सरकारले बनाएको कानुन किताबमै सीमित भएको र सरोकारवाला निकायले चासो नदेखाउँदा बाराको करैयामाई गाउँपालिका-७ उमजनमा विद्यालय छेवैमा खुलेआम ताडी बिक्रीवितरण हुँदै आएको छ ।

उमजन बजारमा रहेको विद्यालयछेउमै खुलेआम ताडी बिक्रीवितरण हुन थालेपछि स्थानीयहरूले गुनासो गरेका छन् । ताडीका लागि प्रख्यात बाराको करैयामाई गाउँपालिका-७ स्थित उमजन बजारमा पनि अहिले ताडी पिउन आउनेहरूको दिनहुँ भिड लाग्ने गरेको छ ।

उमजनमा मात्र होइन, तराईका बारा, पर्सा, रौतहट जिल्लाका विभिन्न स्थानमा ताडी पिउने र ताडी बिक्री गर्नेहरूको टोली जताततै देख्न सकिन्छ । यहाँका युवा जमात फुर्सद हुनेबित्तिकै ताडी खान बिहानबेलुकी ताडी बिक्री हुने स्थलमा पुग्ने गरेका छन् । ताडी सिजनको फल भएकाले ताडीलाई ताड र खजुरको रुखको फल (जुस) भन्दै सबैले सेवन गर्ने गर्छन् । यसको सेवन र बिक्री गर्दा कुनै कानुनले रोकछेक गर्न नसक्ने भएकाले यसको बिक्री खुलारूपमै हुने गरेको स्थानीयको भनाइ छ ।

उमजन बजार नजिकैको बाँसघारीमा आधा दर्जन ताडी बिक्री गर्ने पसल थापिएका छन् । फुटपाथे पसलमा पनि ताडी पिउनेहरूको तँछाडमछाड चल्ने गर्दछ । सोही स्थानमा ताडी पसल थापेर बस्नुभएका स्थानीय लक्ष्मीनियादेवी रामलाई ग्राहकको मागलाई पूरा गर्न भ्याइनभ्याई भएको थियो । दैनिक दुई ग्यालिन ताडी ल्याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । ‘दिनमा बियरको बोतलमा ५० रुपैयाँ प्रतिबोतल ताडी बिक्री गर्छु,’ उहाँले भन्नुभयो, ‘एउटा बोतलमा खर्च काटेर १० देखि २० रुपैया“ नाफा हुन्छ ।’ ताडी बेचेरै अहिले परिवारको खर्च धानेको उहाँले जानकारी दिनुभयो । २० देखि ३० रुपैया“मा खरिद गरेको ताडी पसल थापेको एक÷दुई घण्टामै बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँमात्र होइन, स्थानीय जामुन पासवान पनि ताडी बेच्न सोही बाँसघारीमै अर्को पसल थापेर बस्नुभएको छ । उहाँले एक घण्टामै ४५ बोतल ताडी बिक्री गरेको जानकारी दिनुभयो । ताडी छाउने र बिक्री गर्ने पासवान जातिको पुख्र्यौली पेशा नै हो । यो पेशालाई अहिलेसम्म धानेको उहाँले जानकारी दिनुभयो । ‘यही पेशाले परिवार चलेको छ,’ उहाँले भन्नुभयोे, ‘वर्षभरि यो काम गर्न नपाए पनि सिजनमा राम्रो आम्दानी हुने गरेको छ ।’ चैतदेखि असार महिनासम्म यो फलको उत्पादन र कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाको बेनौली, पिप्राढी, लंगडाचोक, सिम्रौनगढ, बसवरिया, कचोर्वा, इटवाल, तेलकुवा, कोतवालीलगायतका स्थानमा ताडी बिक्री हुने गरेको स्थानीयले बताएका छन् ।

गर्मी बढेसँगै ताडी सेवन गर्ने जमात विस्तारै बढ्न थालेको छ । यो सिजनमा यस क्षेत्रको बजारमा ताडीको माग अत्यधिक रहेको ताडी बिक्रेता बताउँछन् । मधुरो नशा र शरीरलाई फाइदा गर्ने भएकाले हरेक उमेर समूहका मानिसले ताडी मन पराउने गरेको उनीहरूको भनाइ छ ।

ताडीलाई सिजनको फलका रूपमा मानिने भएकाले यसको बिक्रीवितरण गर्न कानुनले रोकछेक गर्न नसकेको कलैयाका कानुन व्यवसायी तोयनाथ पौडेलले बताउनुभयो । ‘यसको उत्पादन ताड र खजुर प्रजातिको रुखबाट हुन्छ,’ उहाँले भन्नुभयो, ‘ताडीलाई प्रविधिबाट मोडिफाई गर्न सकिँदैन ।’ त्यसैले कानुनले यसलाई फलकै रूपमा लिएको उहाँले जानकारी दिनुभयो । तर, यस्ता पेय पदार्थहरू स्कुल नजिकै बिक्रीवितरण गरिनुहुँदैन, यो फल भए पनि केही न केहीमात्रामा नशा दिने भएकाले यसको सेवन नगर्नु स्वस्थकर हुन्छ । रोग लाग्नुभन्दा रोगको बोटै काट्नु जाति भनेझैं यसको सेवनबाट टाढै बस्नु जाती हुने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?