पाल्पा सिमेन्ट भारत निर्यात

Read Time = 3 mins

काठमाडौं । नेपालबाट सिमेन्ट निर्यात सुरु भएको छ । पाल्पा सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट भारत निर्यात सुरु भएको हो । उद्योगले शुक्रबार भैरहवास्थित सुनौली नाकाबाट तीन ट्रकमा ५० केजीका तीन हजार बोरा अर्थात् एक सय ५० मेट्रिकटन सिमेन्ट गोरखपुर निर्यात गरेको हो । पहिलो चरणमा उद्योगले १० लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको आरएमसी गुप्रका प्रबन्ध निर्देशक राजेश अग्रवालले जानकारी दिनुभयो । आरएमसी ग्रुपको लगानी रहेको पाल्पा सिमेन्टले सन् २०२० देखि तानसेन ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्सले तानसेन सिमेन्टलाई गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यातका लागि बाटो खुलेको हो । भारतमा आइएसआई मार्क नलागेका सिमेन्ट निर्यात गर्न नपाइने व्यवस्था छ ।

भारतबाट आइएसआई मार्क ल्याउने र भैरहवाबाट सय किलोमिटर दूरीमा रहेका भारतीय शहरमा सिमेन्ट निर्यातको सम्भाव्यता अध्ययन एकै साथ गर्दै आएको जानकारी गराउँदै अग्रवालले भारतबाट आइएसआई मान्यतापछि गोरखपुरमा वितरक नियुक्त गरेर सिमेन्ट निर्यात गरिएको बताउनुभयो । भारतीय बजारमा ठूला स्थापित कम्पनी र साना कम्पनीका गरी दुई थरी सिमेन्ट उपलब्ध छन् ।

एक साता नियमित सिमेन्ट निर्यातपछि मात्रै ढुवानी र अन्य लागत कस्तो हुने, बजारले कसरी सिमेन्टलाई लिन्छ भन्ने विषयमा जानकारी हुने उद्योगले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत नगद अनुदानको व्यवस्था गरेको छ । भारतमा वार्षिक एक खर्ब बराबरको नेपाली सिमेन्ट निर्यात गर्न सकिने सिमेन्ट उद्योगीले दाबी गर्दै आएका छन् । अन्य सिमेन्ट उद्योगले पनि निर्यातका लागि पहल गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?