गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका-६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका-१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका-४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका-१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् ।

उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उक्त खाग विसं २०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ । पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका-१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिङ्गे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ । निजमध्ये थापाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

खाग खरिदबिक्रीमा संलग्न रहेको खुलेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएका अर्का एक व्यक्ति भनेर फरार रहेका छन् ।

पक्राउ परेका र फरार रहेका गरी सातजनालाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) ऐन, २०२९ को दफा ५ (१) को (क) र दफा २६ (१) को विरुद्धको कसुर गरेको निकुञ्जको ठहर छ । उनीहरूलाई सोही ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको निकुञ्जका संरक्षण अधिकृत पुर्जा पुनले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?