भ्रष्टाचारको अभियोग लागेर जेल बसेका पूर्वगृहमन्त्रीहरूको लाम हेर्दा नेपालको यो दुर्दशा नै हो कि भनेजस्तो देखिन आउँछ । नेपालमा पञ्चायती व्यवस्था भएका बेलामा माद्यमिक तहमा पढ्दै गरेका तमाम विद्यार्थीहरूले पञ्चायत विषयमा संसदीय प्रणाली असफल हुनाका कारणहरू भनेर विभिन्न कुरा बुँदागत रूपमा पढ्नुपथ्र्यो । केही बुझ्ने भइसकेका विद्यार्थीहरूका लागि यो असान्दर्भिक र अनावश्यक रूपमा संसदीय प्रणालीमाथिको आक्षेप जस्तो बोध हुनेगथ्र्यो । संसारकै सबैभन्दा राम्रो प्रणाली भएर पनि संसदीय प्रणाली त्यसबेला नेपालमा किन असफल भयो भन्ने प्रश्न एकातिर थियो भने अर्कातर्फ संसदीय प्रजातन्त्रका पक्षधरहरूले संसदीय प्रणाली असफल भएको होइन असफल बनाइएको हो भन्ने पनि बुझेको थिए ।
यसको दोष राजा वा राजतन्त्रलाई लगाइन्थ्यो । विशेषगरी तत्कालीन राजा महेन्द्रप्रति प्रजातन्त्रवादीहरूले आरोपको तीर तेस्र्याउने गरेका थिए । तर, हालको हकमा यस्तो अवस्था छैन । यदि प्रजातान्त्रिक प्रणाली कुनै प्रकारले असफल हुनपुग्यो भने त्यसको दोष हामीले कसलाई दिने ? प्रणाली आफैं दोषी हुने हो कि यसलाई सञ्चालन गर्ने व्यक्तिहरू दोषी हुने हुन् ? अहिले त राजा छैनन् र राजतन्त्र पनि छैन । त्यसो भए कसका कारणले प्रणाली कमजोर बन्ने हो त भन्ने प्रश्न टड्कारो बनेर आउने गरेको छ । भोलिका दिनमा यस्तो अवस्था आयो भने वर्तमानका नेताहरू र दलहरूले जपाफ दिनुपर्छ कि पर्दैन ?
नेपालमा पछिल्लो पटक प्रजातन्त्र आएको साढे ३४ वर्ष भएको छ । यसबीच समयका पैंयाँहरू निकै नै घुमिसकेका छन् । प्रजातान्त्रिक प्रणालीमा प्रधानमन्त्री बनेका मानिसहरूको सूची बनाउने हो भने पनि निकै लामो बन्छ र कुनै-कुनै प्रधानमन्त्रीहरू त चार-पाँचपटक नै दाहोरिनुभएको छ । मन्त्री बन्नेहरूको सूची त तयार पार्नसमेत सकिने अवस्था छैन । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि प्रदेशमा मन्त्री बनेकाहरूलाई समेत समेटेर त्यसको सूची तयार पार्ने हो भने त एउटा अनुसन्धान समिति नै बनाउनुपर्ने हुन्छ । लगभग ३५ वर्षको यस समयावधिमा गृहमन्त्री बनेका व्यक्तिहरू जति छन् तीमध्ये प्रायः भ्रष्टाचार, अनियमितता र अन्य विभिन्न आपराधिक कार्यमा संलग्न भएको अभियोगको सामना गर्नुपरेको छ ।
गृहमन्त्रालय शक्तिशाली मन्त्रालय हो । प्रहरी प्रशासनको परिचालन गर्ने र राष्ट्रमा अमनचयन कायम गर्ने जिम्मेवारी पाएका गृहमन्त्रीको ठूलो जिम्मेवारी हुनेगर्छ । तर, नियत नराम्रो बनाएका खण्डमा भ्रष्टाचार गर्ने ठाउँ सबै मन्त्रालयहरूमा हुनसक्ला, त्यसको परिमाण धेरथोर हुनसक्छ, त्यसको मौका र बजेट रकम कम-बेसी हुनसक्छ तर गिद्धेनजर राख्नेहरूले केही न केही ठाउँ पाउँछन् नै । गृहमन्त्रालयमा विगतमा बढी नै भ्रष्टाचार र अनियमितता भएको कुरा गृहमन्त्री बनेका धेरै व्यक्तिहरू भ्रष्टाचारको अभियोगमा जेलयात्रामा पुगेका कारण यस्तो देखिन आएको छ । प्रजातन्त्रको मिर्मिरे समयदेखि नै प्रजातन्त्रप्रति वितृष्णा हुनेगरी अनियमितता देखिने गरेका थिए ।
गोविन्दराज जोशी र खुमबहादुर खड्का त्यसबेला शक्तिशाली हुनुहुन्थ्यो । उहाँहरूको पछाडि उहाँहरूलाई बाध्य बनाएर भ्रष्टाचारको खाल्डोमा धकेल्ने तत्वहरू थिए भने त्यो फरक कुरा भयो तर पर्दामा देखिन भने उहाँहरू नै बाध्य हुनुभयो । तत्कालीन गृहमन्त्रीहरूबाट उच्च पदस्त प्रहरीहरूलाई सरुवा र बढुवाका लागि ठूलो राशिको आर्थिक चलखेल हुनेगरेको थियो भनिन्थ्यो । ठूला नेताहरूलाई नजराना टक्र्याउनुपर्ने बाध्यताका कारण तत्कालीन गृहमन्त्रीहरू फस्नुभएको हो पनि भन्ने गरिन्थ्यो तर बाहिर त गोविन्दराज जोशी र खुमबहादुर खड्का जस्ता नेताहरू पनि जेल बस्न पुग्नुभयो । पछिकाहरूले त्यसको देखासिकी गरे र ती पनि जेल गए ।
नराम्रा कार्यहरू त्याज्य बन्दै जानुपर्नेमा ती त मानक जस्ता पो देखिन पुगे र तिनको अनुकरण गर्ने गरियो । कृष्णबहादुर महराको अभियोग फरक थियो । उहाँमाथि आर्थिक अनियमिताको अभियोग पनि थियो । सुन तस्करीमा उहाँलाई आरोपित गरियो र पक्राउ गरेर जेल राखियो तर उहाँ हाजिर जमानीमा छुट्नुभयो । यसभन्दा पहिले उहाँ जेल जानुपर्ने अर्को कारण थियो । महिलामाथिको यौनजन्य अपराध वा अर्को शब्दमा भन्ने हो भने बलात्कारको उद्योगमा उहाँ जेल जानुभएको थियो । बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखाइयो र जेल राखियोे । हाल उहाँ पनि धरौटीमा रिहा हुनुभएको छ ।
उहाँहरूमात्र होइन गृहमन्त्री त अरू पनि बनेका थिए तर सबैले यस्तो अभियोग व्यहोर्नु परेन । साढे तीन दशकको अवधिमा बनेका धेरैजसो गृहमन्त्रीहरूले भने कुनै न कुनै अभियोगमा जेल जानुपर्यो । त्यसको सबैभन्दा पछिल्लो पात्र बन्नुभएको छ रवि लामिछाने । रवि लामिछाने पत्रकारिताबाट राजनीतिमा आउनुभएको हो । उहाँ लामो समय अमेरिकामा बसेर आउनुभएको र दोहोरो राहदानी र नागरिकतामा समेत उहाँ दोषी देखिनुभएको थियो । ती कानुनी त्रुटिहरूलाई सच्याएर उहाँ पुनः निर्वाचित बन्नुभयो । हाल उहाँ सहकारी ठगी मुद्दामा आरोपित बनेकाले पक्राउ पर्नुभएको छ । उहाँको पक्षामा जनमत छ भन्ने सबैलाई थाहा छ ।
त्यही जनमत प्रदर्शन गरेर राजनीतिलाई प्रभावित बनाउने प्रयासमा उहाँ हुनुहुन्छ । उहाँले यसको कानुनी समाधान खोज्नुपर्ने थियो तर सडकबाट शक्ति प्रदर्शन गरी आफ्नो निर्दोषिता प्रमाणित गर्ने जुन प्रयास गर्नुभएको छ त्यो उचित बाटो होइन । राजनीति र अपराध एकअर्काका परिपूरक हुन भन्ने देखिँदै आएको अवस्थामा रविले यसलाई गलत सावित गर्न सक्नुपथ्र्यो तर सक्नुभएन । यसरी अपराध र अपराधीहरूलाई नियन्त्रण गर्न नियुक्ति भएका नेपालका अधिकांश गृहमन्त्रीहरू तिनै अपराधीसँग साँठगाँठ गरी आफैं अपराधी पुष्टि हुँदै जानु नेपालको दुर्भाग्यपूर्ण नियति बन्नपुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच