विद्या विवादाय धनं मदायशक्तिः परेषां पर पीडनाय ।
खलस्य साधोर्विपरीतमेतज्ज्ञानाय दानाय च रक्षणाय ।।
साधु र दुष्टका बीचको अन्तर माथिका श्लोकमा यसरी वर्णन गरिएको छ ‘दुष्टका लागि विद्या विवाद गर्ने साधन बन्छ । धन सम्पत्ति घमण्ड प्रदर्शनका लागि उपयोग हुन्छ । शारीरिक, मानसिक र सामाजिक विधिनियामक शक्ति चाहिँ निरीह, दुःखी निमुखालाई पिरोल्ने कामको हतियार बन्छ भने सज्जन व्यक्तिका लागि यिनै कुराहरू विपरीत बन्छन् ज्ञानका लागि विद्या, दानबाट दुःखी गरिबको सहायताका लागि धन, असजिलो अवस्थामा परेका व्यक्तिलाई उद्धार तथा रक्षाका गर्नका लागि शक्ति आवश्यक हुन्छ भनिएको छ । अब हेरौँ हामी कस्ताका फेला परेका रहेछौँ- जुन देशको प्रहरी प्रमुख संसदीय समितिमा गएर अपराधीलाई निरपराध छ भनेर साक्षी बक्छ ।
जुन सरकारको महान्याधिवक्ता अपराधीलाई परिशुद्धपत्र प्रदान गर्दछ अमुक व्यक्तिका नाममा देशभरिका कुनै न्यायिक निकायमा कुनै पनि प्रकारका उजुरबाजुर छैनन् भनेर त्यस देशका जनता केबल पशुपतिको शरणबाहेक जाऊन् कहाँ ? ती जनताभन्दा निमुखा दुनियाँको गन्दगीयुक्त ठाउमा जन्मेर हुर्केका मच्छडका हुल पनि शायद हुँदैनन् । जुन देशका देश सञ्चालकको आचरण उत्कोच ग्रहण, अनावश्यक शक्ति प्रदर्शन, वाक्य वाक्यमा दम्भ र पाखण्डवृत्ति नै जीवनका प्राप्तव्य बनेर आएका देखिन्छन् त्यो देशका जनताको हविगत र त्यस देशका विधिनियमको के हालत होला कल्पना गर्नुस् त । ज्यानमारा, आफ्नै सहयोगी नारीमाथि बलात्कार गर्ने बलात्कारी त सभामुख बन्छन्/बनाइन्छन् ।
दुर्योधन, कंश, रावण, बाली, एर्साद, लालु यादव, रावडीदेवी, हेमबहादुर मल्ल र शारदा मल्ल जस्ताको पनि नाम त लिइन्छ । त्यसै रूपमा आफ्ना आराध्यको पनि नाम आयो भने त्यो दिन रमेश लेखक, एनपी साउद, महेन्द्र यादव, किशोर राठौर, विष्णु रिमाल, गोकुल बाँस्कोटा, सूर्य थापा, महेश बस्नेतहरूलाई राम्रो लाग्ला ?
संगठित अपराध गर्ने र गरिबले पेटमा पटुका कसेर सडक किनारमा बसेर पोलेका मकै बेचेर जम्मा गरेका लाखौं गरिबका खरबौं पसिनाका थोपा महाकालीले रक्तबीजको रगतका थोपा पिए झैं तन्तनी पिउनेका पक्षमा आफूलाई पढालेखा डा. भनिनेहरू भोका भेडा कराए झैँ हाम्रा स्वामी भनेर कराएर देश, शहर, बजारको अमनचयनमा खलल पुर्याउँछन् । महिनामा चारपटक परिवर्तन हुने सरकारका प्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्म सरकारका सय दिनको उपलब्धिका नाममा जेठको प्रथम वर्षमा निक्लेका वर्षाभू कराए झैं राष्ट्रिय विद्युतीय सञ्चारसंयन्त्र अगाडि आएर स्वेतमिथ्या बोल्न अलिकति पनि लाज मान्दैनन् । सौ चुहा खा के बिल्ली चली हजको भनेझैँ राजनीतिमा प्रवेश गर्न पाएको छैन उपप्रधान तथा गृह नै चाहिन्छ धन कमाउन र आफूले पहिले गरेका अपराधका फायल गायव गर्न यस्ताका पछाडि लाग्ने आचरण भएका मान्छे कस्ता हुन्छन् एकछिन् सोचौँ त ?
यद्यदाचरति श्रेष्ठ तत्तदेवेतरोर्जुन
जसरी घरका बाबुआमाको आचरणबाट छोराछोरीका बोली वचन र क्रियाकलाप निर्मित हुन्छन् । बीजगुन जात दूधगुन बुद्धि भन्छन् । त्यसैगरी गाउँका मूल मान्छेका आचरण र चिन्तनको छाप गाउँका साधारण मान्छेमा धेरथोर परेको हुन्छ । देश पनि योभन्दा पृथक् भएर रहन या चल्न सक्दैन । गान्धी नामको एउटा सिनेमा बनाउँदा एक जना बेलायतीले गान्धीको अभिनय गरेपछि आफ्ना स्वाभाविक जीवनमा फर्कन नसकेर गान्धीकै जीवनशैलीमा आफूलाई परिवर्तन गरेको थियो रे । आजको हाम्रा देशका आदर्श पुरुष भनेका जसलाई जनताले पत्याएर ठाउँमा पटक-पटक पुर्याएका छन् तिनै त होलान् होइन र ?
शाक्यलाई, आर्जुलाई र माथि गएर नै भए पनि पुष्पालाई सोध्ने हो भने यिनले हाम्रा पतिका आचरणको अनुकरण/अनुशरण आफ्नै छोराछोरीले पनि गरून् भनेर चाहन्छन् होला ? रविका आचरणको सिको गरेर जीवन नर्कमा डुबाउने कि गरिबले खाई नखाई जम्मा गरेको धनमा आँखा गाडेर देशविदेश ठग्ने ? ठूला दलका नामी व्यक्तिले देशलाई कुनै न कुनै प्रकारको अवस्थाबाट उन्मुक्तिका अवस्थामा ल्याउने काम गरेकालाई त झन महामान्छे त भन्नै पर्ला ? यसरी भन्दा शेरबहादुर देउवा, केपी शर्मा ओली तथा पुष्पकमल दाहाल छुटाउनै नहुने नाम हुन् ।
यिनको हातबाट पाएका र पाउन नजिकिएका बाहेकले यिनले गरेका सदाचरणमा एक दुईवटा पनि गनाउन सक्लान् ? अब्राहम लिंकन, नासिर, माओचाओ, नेहरू, जयप्रकाश विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, चन्द्र शेखरहरूको नाम मान्छेले किन लिएका ? यिनले घुस खुवाएर, मुद्दा मामिलामा मद्धत गरेर, पैतृक सम्पत्ति दिएर गुन लाएका हुनाले हो ? यदि होइन भने भोलिपर्सि ओली, पुकदा, शेबदे, रविला, अगिसा, झलख, माकुने डा.बाबुभ आदिको नाम सुनामका रूपमा लिनुपर्ने आधार खोज्न यिनका नजिकका मान्छेले यिनलाई किन नसम्झाएका त ?
दुर्योधन, कंश, रावण, बाली, एर्साद, लालु यादव, रावडीदेवी, हेमबहादुर मल्ल र शारदा मल्ल जस्ताको पनि नाम त लिइन्छ । त्यसै रूपमा आफ्ना आराध्यको पनि नाम आयो भने त्यो दिन रमेश लेखक, एनपी सावद, महेन्द्र यादव, किशोर राठौर, विष्णु रिमाल, गोकुल बाँस्कोटा, सूर्य थापा, महेश बस्नेत आदिलाई राम्रो लाग्ला ? कि भीष्मले गरेका अपराधको दण्ड समग्र कुरुकुललाई दिन शकुनि जस्तै गरी यिनीहरू पनि आ–आफ्ना नेताका पोष्यपूत बनेर अभिनय गरिरहेका छन् ? अलिकति पनि चेत र इमान भएकाले सोच्न सक्नुपर्यो । आजका कथित नायक भनिएका खलनायकका संगतले उनीहरू जस्तै कार्यकर्ता उत्पादन होलान् भन्ने डर भयो नेपाली समाजमा ।
जस्तो आफू उस्तै च्यापु
बिना कारण कैलाश सिरोहियादेखि आरजु र शेरबहादुरलाई समेत जेलमा कोच्न तम्सने रवि आज कस्तो चरित्र प्रदर्शन गर्दै छन् ? उनी आउनेबित्तिकै हामी केही गर्न आएका भन्थे । पुरानाले गरेनन् हामी गर्छौं भन्थे । यिनका लहैलहैमा लागेर सर्वोच्चले सांसद पद खारेज गरेका कुरालाई पनि गणना नगरी चितवनवासीले हजुरबालाई सम्मान गरेझैँ सम्मान गरेको देख्दा केही रहेछन् कि त जस्तो मलाई पनि लागेको थियो तर जब दोस्रोपल्ट यिनी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हाल्न पुगे अनि भने कमिलाका प्वाँख उम्रेछन् जस्तो लाग्न लाग्यो यिनका उत्ताउला हर्कतले ।
एउटा असल व्यापारीले बेलुका पसल बन्द गरेर घरजाँदा दिनभरि व्यापार गरेर जम्मा भएको रकम लिएर जान बिर्सेछ । भोलिपल्ट आएर राखेका ठाउँमा हेर्दा पैसाको थैली रहेनछ । एक छिनपछि एउटा मुसाले उत्ताउलोपना देखाउन थालेछ । व्यापारीले ज्यामी बोलाएर घर खनाएर मुसाको दुलो टुंगिएका ठाउँसम्म पुग्दा त त्यो धनका उन्मादले मुसो छचण्डाएको रहेछ । धन साहुले लिएपछि मुसो लुरुक्क परेर भागेछ । अहिले सहकारीका र पत्रकार हुँदा घोटाला गरेका अनि दुई-दुईपटक गृहमन्त्री भएर क्रसर चलाउने अनुमति दिएर सात जिल्ला बर्बाद गरेका र लाखौँलाख गरिबका पसिना चुसेका उन्मादले पोखरा आक्रान्त बनाएका छन् रविले ।
जोगमेहर, हेमबहादुर मल्ल, लालु यादव, कपुरी ठाकुर तथा जगन्नाथ झाको जस्तो चरित्र भएका रविका पछि लाग्ने पनि तिनै विहारी र धनुषा तथा साँखुवासी जस्तै रहेछन् भ्याभ्या गर्दै भड्खालामा आँखा चिम्लेर हाम्फाल्ने । जनता मालिक हुन्छ प्रजातन्त्रमा, ऊ बुद्धिसम्मत काम गर्दछ जसले भन्यो त्यतै दुईचार सय रुपैयाँ र दुईचार छाक मासुभातमा जाँदैन । प्रजातन्त्र आएपछि पनि अधिकांश नेपाली जनता रैतान भएर बसेका रहेछन् भन्ने त गोरखा, डडेलधुरा र झापाको मत परिणामले देखाएकै थियो तर पनि स्वतन्त्र देशका स्वतन्त्र नागरिकलाई नओल्चिऊँ भनेको आफ्नो जातै जमदारपना त अहिले रास्वपाका भेडाका पछि लाग्ने भेडिया धसानले राम्ररी परिचय दिए ।
आफू जस्तो हुन्छ उसको च्यापु पनि त्यस्तै हुन्छ । नेपाली जनताको रुचि, बुद्धि र संस्कार अनुरूपकै नेता पनि हुँदा रहेछन् भनेर चित्त बुझाउनुहुन्थ्यो तर यो देश कहिल्यै उभो नलाग्ने भयो । एकभन्दा अर्को भ्रष्ट, ठग र रङ बदलुवाका फेला परेर सन्तान दरसन्तान बर्बाद होलान् भन्ने पीर भयो ।
आफू जस्तो हुन्छ उसको च्यापु पनि त्यस्तै हुन्छ भनेको पनि यही रहेछ । नेपाली जनताको रुचि, बुद्धि र संस्कार अनुरूपकै नेता पनि हुँदा रहेछन् भनेर चित्त बुझाउनुहुन्थ्यो तर यो देश कहिल्यै उभो नलाग्ने भयो । एकभन्दा एक भ्रष्ट, ठग र रङ बदलुवाका फेला परेर सन्तान दरसन्तान बर्बाद होलान् भन्ने पीर भयो ।
हीन रुचिका जनता
म पनि यो देशको एकजना जनता नै हुँ । मलाई चुनावका बेला आफैँमाथि विश्वास हुँदैन चार चार वर्ष धरधरी रुवाउने पिरोला निन्याउरो मुख बनाएर हातमा सुनका टुक्रा र द्रव्यका बिटा, मुखमा अमृतको लेप, व्यवहारमा विनम्रताको दिव्यनमुना बनेर आउँछ, यसै आउन सकेन भने देशविदेश ठगेर खाएको मान्छे लाएर घरैमा आएर ‘अब यस्तो हुँदैन, अब म गर्नुपर्ने सबै गर्छु गल्ती भयो । चुनाव सकिनेबित्तिकै म सबै साथीलाई खबर गरेर भेला गराएर तपाईंहरूसँग सल्लाह लिएर नै काम गर्छु विश्वास गर्नुहोस् । यो लास्ट चान्स विश्वास गर्नुस्’ भनेर जीवन बिताइदिन्छ ।
मलाई पनि लोभ लाग्छ फलाना नेताको छोरो हो, वाचा गरेको छ भनेर अविश्वास गर्नेलाई पनि म आफैँ विश्वास दिलाएर रूख र सूर्यको बखान गर्न लाग्छु । कसैले यसैगरी घेराभित्रको हँसिया हतौडाको बखान गर्छ भने कसैले हलो र गाईको आदि आदिको बखान गरेर अन्त्यमा हतौडाको चोट टाउकामा पार्छ, हँसियाले गर्दन रेटीरेटी दक्षिणकालीमा बोको रेटेको अनुभव गर्न विवश हुन्छ । आज आएर सम्झन्छु पुनर्मूषिको भव । चार पाँच वर्ष अहोरात्र रोएर भिजेका परेला एक गिलास ठर्रा, दुई चोक्टा मासु र दुईचार वटा हरिया नोटले पुछपाछ पारेर फेरि हामीलाई बलि चढाउन ठीक पारेको पाठो बनाउँदा पनि हाम्रो चेत फिरेन कहिल्यै पनि ।
प्रजातन्त्रमा सावधिक चुनाव राखेको यस्तै ठगका फेला परेका जनताले आफ्नो मतबाट दण्डित गरून् र देश र जनताको काम गर्ने उच्च स्वप्नशील केही गरुँ, जनताको सेवा गरेर, नैतिक मार्गबाट मानवीय चरित्र उठाएर भएका गल्ती कमजोरी सच्याएर देशलाई विकास र समुन्नतिका मार्गमा लैजान सक्ने, बोलीमा आड भरोसा भएको उच्च चरित्रवान् मान्छे रोज्ने अवसर पाऊन् भनेर नै निश्चित अवधिको चुनावको व्यवस्था गरिएको हो ।
हामीले त्यसको दुरुपयोग गर्यौँ र आज पश्चात्तापका खाल्डामा बसेर रुँदै छौँ तर २०८४ सालमा फेरि हामी यिनै लम्पटबाट ठगिन तयार छौँ भन्ने कुरो त पुकदाका गफ ओलीको दम्भ र शेबदेको सत्ताभक्तिको बकुल्ले मौनताबाट प्रभावित हुन लागेको वर्तमान अवस्थाले द्योतन गरेकै छ । हिजो राजा र पञ्चका विरुद्ध सडक आन्दोलन गर्ने आज चरित्रहीन बनेर ठग, दम्भ र हिंसाहत्या गरेर आएका कमजोरभन्दा कमजोर व्यक्ति र समूहभन्दा कमजोर बनेर सडक र भेलाका विरुद्ध वक्तव्य जारी गर्न लागेका छन् ।
उच्च चरित्र भएका, जनताका अगाडि त्याग र तपस्यायुक्त जीवन प्रदर्शन गर्न सफल बिपी, मनमोहन, कृष्णप्रसाद, सुशील, मदन जस्ताका कुरा नसुन्ने शक्तिमा बसेका भ्रष्टको आरती गर्ने चरित्रका हामी यिनका कुरा के सुनौला सुन्न त तर पनि मान्छे कमजोर भएपछि सत्तामा टाँसिएको जुको बन्दो रहेछ । अतः फर्क आ-आफ्ना दलका मौलिक दर्शनतिर अन्यथा राजा बेनको या वीरेन्द्र र ज्ञानेन्द्रको नियति भोग्न तयार भएर बसे हुन्छ । जनताका आक्रोशका अगाडि दुनियाँका कुनै पनि भ्रष्ट, दम्भी, ठग, लुच्चा टिक्न सकेको इतिहास छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच