अर्घाखाँची । अर्घाखाँचीका तीन स्थानीय तहले प्लाष्टिकका माला प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन्। स्थानीय स्तरमा उत्पादन भएका फूलका मालाको प्रयोग बढाउन स्थानीय तहहरुले यस्तो निर्णय गरेका हुन् । साथै फुलका माला प्रयोग गर्न समेत आग्रह गरिएको छ ।
स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न सन्धिखर्क नगरपालिका, सितगंगा नगरपालिका र पाणिनी गाउँपालिकाले प्लाष्टिकका माला प्रयोग र विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । स्थानीय तहको यो निर्णयले स्थानीय स्तरका फूल व्यवसायीहरुलाई प्रोत्साहन हुने बताइएको छ ।
सितगंगा नगरपालिकाले सूचना जारी गर्दै प्लाष्टिकका माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । नगर प्रमुख छविलाल पौडेलले वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण प्लाष्टिकका मालालाई प्रतिबन्ध गरेको बताउनुभयो ।
यता सन्धिखर्क नगरपालिकाले पनि प्लाष्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । स्थानीय रुपमा फूल खेती गर्ने कृषकहरुलाई मध्यनजर गर्दै नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । तिहारलाई लक्षित गर्दै कात्तिक १४ गतेदेखि पूर्ण रुपमा प्लाष्टिकका माला बेच्न प्रतिबन्ध लगाउने निर्णय भएको हो ।
यस्तै पाणिनी गाउँपालिकाले पनि फूलहरूको पर्व दिपावलीको अवसरमा प्लाष्टिकजन्य माला तथा फूलहरुको प्रयोग नगर्न आग्रह गरेको छ । पालिकाले जारी गरेको अपिलमा स्थानिय रुपमा पुष्प व्यावसाय गरिरहेका ३ जना व्यावसायिहरुको विवरण र ठेगाना समेत उल्लेख गरिएको छ ।
साथै पालिकाभित्र रहेका अन्य पुष्प व्यवसायीहरुलाई पालिकामा सम्पर्क गर्न अनुरोध गरिएको छ । उक्त क्षेत्रमा हाल पाणिनी ७ का सुदन न्यौपाने, पाणिनी ७ कै मुम बहादुर थापा र पाणिनी ६ का दीक्षा पौडेलले पुष्प ब्यावसाय गरिरहेको जानकारी दिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच