पटना । भारतीय लोक गायिका शारदा सिन्हाको निधन भएको छ । ‘नाइटिङगेल अफ बिहार’ भनेर चिनिने उहाँको दिल्लीको एम्स अस्पतालमा ७२ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो । पद्मभूषण र पद्मश्रीबाट सम्मानित सिन्हा केही दिनदेखि एम्स अस्पतालमा उपचार गराइरहनुभएको थियो ।
उहाँका छोरा अंशुमान सिन्हाले सामाजिक सञ्जालमार्फत आमाको निधनको जानकारी दिनुभएको थियो । ‘अंशुमन सिन्हाद्वारा गरिएको पोस्ट, तपाईंहरू सबैको प्रार्थना तथा प्रेम सधैं आमासँगै रहनेछ । आमालाई छठी मईयाले आफूसँगै बोलाउनु भयो । आमा अब शारीरिक रूपमा हामीबीच रहनु भएन,’ अंशुमानले लेख्नुभएको छ ।
सिन्हाको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्नुभएको छ ‘सुप्रसिद्ध लोक गायिका शारदा सिन्हा जीको निधनबाट अत्यन्त दुःख भएको छ । उहाँले गाएका मैथिली तथा भोजपुरी लोक गीत पछिल्लो केही दशकदेखि निकै लोकप्रिय छन् । आस्थाको महापर्व छठसँग सम्बन्धी उहाँका समुधुर गीतहरूको सदैव गुञ्जिरहने छन् । उहाँको महाप्रस्थान संगीत जगतका लागि एउटा अपूरणीय क्षति हो । शोकको यो घडीमा मेरो समवेदाना उनका परिवारजन तथा प्रशंसकसँगै छ । ओम शान्ति,’ प्रधानमन्त्री मोदीले लेख्नुभएको छ ।
गायिका शारदाको अन्तिम छठ गीत एक दिनअघि अर्थात् सोमबारमात्रै सार्वजनिक गरिएको थियो । यद्यपि, यो गीतको रेकर्डिङ केहीअघि नै गरिएको थियो । शारदा सिन्हाको नयाँ छठ गीतको बोल ‘दुखवा मिटाइं छठी मइया’ राखिएको छ । यो उहाँको अन्तिम छठ गीत बन्न पुग्यो । छठको अवसर पारेरमात्रै उहाँका नयाँ गीतहरू सार्वजनिक गरिन्थे ।
शारदा सिन्हा छठ पर्वसँग जोडिएका गीतहरूको लागि विशेष रूपमा चर्चित छिन् । उहाँको ‘पहिले पहिले हम कइलीं छठी मैया वरत तोहार’, ‘हो दिनानाथ’ जस्ता गीतहरूले धार्मिक आस्थासँगै सांस्कृतिक चेतनालाई जीवन्त बनाएका छन् । छठ पर्वका बेला उहाँका गीतहरूले भक्तजनलाई भावनात्मक रूपमा जोड्नेमात्र होइन, परम्परालाई नयाँ पुस्तामा प्रवाहित गर्न मद्दत पनि पु¥याएको छ । मंगलबार छठ पर्वको पहिलो दिन नै उहाँले गायिकाले संसारबाट बिदा लिनुभयो ।
डेढ महिनाअघि सेप्टेम्बर २२ मा शारदा सिन्हाका श्रीमान् बृजकिशोर सिन्हाको ब्रेन हेमरेजका कारण निधन भएको थियो । यो जोडीको विवाह ५४ वर्षअघि भएको थियो । श्रीमान्को निधनका कारण शारदा सिन्हालाई ठूलो चोट पुगेको थियो । त्यही बेलादेखि उहाँको स्वास्थ्य पनि थप जटिल बनेको थियो । उहाँले आफ्नो करियरमा नौ एल्बममा ६२ वटा छठ गीत गाउनुभएको छ । ‘बिहार कोकिला’ उपनामले चिनिने शारदाले बलिउडसहित भोजपुरी चलचित्रका लागि पनि गीत गाउनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच