माओवादी केन्द्रले देशभरिका सबै पालिकाहरूमा खबरदारी गर्ने भएको छ । राजनीतिक पार्टीहरूका यस्ता कार्यक्रम जनताका सामु देवखावटी रूपमा बेलाबखत प्रस्तुत हुने गरेका छन् । आफ्ना समर्थक, शुभचिन्तक तथा मतदाताबीच आफ्नो पार्टी केही नगरी बसिरहेको जस्तो भान नपरोस् भनेर केही न केही गरिरहेको छ भन्ने देखाउन पनि जरुरी भएको महसुस गरेर यस्तो कार्यक्रम अगाडि सारिएको हुनसक्छ । आफ्नो पार्टीको संगठन विस्तार गर्न केही न केही गर्नुपर्ने आवश्यकता माओवादी पार्टीले महसुस गरेको हुनुपर्छ । माओवादी क्रान्तिबाट आएको पार्टी हो । यस पार्टीप्रति धेरैको आशावादी सोच थियो र पहिलो पटकको संविधानसभाको निर्वाचनमा नेपाली जनताले पार्टीप्र्रतिको आशाको अभिव्यक्ति मतका माध्यमबाट गरेका थिए तर जनसद्भाव हाल बिस्तारै खस्केर गयो ।
१५ वर्षको अवधिमा इतिहासमा मात्र सीमित हुनुपर्ने अवस्थामा पुगेको यो पार्टी बठ्याइँपूर्वक नेपाली कांग्रेससँगको गठबन्धनबाट २०७९ को आमनिर्वाचनका माध्यमबाट आफ्नो उपस्थिति जनाउन सफल भयो । आफ्नो हैसियत संघीय संसद्को प्रतिनिधिसभामा तेस्रो पार्टीका रूपमा कायम गर्न सफल भएको माओवादी आफ्नो ३२ स्थानको उपस्थितिलाई कहिले नेकपा एमालेसँग र कहिले नेपाली कांग्रेससँग सहकार्य गरेर जोगाइरहन सफल हुँदै आएकोमा अहिले सरकारबाट बाहिर रहन बाध्य भएको छ । नेपाली कांग्रेस र एमालेको गठबन्धनको सरकार बनेपछि सरकारबाट बाहिर बस्नुपरेको माओवादीलाई हालको राजनीतिक अवस्था सहज बनिरहेको छैन । गत निर्वाचनमा नेपाली कांग्रेसका मतदाताहरूको मतबाट विजय हासिल गरेको माओवादी पार्टी आगामी २०८४ को निर्वाचनमा समाप्त प्रायः हुनेछ भनेर अड्कलबाजी गर्ने राजनीतिक विश्लेषकहरू पनि प्रसस्तै छन् ।
यस्तो अवस्थामा माओवादी पार्टीले आफ्नो अनुहार जोगाउन (फेस सेभिङ गर्न) केही न केही कार्यक्रम त गर्नैपर्छ । यही आवश्यकतालाई मध्यनजर राखेर हाल माओवादी पार्टीले देशका सबै ७५३ वटा पालिकामै खबरदारी गर्ने कार्यक्रम राखेको छ । यो अत्यन्तै राम्रो, संगठन विस्तार र सचेतनाका लागि उपयोगी कार्यक्रम हो । आफ्ना पक्षका मतदाता र समर्थकलाई अरूविरुद्ध आक्रामक बन्न प्रेरित गर्ने होइन समग्र देशहितका कार्य र समन्वय गरी अगाडि बढ्ने खालको सचेतना जाग्रित गर्नु आवश्यक छ । अरू पार्टीहरूका विरुद्धमा सशक्त ढंगले आक्रामक शैलीमा अगाडि बढ्ने गरी तिनले प्रशिक्षण पाउने हो भने स्थानीयस्तरमा अशान्तिको बीजारोपण हुने र अन्ततः आफैं पनि सकिँदै जाने अवस्थाको सिर्जना हुन जानेछ ।
त्यस प्रकारको खबरदारी र जागरण भने नितान्त आवश्यक छ । यस्ता कार्यक्रम बेलाबखतमा अन्य पार्टीहरूले पनि राख्ने गरेका छन् । नेपाली कांग्रेस र एमालेले पनि समय-समयमा प्रशिक्षण, आआफ्नो पार्टीका नीति तथा सिद्धान्तहरूको विस्तार जस्ता कार्यक्रम राख्दै आएका छन् । राजनीतिक पार्टीहरूले बेलाबेलामा कार्यक्रम सञ्चालन गर्ने गरेनन् भने जनता राजनीतिक चेतनाबाट विमुख बन्न जानेछन् र पार्टीहरूको संगठन कमजोर बन्दै जानेछ । सांगठनिक रूपमा नेपाली कांग्रेस अरू पार्टीको तुलनामा त्यति जागरुक छैन भन्ने गरिन्छ तर यो पार्टी पनि चुप लागेर चाहिँ बस्दैन भन्ने यसको बेलाबेलाको प्रशिक्षणबाट देखिने गरेको छ ।
यसलाई जनतामा आधारित पार्टी (मास बेस्ड पार्टी) भन्ने गरिएको छ । जनतालाई संगठित भर्न नसके पनि यसले राणा शासन हटाएको र विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टी भन्ने यसको गौरवमय इतिहासका आधारमा असी वर्ष पुग्नलाग्दासमेत यस पार्टीलाई जनताको व्यापक समर्थन रहँदै आएको छ । सांगठनिक रूपमा सबैभन्दा सबल पार्टी भनेर नेकपा एमालेलाई लिने गरिएको छ । संगठन मजबुत भएकै कारण यो पार्टी हत्तपत्त कमजोर बन्दैन र यस पार्टीमा उतारचढाव हुने गरेको छैन । गत २०७९ को निर्वाचनका दुई ठूला पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएर निर्वाचनमा जाँदा पनि एमालेले नेपाली कांग्रेसभन्दा १० स्थानले मात्र पछाडि परेर दोस्रो ठूलो पार्टी बनेको सन्दर्भका आधारमा यसो भन्न सकिएको हो ।
हाल यिनै दुई पार्टी नेपाली कांग्रेस र नेकपा एमाले अन्य केही साना दलहरूको समेत साथ लिएर सरकारमा रहेका छन् । यी झण्डै दुई तिहाइ बहुमतको निकटमा रहेका छन् । दुई तिहाइ बहुमत पु¥याएर अब यिनले संविधान संशोधन पनि गर्छन् भनेर यो सरकार बनेको सुरुका दिनहरूमा व्यापक हल्ला हुनेगरेको थियो । सरकारमा भएका पार्टीहरूले पनि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिन्छ भन्ने गरेका थिए तर हालका दिनमा यस्तो चर्चा सामसुम भएको छ । अहिले सामुमा चाहिँ उपनिर्वाचनको चर्चा भइरहेको छ तर यस्तो राष्ट्रव्यापी रूपमा त्यत्रो ठूलो प्रभाव नपार्न सक्छ ।
आमनिर्वाचन भएको दुई वर्ष बित्नलागेको छ । अब तीन वर्षमात्र अवधि बाँकी छ । त्यस बेलाका लागि संगठन सुदृढीकरण गर्न अहिलेदेखि नै लागि पर्नुपर्ने समय भइसकेको छ । त्यसो गर्न ढिलो गर्नु हुँदैन । माओवादी पार्टीले सुरु गर्न लागेको खबरदारी कार्यक्रम अरूका लागिसमेत अनुकरणीय छ । आज संगठनका काम नगरेर बस्ने हो भने भोलि पछुताउने बेला आउनसक्छ । तर, यसरी संगठन सुदृढीकरणदेखि जनजागरणका जे जस्ता कार्यक्रम विभिन्न पार्टीहरूले अघि सार्ने गरेका छन् त्यस्ता कार्यक्रम पार्टीको हितमा मात्र होइन जनहितमा समेत प्रभावकारी हुनसक्ने खालका हुनु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच