ओखलढुंगा । ओखलढुंगा जिल्लामा शिवलिङ्ग आकारको अजंगको दुर्लभ पहाड रहेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ४ स्थित शिवलिङ्ग आकारको अजंगको पहाड छ । कालीगढले मिहेनत गरेर बनाएको शिवलिङ्ग भन्दा फरक नदेखिने दुई ठुला पहाडको बिचमा छुट्टै एउटा शिवलिङ्ग आकारको पहाड रहेको छ । दुईतर्फी झरना सहितको खोलाले काटेको भाग एकातर्फी आँफै भिरालो र अर्काेतर्फ अर्काे ठुलो पहाडमा काटिएर टाँसिएको पहाड रहेको छ । चारै दिशाबाट हेर्दा शिव लिङ्ग आकारको देखिन्छ ।
‘यो विश्वकै दूर्लभ शिवलिङ्ग हो, हामीले थाहा पाउँदा यो यस्तै पहाड थियो, यो भगवानकै पालादेखि शिवको बास भएको हुनुपर्दछ’ बयोबृद्ध रुद्रबहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार – यो शिवलिङ्ग भन्दा केहि माथिको भागमा ढुंगाको पहराबाट पानी निस्किएको छ । त्यहाँ कुनै माटो भएको ठाउँ देखिँदैन तर पानीको पलाएको छ । जस्तोसुकै गर्मीको समयमा पनि फ्रीजमा राखे बराबरको चिसो पानी हुन्छ । उक्त पानी शिवलिङ्गको पश्चिम भेग नजिकैबाट बग्दै शिवलिङ्गको फेदसम्म आइपुग्दा साना ठूला गरेर ९ वटा भन्दा बढी झरनाहरु बनेका छन् । शिवलिङ्गको पूर्व र पश्चिमतर्फबाट बग्ने दुवै खोला शिवलिङ्गको फेद भागमा आएर मिसिएका छन् । दुवै खोलाको पानी गर्मी समयमा पनि अति चिसो भईरहने गरेको छ । ९० सालकाे महाभूकम्पमा ठूला–ठूला पहाड फुटे, पहिरो गयो तर उक्त चिल्लो पहाडमा एउटा सामान्य ढुंगा पनि हल्लिएन । ७२ सालमो भुकम्पमा पनि त्यहाँ कुनै केही असर नगरेको कार्कीले बताउनु भयो । पहिला पहिला मान्छेहरु जाने गरेका थिए तर अहिले भने मान्छेहरु कम जाने गरेका छन् । वरिपरी पहरा भएकाले मानिसहरु आउन-जान कठिन छ ।
पहिला पहिला घाँस दाउरा लिन मान्छेहरु जाने आउने गर्दथे । त्यहाँ हिड्दा जमिन हल्लिएको जस्तो आभास हुने, जमिन थर्किएको जस्तो हुने गरेको बुढापाकाहरुले बताएका छन् । त्यहाँ मान्छेहरु पुग्दा खुट्टा कापेको जस्तो हुने लडिन्छ की भन्ने मनमा डर आउने, मनमा फरक खालको अनुभव हुने गरेको त्याे पहाडमा गएर आएका मान्छेहरु बताउछन् । थुम्कीमा केहि साना रुख विरुवाहरु भएपनि समग्र भाग भने खाली छ (कुनै बोटविरुवा छैनन्) । पहिला पहिला बाख्रा चरणका लागि जंगल लैजाने चलन थियो । विशेष गरी चैतबैशाखको सुख्खा समयमा उक्त शिवलिङ्गको दाँया बाँयाको खोलामा चरणका लागि बाख्रा लैजाने गर्दथे । बाख्राहरु उक्त शिवलिङ्गको पहाडमा गए भने कुनै न कुनै बाख्राहरु हराउने र खोजी गर्दा पछि बाघले खाएको अवस्थामा भेटिने गरेका थिए । बाख्रा हराएको दिन कहिल्यै पनि नभेटिने दुइ तीन दिन पछि मात्र भेटिने तर जंगली जनावरले खाएर बाँकी रहेको केहि भाग मात्र भेटिने गर्दथ्यो । यसरी त्यो ठाउँमा बाख्रा चरणका लागि लिएर जाँदा थुप्रै बाख्राहरु हराएका र पछि खोजी गर्दा कुनै जनावरले खाएको अवस्थामा भेटने गरेपछि किसानहरुले बाख्रा चरणका लागि उक्त ठाउँमा लैजान छोडेका थिए ।
उक्त ठाउँमा चरणका लागि बाख्रा जाँदा प्रत्येक समय हराउने गरेको र सबै बाख्रा फर्काएर ल्याएको दिन राति कसै न कसैको खोरमा बाघ आएर बाख्रा मारेको स्थानिय लाल बहादुर कार्कीले बताउनु भयो । त्यो समयमा एक जनाको खोरमा ५ देखि ७ वटा सम्म बाख्रा बाघले मारेको कार्कीले सम्झनु भयो । तर त्यो ठाउँ भन्दा बाहेकको जंगलमा चरणमा लैजादा बाख्राहरु सकुशल घर फर्किने गर्दथे ।
उक्त ठाउँमा कुनै शक्तिको बास भएकाले त्यसरी बाख्राहरु चरणका लागि जाँदा हराउने गरेको बुढापाकाले बताउने गरेका छन् । मध्यान्ह दिउँसो वा रातको समयमा विभिन्न खालको चिन्न र छुट्याउन नसकीने आवज आउने गरेको पनि स्थानियबासीले बताएका छन् ।
यहाँको प्राकृतिक बनावट हेर्दा कुनै भगवान वा देवीदेवताको बास रहेको हुन सक्ने बुढापाकाहरुको भनाई छ । सुख्खा ढुंगाको पहराबाट छङ्गछङ्ग पानी आउनु, बाह्रै महिना पानीको मुहान नसुक्नु, एउटै खोलामा छोटो–छोटो दुरीमा साना ठुला झरना नै झरना हुनु, शिवलिङ्ग आकारको पहाडमा बोटविरुवा नभई सधै चिल्लो देखिनुले गर्दा अदृश्य शक्ति भएकोमा शंका नभएको बताउने गरेका छन् । त्यो ठाउँमा एकैछिनमा घाम लाग्ने, एकैछिनमा कुहिरो आउने, पानी नपरेको बेला मध्ये दिउँसो पनि कुहिरो आउने, छिन–छिनमै मौसम परिवर्तन हुने गरेको छ ।
उक्त शिवलिङ्गको वरीपरी भएका जंगलमा विभिन्न जातका मनै लौभ्याउने फुलहरु फुल्ने गर्दछन् । चराचुरुङ्गी, मयुर, कालीज, तिथ्रा, जुरेली, हुचिल, चिल, सिकारी, काग, न्याउली, बेहुली चरी, लाटोकोसेरो, चिवे, फिस्टो, पाखेआेँत लगायतका डेढ दर्जन बढी जातका चराचुरुङ्गी पाउने गरेका छन् । जंगली जनावरहरु, बाघ, चितुवा, मृग, घोरल, बाँदर, ढेडु, गोहोरो, सालक, दुम्सी लगायतका जीवजनावरहरु यत्रतत्र हेर्न र देख्न पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच