काठमाडौं । प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम भन्ने नाराका साथ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीको व्यापार मेला सुरु भएको छ । विद्युत् तथा विद्युतीय व्यवसायमा आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक-२०२४’ उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उत्पादनमूलक क्षेत्रमा लगानीमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा ह्रास भइरहेको भन्दै त्यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने उहाँले बताउनुभएको हो । अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले काम गरिरहेको भन्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार लागिरहेको पनि उहाँले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने भाष्य चिर्नुपर्ने भन्दै सत्तामा भए पनि नभए पनि अर्थतन्त्रका एजेण्डामा सबै पार्टी एक हुनुपर्ने बताउनुभयो भने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालबाट विद्युत् बिक्रीसँगै आन्तरिक विद्युत् खपत बढाउन आवश्यक रहेको बताउनुभयो । महासंघ वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले आयात भएर आउने सामानको अन्तःशुल्क करलाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो । कोरोनापछि भारत तथा चीनमा पनि सामानको मूल्य घटी प्रतिस्पर्धा बढेको र माग संकुचन भएको अवस्था रहेको भन्दै यस्तो अवस्थामा नेपालले पनि पहिलाकै भन्सारदर कायम गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जाको प्रवद्र्धनका साथै सम्बन्धित क्षेत्रका पछिल्ला नवीनतम उपलब्धिबारे सूचना आदान-प्रदान, उपभोक्ता ऊर्जाको व्यवस्थित खपतको महत्वबारे उजागर गर्न मेलाबाट सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताउनुभयो ।
त्यसो त हाल डोमेस्टिक केबुल र ट्रान्सफर्मरबाहेकका अधिकांश विद्युतीय सामान आयात हुँदै आएको छ । अन्य विद्युतीय सामान पनि आयात प्रतिस्थापनका लागि स्वदेशमै विद्युतीय सामग्रीका उद्योगहरू स्थापना सम्भव नभएको भने होइन तर नीतिगत अस्थिरताका कारण विद्युतीय उद्योगहरू आउन नसकेको सम्बद्ध व्यवसायीहरूले बताएका छन् ।
झण्डै चार दशकअघि मोफसलमा विद्युतीय सामग्री व्यापारबाट व्यवसाय सुरु गर्नुभएका गोपाल अग्रवाल नेपाल विद्युतीय व्यवसायी महासंघको महासचिव हुनुहुन्छ । पछिल्लो समय विद्युतीय सामग्रीको व्यापारका साथै सोसँग सम्बन्धित उद्योग पनि सञ्चालन गर्दै आउनुभएका अग्रवाल नेपालमा उद्योगमैत्री वातावरण अभाव रहेकाले औद्योगिकीकरणले गति लिन नसकेको बताउनुहुन्छ ।
औद्योगिकीकरणबिना आयात प्रतिस्थापन हुन नसक्ने र आयात प्रतिस्थापनबिना मुलुक समृद्ध बन्न नसक्ने भएकाले औद्योगिकीकरणका लागि सरकारले नीतिगत स्थिरताको ग्यारेन्टी गर्नुपर्ने उहाँ बताउनुहुन्छ । त्यसैगरी जानकी केबुल इण्डष्ट्रिजका म्यानेजर राघबेन्द्र ठाकुर पनि सरकारले स्वदेशी उद्योगको संरक्षण, सम्वद्र्धन गर्न नसकेका कारण भएकै उद्योगहरू पनि समस्यामा पर्न थालेको बताउनुहुन्छ । आत्मनिर्भर भएका विद्युतीय उत्पादनको आयात निरुत्साहित गर्दै आफ्नो आवश्यक अन्य विद्युतीय उत्पादनलाई प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच