काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)ले भोलि राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको छ ।
प्रतिपक्षी दलहरूले सडकमा सरकारविरुद्ध विभिन्न कार्यक्रम गरिरहेका बेला सत्ता पक्षको प्रमुख दल एमालेले आफ्नो शक्ति प्रदर्शन गर्दैछ । एमालेले याे प्रदर्शनमा आफ्ना कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ ।
सत्तारुढ दल एमालेले जागरण सभा नाम दिएर गर्न लागेको ‘शक्ति प्रदर्शन’ कस्का लागि र किन ? भनेर चौतर्फी आलोचनासमेत भइरहेको छ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले लोकतन्त्र, विकास र सुशासनको पक्षमा जनतालाई सुसूचित गराउने उद्देश्यका साथ आमजनताको सहभागितामा शान्तिपूर्ण ढङ्गबाट जागरणसभा सम्पन्न गरिने बताउनुभयो ।
भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो संख्यामा मानिस उतार्ने एमाले तयारी छ । यो जनप्रदर्शनमा एमालेका जनवर्गीय संगठनहरू युवा संघ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसंगठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
यस्तै उपत्यका र आसपासका जिल्लाहरूबाट कार्यकर्ता ल्याउने उद्देश्यकै साथ बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई संयोजक र बागमती अध्यक्ष कैलाशप्रसाद ढुंगेल सहसंयोजक रहने गरी तयारी समिति गठन गरिएको थियो । गत २४ कात्तिकमा बसेको सचिवालय बैठकले जनसभाबारे निर्णय गरेको थियो ।
यद्यपि, भट्टराई आईसीएपीपीको अधिवेशनमा सहभागी हुन कम्बोडिया उडेपछि अहिले बागमती अध्यक्ष ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ ।
एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष ढुंगेलले भोलि काठमाडौंमा गर्न लागिएको जागरण सभा विभाजनकारी शक्तिका विरुद्ध भएको बताउनु भयो ।
शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम विखण्डनकारी शक्तिका विरुद्ध जनप्रदर्शन भएको उहाँको भनाइ छ ।
अराजकतावादीहरूको विरुद्ध एमालेले आफ्नो असलीरुप भोलिको कार्यक्रममा देखाउने उहाँले स्पष्ट पार्नुभयो। एमाले कमजोर भयो, पुराना पार्टीहरू सकिए भन्नेहरूले भोलिको कार्यक्रममा एमालेको शक्ति देख्ने उहाँले दाबी गर्नुभयो ।
‘अराजकतावादीहरूले संस्कृतिमा विभाजन, पार्टीमा विभाजन, समाजमा विभाजन र व्यवस्थामा विभाजन गरेर भाँडभैलो गर्ने काम भएको छ, यसलाई हामी भोलिको कार्यक्रमबाट चिर्छौँ’, उहाँले भन्नुभयो ।
भोलिको कार्यक्रममा एमाले, वर्तमान सरकार र प्रधानमन्त्री केपी ओली विरुद्ध गरिएका कुप्रचारको भ्रम चिरिने पनि उहाँले जिकिर गर्नुभयाे। जनतालाई सही सूचना दिनु राजनीतिक दलको कर्तव्य भएकाले भोलिको कार्यक्रममार्फत जनतालाई सूचना प्रवाह गरिने ढुंगेलले प्रष्ट पार्नुभयो ।
उक्त कार्यक्रमका लागि झण्डा ब्यानरसहितको जुलुस साढे ११ बजेबाट सुरू भई १२ बजे सभामा परिणत हुने बताइएको छ ।
काठमाडौंको भद्रकालीबाट -याली सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने भनिएकाे छ ।
सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ भने महासचिव शंकर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच