काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो । आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिकरूपमा विद्युत् उत्पादन सुरु गरिने रसुवागढी हाइड्रोपावरका प्रबन्ध सञ्चालक छवि गैरेले बताउनुभयो ।
टिमुरे (तातोपानी)स्थित विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत् उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।
उक्त विद्युत् चिलिमे-त्रिशूली र त्यहाँबाट त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । प्राधिकरणका अनुसार रसुवागढीबाट उत्पादित विद्युत््बाट हिउँदयाममा काठमाडौं उपत्यकामा हुने विद्युत् माग व्यवस्थापन सहज हुनेछ । सुक्खायाम सुरुसँगै भोटेकोशी नदीमा पानीको बहाव घट्न सुरु भइसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँदयाममा आयोजनाबाट करिब ३७ मेगावाटमात्र विद्युत् उत्पादन हुनेछ ।
इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा विद्युत््गृह, बा“ध, सुरुङलगायतका सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनस“ग ३० पुस २०७० मा ठेक्का सम्झौता भएको थियो भने इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि भारतसँग १५ साउन २०७१ मा ठेक्का सम्झौता भएको थियो ।
२०७२ सालको विनाशकारी भूकम्प तथा बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, हरेक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोरोना महामारीलगायतका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । आयोजनाबाट गत चैतसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखी सम्पूर्ण निर्माण सम्पन्न गरिएको थियो तर आयोजनाको विद्युत् जोडिने चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्न केही समय लागेकाले विद्युत् उत्पादनमा केही ढिलाइ भएको हो ।
प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख तय गरी सोही आधारमा ५० प्रतिशत स्वपुँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको थियो । आयोजना निर्माण अघि बढाउने समयमा मुख्यरूपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यनका कारण संशोधित अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ कायम गरिएको थियो । डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज करिब छ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३२.७९, प्राधिकरण १८, रसुवाका स्थानीय तहकोे ०.२१ प्रतिशत संस्थापक सेयर रहेको छ । आयोजनाले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो । आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १५.५, कम्पनीका संस्थापक संस्थाहरू अर्थात् प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारीको ४.५, आयोजना प्रभावित रसुवावासीको १० र सर्वसाधारणको १५ गरी ४९ प्रतिशत साधारण सेयर रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच