गाउँ-गाउँमा नव निर्वाचित सांसद : मतदातालाई धन्यवाद दिँदै खुसी साट्दै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित उम्मेदवारहरू गाउँ-गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् । निर्वाचित भएको भोलिपल्टदेखि नै विजयी उम्मेदवारहरू समय तालिका बनाएरै मतदाताको घर-घरमा पुगेका छन् ।

बागलुङ-१ बाट निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ-१ (१) मा विजयी बन्नुभएका दीपेन्द्रबहादुर थापा र बागलुङ–१ (२) बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर-घरमा धन्यवाद दिँदै पुगिराख्नुभएको छ । बागलुङ-१ (१) बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँ-गाउँ पुग्न थालेको बताउनुभयो ।

सांसद थापा भन्नुहुन्छ, ‘हामी भोट माग्न खेतबारीदेखि घरगोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरूलाई डिस्टर्ब पनि गर्‍यौँ होला, अब उहाँहरूलाई धन्यवादसहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ-गाउँमा पुग्दै छौँ, पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरूले सक्ने समाधान गरेरै छोड्छौँ ।’

थापाले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर-घरमा पुगेको बताउनुभयो । बागलुङमा मंसिर ७ गते नै प्रत्यक्षतर्फको मत परिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मंसिर ९ गतेदेखि १६ गतेसम्म मतदाता धन्यवाद कार्यक्रमको समय तालिका बनाएको भन्दै सोहीअनुसार आफूहरू गाउँ-गाउँमा पुग्ने बताउनुभयो ।

बागलुङ–१ बाट निर्वाचित चित्रबहादुर केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताउनुभयो । केसीले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताउनुभयो । ‘अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरूको समस्या पहिले जस्तो थियो अहिले पनि उस्तै छ,’ केसीले भन्नुभयो, ‘हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ ।’

बागलुङ-२ (२) बाट निर्वाचित द्रोणकुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसद्मा समेत उनीहरूको आवाज बुलन्द गर्ने बताउनुभयो । उहाँले पश्चिम बागलुङ विगतदेखि नै पिछडिएको हुँदा यहाँका समस्याहरू समाधानका लागि आफू लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

कुँवर भन्नुहुन्छ, ‘मैले पश्चिम बागलुङको समस्या राम्रोसँग बुझेको छु, सबै गाउँ-गाउँमा पुगेको छु, त्यहाँका गरिब, दुःखी, दलित र जनजातिका समस्या बुझेको छु, म भोट माग्नमात्रै होइन, पहिले पनि गाउँ–गाउँमा पुगेको छु, अहिले पनि सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी म बस्ती-बस्तीमा पुगिरहेको छु ।

कुँवरले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाका सबै बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने र खुसी साट्ने गरी कार्यक्रम तय गरेको बताउनुभयो । बागलुङ-२ (१) बाट निर्वाचित कांग्रेसका बागलुङ सभापति जितबहादुर शेरचन पनि मतदातालाई भेट्दै र धन्यवाद दिँदै गाउँ–गाउँमा पुग्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?