काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्धक रवि लामिछानेले सहकारीलाई चेक काटेर रकम दिएको फेला परेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आउनुभएका लामिछानेको हस्ताक्षर सहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको प्रहरीले फेला पारेको हो । सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि हिरासतमा रहनुभएका लामिछानेले काटेको चेकलाई प्रहरीले बलियो प्रमाण मानेको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीलाई तिरेको ४० लाख ४२ हजार रुपैयाँको चेकमा रविको हस्ताक्षर भेटिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसबारे उहाँसँग सोधपुछ र बयान लिने कामसमेत भइसकेको छ ।
सहकारी ठगीको अभियोगमा उहाँको संलग्नता पुष्टि गर्ने महत्वपूर्ण प्रमाण भएको प्रहरीको दाबी छ । तर, लामिछानेले भने यसमा पनि इन्कारी बयान नै दिनुभएको छ । लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गर्नुभएको प्रहरी स्रोत बताउँछ । ‘ड्रयरमा राखेका बेला अरू कसैले चेकमा नाम लेखेर पठाएको हुनसक्ने रविले बयान दिनुभएको छ । स्रोतका अनुसार रविको बैंक खाता केलाउँदा शंकास्पद तथ्यहरू फेला परेका छन् । गृहमन्त्री हुनुअघि नै रविको बैंक खातामा शंकास्पद रकम जम्मा भएको र निकालेको देखिएको प्रहरी स्रोतको दाबी छ । सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उहाँलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । काठमाडौंबाट पक्राउ पर्नुभएका उहाँलाई त्यसै राति कास्की पु¥याइएको थियो । उहाँ एक महिना बढी समयदेखि कास्की प्रहरीकै हिरासतमा हुनुहुन्छ ।
चार जिल्लामा पक्राउ पुर्जी
सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ पर्नुभएका रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइ लम्बिँदै गएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री लामिछानेको हिरासत बसाइ मात्रै लम्बिएको छैन अनुसन्धानको क्षेत्र र जिल्ला दौडाहा पनि बढिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ पर्नुभएका लामिछानेलाई कास्कीसँगै रुपन्देही ल्याएर प्रहरीले बयान लिइसकेको छ । सहकारी ठगी प्रकरणमा रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएपछि उहाँको बयान लिइएको थियो ।
उहाँलाई अब काठमाडौंसमेत ल्याएर बयान लिने तयारी छ । जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । उहाँलाई फेरि चितवन लैजाने तयारी पनि छ । कास्कीमा मुद्दा दर्ता हुनुअघि नै चितवन प्रहरीले बयानका लागि लैजाने तयारी गरेको हो । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पूरक जाहेरी लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले चितवनको पनि बयान सकियो भने एकैपटक मुद्दा दर्ता गर्न सहज हुनेगरी गृहकार्य थालेको हो । प्रहरीले जिल्ला अदालत चितवनबाट शुक्रबार लामिछानेलगायत पूरक जाहेरी दर्ता भएका सबैलाई हिरासतमा लिनको लागि नै पक्राउ पुर्जी लिइसकेको छ । लामिछानेविरुद्ध चितवनमा समेत सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि गत शुक्रवार पक्राउ गर्न अदालतले अनुमति दिएको थियो । त्यसअघि गत आइतबार काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको थियो ।
साहारा सहकारीबाट रकम गएका पाँचवटा संस्थाका १० जनाविरुद्ध किटानी जाहेरी परेको थियो । कास्की अदालतमा मुद्दा दर्ता हुनुअगावै अनुसन्धानको लागि चितवन ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ । सम्पत्ति शुद्धीकरण र संगठित अपराध दुवै जाहेरी लामिछानेमाथि भएकोले प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यसरी हालसम्म चार जिल्लाबाट उहाँविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
एउटा जिल्लामा हिरासतमा राख्ने अनुमति हुँदाको म्याद लिएको अवधिभित्र अन्यत्रसमेत लगेर बयान लिनुपरेको प्रहरीले जनाएको छ । प्रतिनिधि सभामा चौथो ठूलो दल रास्वपाले लामिछानेलाई हिरासतबाहिरै राखेर गर्न सकिने अनुसन्धानमा राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखेको आरोप लगाउँदै आएको छ । उहाँ गोरखा मिडियाको प्रबन्धक रहँदा यी जिल्लाका सहकारीबाट रकम लिएर अपचलन गरेको उहाँमाथि आरोप छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछानेमाथि छ । पोखराको सूर्यदर्शन सहकारीबाट करिब पाँच करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेललगायत विरुद्ध उजुरी परेको छ ।
संसदीय छानविन विशेष समितिले पनि उनीहरूलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिश गरेको थियो । समितिको सिफारिशलगत्तै रवि र छविलाल जोशीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जिबी फरार छन् । चितवनको साहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप रवि लामिछानेलाई छ । कास्की प्रहरीले रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
गोरखा मिडियामा रहँदा रविका पार्टनर पूर्व-डिआइजी एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा छविलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिएर कास्की पठाइएको छ । कास्की हुँदै सुप्रिम सहकारी रहेको रुपन्देही, सानो पाइला सहकारी रहेको वीरगञ्ज, सहारा सहकारी रहेको चितवन र स्वर्णलक्ष्मी सहकारी रहेको काठमाडौंमा पनि रविमाथि अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ । यी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पुगेको देखिन्छ ।
थप १५ दिन हिरासतमा राख्न अनुमति
रास्वपा सभापति लामिछानेलाई हिरासतमा राख्न थप १५ दिनको म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश भीमलाल बेल्बासेको इजलासले आइतबार रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि सात दिन, १० दिन र १३ दिन म्याद थप गरिएको थियो ।
आइतबार सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गर्नुभएको थियो । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गर्नुभएको थियो । सरकारी वकिल र पीडिततर्फका कानुन व्यवसायीले अनुसन्धानको प्रक्रिया जारी रहेको, तथ्य प्रमाण बुझ्ने काम बाँकी रहेको, विभिन्न कागजात आइनपुगेकोले म्याद थप गर्नुपर्ने तर्क गरेका थिए । लामिछानेका कानुन व्यवसायीले प्रमाणबिना नै लामिछानेलाई म्याद थप गर्नुपर्ने कुनै प्रमाण नरहेको दोहोर्याएका थिए ।
दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । उहाँका छोरा निराजनले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईंसहित दुर्गालाई पक्राउ गर्नुको कारण लिएर उपस्थित हुन आदेश दिएको हो । बन्दी पनि सर्वोच्चमा उपस्थित गराउन भनिएको हो । प्रसाईँले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा दोस्रोपटक मंसिर ४ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी ओलीविरुद्ध अफवाह फैलाएपछि प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच