भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ र आधुनिक भवन शिलान्यास भएको छ । सोमबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गर्दै अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अस्पतालले भक्तपुर र आसपासका विकट क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मन्त्री सिंहले भन्नुभयो, ‘नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताल सानो क्लिनिकका रूपमा सुरु भएको थियो । अब यो अस्पताल आधुनिक सुविधासहित विस्तार हुँदैछ । यसले स्थानीय नागरिकमात्र होइन, उपत्यकाका विकट क्षेत्रका बिरामीलाई पनि सेवा उपलब्ध गराउनेछ ।’ उहाँले स्वास्थ्यप्रति सचेत रहन र समयमै स्वास्थ्य परीक्षण गराउन नागरिकहरूलाई आग्रह गर्नुभयो । नगरप्रमुख सुरेन्द्र श्रेष्ठले कोइकाले यसअघि पनि अस्पताल विस्तारका लागि ८.५ मिलियन अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको स्मरण गर्दै पछिल्लो सहयोगले अस्पताललाई अझ प्रभावकारी र सुविधासम्पन्न बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख विजय श्रेष्ठका अनुसार नयाँ भवन निर्माणपछि अस्पताल भक्तपुर, काभ्रे, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका नागरिकका लागि रेफरल अस्पतालका रूपमा विकसित हुनेछ । अस्पतालले आर्थिकरूपमा कमजोर वर्गका नागरिकलाई समेत गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण योगदान दिनेछ । उहाँले भन्नुभयो, ‘कोइकाको सहयोगमा बन्न लागेको यो आधुनिक भवनले आधुनिक प्रविधिसहितका स्वास्थ्य उपकरण र विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । यसले विकट क्षेत्रका नागरिकको स्वास्थ्यमा सुधार ल्याउनेछ ।’
नेपालस्थित दक्षिण कोरियाका राजदूत ताइयोङ पार्कले नयाँ भवनले नेपाल-कोरिया सम्बन्ध थप मजबुत बनाउने र अस्पतालले आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस अस्पतालले दुर्ई देशबीचको सहकार्य र साझेदारी अझ मजबुत बनाउँदै स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गर्नेछ ।’ कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कोङ्गले अस्पतालले स्थानीयस्तरमा मात्र नभई क्षेत्रीयरूपमा पनि गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्ने बताउनुभयो । कार्यक्रममा सांसद दुर्लभ थापा, स्थानीय जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने सोही अवसरमा अस्पताल भवनको उत्कृष्ट डिजाइन गर्ने जेके एसोसियट्सलाई उपप्रधानमन्त्री सिंहद्वारा प्रशंसापत्र प्रदान गर्नुभएको थियो । दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुने भवनका लागि करिब ९.५ मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब २८ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले प्रोजेक्टका लागि आर्थिक सहयोग गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच