माघ १० देखी २१ सम्म प्रथम सरावल व्यापार मेला हुने 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको सरावलमा प्रथम कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला २०८१ भएको छ । सरावल उद्योग बाणिज्य संघको आयोजनामा सरावल गाउँपालिका वडा नं. १, बासाचोकमा माघ १० गतेदेखि २१ गतेसम्म ११ दिनसम्म मेला आयोजना हुने भएको छ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीकाअनुसार मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ऐतिहासिक स्थलहरूको पहिचान र सरावलको सांस्कृतिक धरोहरको जगेर्नामा सहयोग पुग्ने उल्लेख गर्नु भयो । 'मेलाले सरावलको पहिचान बढाउने र चिनाउने अपेक्षा राखेको छु', अध्यक्ष चौधरीले भन्नु भयो ।

करिब १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा करिब ६ करोड रुपैयाँको आर्थिक  कारोवार हुने लक्ष्य राखिएको सरावल उद्याेग बाणिज्य संघका अध्यक्ष सुसान्त घिमिरेले बताउनु भयो । मेलाको व्यवस्थापनका लागि करिब ५० लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।

मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शन, “मम्मी डान्स” प्रतियोगिता, टोल विकास संस्थाहरूबीच खेलकुद प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, बाल उद्यान र झुलाहरू राखिने आयोजकले जनाएको छ । मेलामा प्रवेशका लागि ८० रुपैयाँ टिकट राखिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ र ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू: निःशुल्क प्रवेशको ब्यवस्था मिलाउने संघले जनाएको छ ।

मेलाले सरावलभित्रका उत्पादनहरूको बजारीकरण र भाषा, कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। मेलाबाट आएको आम्दानीको ५% स्थानीय क्षेत्रको पर्यटन विकासमा लगानी गरिने अध्यक्ष घिमिरेले उल्लेख गर्नु भयो ।

"कृषि, पर्यटन, खेलकुद तथा पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार" भन्ने मुख्य नाराका साथ मेला आयोजना गरिएको संघका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । मेलामा अटोमोबाइल्स, बहुराष्ट्रिय कम्पनीका जुत्ता चप्पल, बैंक तथा बीमा कम्पनीहरू, महिला उद्यमीका उत्पादनहरू, र घरेलु उत्पादनहरूका स्टलहरु समावेश हुने उद्योग बाणिज्य संघका सचिब एब स्टल सयोजक देवराज राय थारुले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?