काठमाडौं । काठमाडौंको रिङरोडको व्यस्त सडकमा दैनिक सयौँ सवारीसाधन चल्छन् । सयौँ सवारीमा हिँड्ने हजारौँ मानिसलाई सहज बनाउन ललितपुरको ग्वार्कोमा फ्लाई ओभर बन्दै छ । ‘फ्लाई ओभर’को काम अन्तिम चरणमा पुगेको छ । तर, तोकिएकै समयमा भने काम नसकिने देखिएको छ । २०७८ फागुन १२ मा ठेक्का लागेको फ्लाई ओभरको काम थप गरिएको अवधिमा समेत नसकिने देखिएको हो । आयोजनाको थप भएको अवधि आगामी ८ पुससम्म छ । तर, पुस ८ अगावै सम्पूर्ण काम नसकिने देखिएको हो । ११ फागुन २०८० मा निर्माण सम्पन्न हुनेगरी सुरुमा ठेक्का सम्झौता भएको थियो । सुरुमा सम्झौताको दुई वर्षभित्र काम सक्नेगरी निर्माण अवधि तोकिएको थियो तर, समयमै नसकिएपछि २०८१ असारभित्र सम्पन्न गर्नेगरी म्याद थप गरिएको थियो । तर, त्यसमा पनि नसकिएपछि आगामी पुस ८ सम्म सक्नेगरी म्याद थप भएको थियो ।
आयोजनाका अनुसार पुल निर्माणको काम ९८ प्रतिशत सकिएको छ । तर, अप्रोच सडकको पाँच सय मिटर काम अझै बाँकी छ । यसबाहेक कालोपत्रसमेत हुन बाँकी छ । आयोजनाको काम आशिष-समानान्तर-रेलिगेर जेभीले गरिरहेको छ । ग्वार्को फ्लाई ओभरअन्तर्गत ३० मिटर स्पानसहित चार लेनको पुल निर्माण हुँदै छ । यसबाहेक पाँच सय मिटर लामो अप्रोच सडक बन्नेछ । जसमा बालकुमारी र सातदोबाटोबाट ¥याम बनाइएको छ । जसमा अब रेलिङ, पेभमेन्ट र रङरोगनको काम बाँकी छ । एमएसई वालसहित अप्रोच सडकअन्तर्गत कोटेश्वरतर्फ ३२० मिटरमध्ये २५६ मिटरको मात्र काम भएको छ । सातदोबाटोतर्फ १८० मिटरमध्ये १२० मिटर जडान सम्पन्न भइसकेको आयोजनाको प्रगति विवरणमा उल्लेख छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार ठेकेदार कम्पनीले पुससम्म तीव्र गतिमा काम गर्दा पनि नसकिने जनाएको छ । तर, आगामी चैतसम्म काम सक्ने कम्पनीको दाबी छ ।
आयोजनाको वित्तीय प्रगति भने ४५.५४ प्रतिशत पुगेको छ । कुल १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा ठेक्का लागेको ग्वार्को फ्लाई ओभरको अहिलेसम्म सात करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ खर्च भएको छ । चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाई माथि उठाएर फ्लाई ओभर बनाइएको हो ।
समयमै सक्न ताकेता
ग्वार्को फ्लाई ओभरको काम समयमै सम्पन्न गर्न सरकारले ताकेता गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आयोजना ठेक्का अवधिभित्रै सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो । कात्तिक आन्तिम साता आयोजनाको स्थलगत अनुगमनमा पुग्नुभएका उहाँले समयमै काम सक्न निर्देशन दिनुभएको थियो । पूर्वाधार र विकास आयोजनामा ढिलासुस्ती सहृय नहुने उहाँले बताउनुभएको थियो । फ्लाई ओभरको फेरि थपिएको म्याद आगामी पुस ८ मा सकिँदै छ । ३० मिटर स्पानको चार लेनको पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष-समानान्तर-रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ । पुल निर्माणको कार्य ९८ प्रतिशत सकिएको कम्पनीले जनाएको छ । त्यस्तै, पहुँच सडकलगायत अन्य निर्माण कार्यसमेत अन्तिम चरणमा रहेको बताएको छ ।
दुईटा अन्तिम चरणमा, थप दुई बनाउने योजना
सरकारले चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा नियन्त्रण गर्न ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर परियोजना सुरु गरेको थियो । फ्लाई ओभर निर्माणका लागि २०७८ माघमा निर्माण कम्पनी आशीष-समानान्तर-रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको थियो । त्यस्तै, काठमाडौंको नागढुंगा बलम्बु-सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा पनि फ्लाई ओभर पुल निर्माण कार्य भइरहेको छ । जसको काम पनि अन्तिम चरणमा छ । सरकारले चालु आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि फ्लाई ओभर निर्माण गर्ने उल्लेख गरेको छ ।
ट्राफिक जाम न्यूनीकरण हुने अपेक्षा
ग्वार्को फ्लाई ओभर ४९० मिटर रहनेछ । जहाँ बालकुमारी तर्फबाट २८० मिटर लामो ¥याम र सातदोबाटो तर्फबाट १३५ मिटर लामो ¥याम रहनेछ । फ्लाई ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६ मिटरको रहनेछ । हाल चक्रपथ आठ लेनको रहेको छ । त्यसको बीचमा चार लेनलाई फ्लाई ओभरमार्फत माथि उठाइएको छ । जहाँ चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । निर्माणाधीन यो फ्लाई ओभर’ हालसम्म कोटेश्वरतर्फ ३२० मिटरमध्ये २५६ मिटर जडान सम्पन्न भएको छ भने सातदोबाटोतर्फ १८० मिटरमध्ये १२० मिटर जडान सम्पन्न भएको छ । एप्रोच सडकको ५ सय मिटर काम अझै बाँकी छ भने यसबाहेक कालोपत्र हुन बाँकी छ ।
फ्लाई ओभर सम्पन्न भएपछि मंगल बजारबाट ग्वार्को, लुभु–लामाटार इमाडोल जाने र ग्वार्को इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी पुलमुनिबाट चल्नेछन् । फ्लाई ओभरबाट चक्रपथतर्फ जाने सवारीसाधन चल्नेछन् । जसकारण धेरै हदसम्म जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
फ्लाई ओभर निर्माण अवधिभर ट्राफिक व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक डाइभर्सनको व्यवस्था गरेको छ । निर्माण अवधिभर कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाउने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई भने ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेनबाट सञ्चालन भइरहेको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने सवारी साधनलाई सर्भिस लेनमा र साना चारपांग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच