काठमाडौं । गत कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक प्रकरणले हंगामा भएको छ । पूर्व-गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछाने हिरासतमा सुतिरहेको तस्बिर बुधबार साँझ सामाजिक सञ्चालमा भाइरल भयो । बुधबार साँझ रास्वपाका सह-कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोष्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न तेर्साए । सिसिटिभीको उक्त तस्बिर प्रहरीले नै कसैलाई पठाएको दाबी गर्दै बोहराले उक्त तस्बिर कुन उद्देश्यका लागि सार्वजनिक गरियो ? भन्दै प्रश्न गर्नुभयोे । उहाँले लेख्नुभएको थियो, ‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सिसिटिभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनुपर्ला ।’
फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न कोणमा बहस सुरु भयो । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न पनि उठाए । बिहीबार बिहान फेसबुक लाइभमा आउनुभएका सह-कोषाध्यक्ष बोहराले उक्त तस्बिर रविकै भएको दाबी गर्नुभयोे । तर, लामिछानेको उक्त तस्बिर रास्वपा समर्थक डा.निकोलस भुसालले नै सार्वजनिक गरेको खुलासा भयो । भुसाल आफैँले सो तस्बिर आफूले नै खिचेको स्वीकार गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘तस्बिर मैले नै खिचेको हो । नराख्नुपर्ने रहेछ, गल्ती भयो । रवि दाइको अवस्था राम्रो छ, चिन्ता लिनुपर्दैन भनेर सन्देश दिनका लागि राखेको, अनर्थ भयो । त्यसैले हटाएँ ।’ भुसालले रवि लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आउनुभएको छ । भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’का लागि जुट्न आहृवान गर्दै सामाजिक सञ्जालमा एक पोष्ट गर्नुभएको थियो । उहाँले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आहृवान गरेको पोष्टरसहित रविको उक्त भाइरल तस्बिर हाल्नुभएको थियो । कास्की प्रहरी स्रोतका अनुसार केही दिनअघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुग्नुभएको थियो ।
हिरासत भित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानविन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । मन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिँदै भन्नुभयो, ‘यो विषयमा छानविन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु । हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दै छ ।’
भुसाल सहितकालाई कारबाही गर्ने प्रहरीको तयारी
जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसालसहित फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई नकारात्मक प्रभाव पार्नेगरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको हो । प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने उल्लेख गरेको छ । विज्ञप्तिमार्फत प्रहरीले भनेको छ, ‘गोपनीयता कायम गर्नुपर्ने तस्बिर प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिनेछ । नेपालको संविधान एवं प्रचलित ऐन कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौँ ।’
सुरक्षामा प्रश्न !
रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक भएसँगै सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा भएको छ । सामाजिक अभियन्ता दाबी गर्ने निकोलस भुसालले उक्त तस्बिर आफूले खिचेको सामाजिक सञ्जाल फेसबुकमार्फत नै दाबी गर्नुभएको छ । पछि फेसबुकमा लाइभमा आउँदै उहाँले उक्त तस्बिर आफूले सिसिटिभी फुटेजबाट लिइएको खुलाउनुभएको छ । भुसालले भनेजस्तै उक्त तस्बिर सिसिटिभी फुटेजबाट लिएको देखिएको पनि प्रहरीको आन्तरिक छानविनले देखाएको छ । तस्बिर लिइएको सिसी क्यामेराको निगरानी कन्ट्रोल रुमबाट गरिएको हुने प्रहरी स्रोतको भनाइ छ । कन्ट्रोल रुममा वरिष्ठ सई र सञ्चार शाखाको निगरानीमा हुन्छ । त्यहाँ २४सै घण्टा ‘अन ड्युटी’ हुन्छ । उक्त फोटो कन्ट्रोल रुममा गएर डेक्सटपबाट खिचिएको खुलेको छ । प्रहरीको २४सै घण्टा निगरानीमा हुने उक्त कन्ट्रोल रुमसम्म पहुँच पुर्याएर हिरासतको फोटो खिच्नु र त्यो बाहिरिनुलाई सुरक्षा अधिकारीहरूले सुरक्षामा गम्भीर कमजोरी भएको बताउँछन् । प्रहरीको सुरक्षा घेराभित्र रहेको र हिरासतजस्तो संवेदनशील ठाउँको फोटो बाहिरिनु सुरक्षाको दृष्टिकोणले राम्रो नभएको जानकारहरूको जिकिर छ ।
रविविरुद्ध आज अदालतमा मुद्दा अभियोजन गरिँदै
रास्वपा सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज (शुक्रबार) अदालतमा अभियोजन गर्दै छ । मिसिल अध्ययन र अभियोगपत्र तयार पार्न भन्दै चार दिनको समय राखिएको थियो । उक्त समय आज सकिँदै छ । सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मिसिल आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । सरकारी वकिल कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दै छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ । झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उहाँका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्व-डिआइजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेस गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच