काठमाडौं । संसद्का सबैभन्दा ठूला दुई दल मिलेर सरकार बनेको ६ महिना पुग्नै लाग्दा पनि न्यूनतम साझा कार्यक्रमका उपलब्धि हासिल हुन सकेका छैनन् । सात बुँदे सहमतिको जगतमा नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान गठनबन्धन सरकारको साझा संकल्प तय गरेका थिए । सो संकल्पअनुसार सरकारले काम गर्न नसकेकोमा सत्तारूढ कांग्रेसभित्रबाटै आलोचना सुरु हुन थालेको छ । सात बुँदे सहमतिदेखि साझा संकल्प निर्माणसम्म सक्रिय रहनुभएका कांग्रेस महामन्त्री गगन थापा आफैँ सरकारको कामबाट सन्तुष्ट हुनुहुन्न । उहाँले सार्वजनिक रूपमै वर्तमान सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको बताइसक्नु भएको छ । ‘कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बनेपछि जुन आशा र अपेक्षा थियो त्योअनुसार काम हुन सकेको छैन । डेलिभरी हुन सकेको छैन’ महामन्त्री थापाले एक कार्यक्रममा भन्नुभयो । वर्तमान सरकारको विकल्प नदेखिए पनि जनतालाई आशा जगाउनेगरी काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
कांग्रेसभित्र सरकारमा सहभागी मन्त्री बाहेकका सबैजसो नेता सरकारको कामबाट सन्तुष्ट छैनन् । कांग्रेसका मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयमा उपलब्धिका सूची सार्वजनिक गरे पनि कांग्रेसकै केन्द्रीय नेताहरू मन्त्रीको दाबी पत्याउन तयार छैनन् । सभापति शेरबहादुर देउवासम्मले केही दिनअघि सार्वजनिक समारोहमा सरकारले विस्तारै राम्रो काम गरिरहेको बताउनुभएको थियो । त्यसबाहेक कांग्रेस नेताहरूले सार्वजनिक मञ्चमा सरकारको पक्षमा बोलेको समेत पाइँदैन ।
कांग्रेस नेता डा.शेखर कोइरालाले सरकारले मूल मुद्दामै ध्यान केन्द्रित गर्न नसकेको बताउनुभयो । धनगढीमा केही दिनअघि पत्रकारसँग कुराकानीकै क्रममा नेता कोइरालाले संविधान संशोधनको मुख्य एजेण्डामा काम हुन नसकेको उल्लेख गर्नुभयो । ‘यो सरकार संविधान संशोधनसमेत गर्नेगरी बनाइएको हो । त्यतातिर त काम भएको छैन’, कोइरालाको भनाइ छ । उहाँले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै जनताले अनुभूति गर्नेगरी सरकारले काम गर्न अझै बाँकी रहेको बताउनुभयो ।
कांग्रेस एमालेबीच भएको सात बुँदे सहमतिको पहिलो बुँदामा सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने भनिए पनि सुरुदेखि नै त्यसमा कुनै पहल भएन । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा जस्ता दलहरूको समर्थन नहुँदा ओली सरकार सहमतिको सरकार बन्न सकेन । सहमतिको दोस्रो बुँदामा संविधानको अभ्यास अनुभवका आधारमा संशोधनका लागि आवश्यक काम गर्ने भनिए पनि हालसम्म कुनै औपचारिक प्रयत्न भएको छैन । तेस्रो बुँदामा अर्थतन्त्रको शिथिलता अन्त्य गरी पर्याप्त रोजगारी सिर्जना गर्ने उल्लेख छ । दुईतिहाइ समर्थनको सरकार बने पनि हालसम्म आर्थिक क्षेत्रमा अपेक्षित सुधार देखिएको छैन । सात बुँदे सहमतिका अन्य विषयहरू राजनीतिक र भागबण्डासँग सम्बन्धित छन् । सरकार गठनको लामो समयपछि कांग्रेस र एमालेले आठवटा बुँदामा समेटिने गरी सरकारको साझा संकल्प तयार पारे । अहिलेसम्म सो संकल्प अनुसारका पनि अधिकांश काम अधुरै छन् ।
साझा संकल्पमा स्वतन्त्र परराष्ट्र नीतिलाई पहिलो बुँदामा समेटिए पनि सरकार कूटनीतिक रूपमा सफल हुन अझै संघर्षरत छ । प्रधानमन्त्रीले उत्तरी छिमेकी चीनको भ्रमण गरे पनि दक्षिण छिमेकी भारतको भ्रमणको साइतसमेत नजुर्दा कूटनीतिक प्रयत्न अपुग भएको देखिन्छ । साझा संकल्पमा संविधानको रक्षा, कार्यान्वयन र संशोधनको सन्दर्भ उल्लेख भए पनि त्यसका लागि उल्लेखनीय प्रयत्न भएको छैन । यहीकारण सत्तारूढ कांग्रेसकै नेताहरू गठबन्धन सरकारको कामप्रति असन्तुष्ट देखिन्छन् ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर एमाले नेतृत्वको सरकारले कांग्रेससँगको सहमतिअनुसार काम गर्न नसकेको बताउनुहुन्छ । दुई ठूला दल मिल्दा सरकारले धेरै काम गर्नुपर्नेमा जनतामा अझ निराशा बढाएको उहाँको भनाइ छ । ‘सरकार गठन भएको ६ महिना पुग्न लाग्दा पनि गठबन्धनको स्पिरिटअनुसार चल्न सकेको छैन । कांग्रेसका एजेण्डालाई त सरकारले पूरै बेवास्ता गरेको छ’, महरको भनाइ छ । उहाँले पार्टीको सयदिने अभियानलगत्तै सरकारबारे पर्याप्त समीक्षा हुने बताउनुभयो । ‘अहिले सयदिने अभियानमा कांग्रेस केन्द्रित छ । जनताका कुरा सुनिरहेका छौँ । पुस १६ गतेपछि सरकारबारे समीक्षा गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।
कांग्रेस र एमालेको सहकार्यको विकल्प नभए पनि कार्यशैली सुधार हुनुपर्नेमा अधिकांश कांग्रेस नेताहरूको समान धारणा छ । कांग्रेसको नियमित बैठक बस्नसमेत नसकेका कारण सरकारको कामबारे पर्याप्त समीक्षा नभएको हो । अर्कोतिर सभापति देउवाले ओलीपछि आफू प्रधानमन्त्री बन्नुपर्ने भएकाले सरकारप्रति चाहिनेभन्दा बढी नरम नीति लिएको आरोप पनि छ । ‘सरकारले काम गर्न नसकेको कुरा सबैभन्दा बढी हाम्रो सभापतिलाई थाहा छ तर बोल्दा भोलि पाउने प्रधानमन्त्री पद नपाइने हो कि ? भन्ने चिन्ताले पनि कांग्रेस चुपचाप छ’, कांग्रेसका एक नेताको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच