हुम्ला । हिमाली जिल्ला हुम्लामा पुन: दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दुरीको हवाई सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरुद्ध हुन पुगेको हो ।
मङ्गलबार विहान पनि हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरुद्ध हुन पुगेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका जहाजले हुम्लामा हिमपातका साथै मौसम खराब हुँदा आफ्नो उडान भर्न नसकेको नागरीक उड्यन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन सिंहले बताउनुभयो ।
नेपालगञ्जदेखि निजी जहाज समिट, सीता र ताराका साथै सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो उडान भर्दै आएका थिए । मङ्गलबार जिल्लाको मौसम खराब हुँदा यि जहाजले आफ्नो उडान गर्न नसकेको बताइएको छ ।
यस्तै सदरमुकाम सिमकोटदेखि चल्दै आएका सवारी साधन समेत अवरुद्ध भएका छन् । हिमपातले सिमकोटदेखि खार्पु, उत्तरी हिल्सा लगायतका गाउँमा पुग्ने सडकमा हिउँले आवतजावतमा समस्या हुने भएपछि सवारी साधन समेत आवतजावतमा रोकिएका छन् । यस्तै जिल्लाका दक्षिण भेगमा समेत सवारी साधनले आवतजावत गर्न नसकेको बताइएको छ ।
सोमबार दिउँसो मौसम सफा रहेपनि रातिदेखि फेरबदल हुँदा जिल्लामा हिमपात सुरु भएको हो । सोमबार राति साढे तीन बजेदेखि हिमाली जिल्ला हुम्लाको सिमकोट आसपाससहित उत्तरी भेगमा हिमपात भएको हो । सदरमुकाम सिमकोटमा मंगलबार विहानसम्म दुई इन्चसम्म हिउँ जमेको थियो ।
उत्तरी नाम्खा गाउँपालिका सहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ । जिल्लामा हिमपातसँगै चिसो अत्येधिक बढेको छ । चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको छ ।
हिमपातले उत्तरी नाम्खा सहित सिमकोटको जनजीवन थप प्रभावित बनाएको छ । चिसोले यहाँका नागरीकलाई दैनिक जीवनमा कष्टकर बनाएको छ । साथै सदरमुकाम सिमकोटमा दैनिक सेवाग्राहीको भिडभाड हुने कार्यालय मंगलबार सुनसान देखिएका थिए ।
हिमपातका साथै चिसोले सेवाग्राहीको उपस्थित हुन नसकेको बताइएको छ । चिसामा काम गर्न समेत थप समस्या बनाएको बताइएको छ ।
नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चाला लगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ । उत्तरी भेगको तापक्रम माइनस दश डिग्री पुगेको बताइएको छ । जिल्लाको दक्षिण भेगमा भने हावाहुरीका साथै वर्षा भएको जानकारी प्राप्त भएको छ ।
जिल्लामा दोस्रो पटक हिमपात हुँदा बालबालिका, वृद्धवृद्धा बालबालिका लगायतका सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आग्रह गर्नुभएको छ । हिम पहिरो खस्ने आसपासका वस्तिमा समेत सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच