✍️ विमल भौकाजी
दाल-भात खाएको सबैले देख्न सक्छन् । देखाएर खान सकिन्छ । तर, खान नहुने खान नसकिने चीज खानुपर्यो भने त्यसलाई देखाएर खान मिल्दैन । त्यसैले, एउटा प्रश्नले बारम्बार मलाई घोचिरहन्थ्यो-यस्ता चीजलाई कसरी खान सकिएला ? यसरी, यो प्रश्नले मलाई घोचिरहनुको कारण के थियो भने धेरै त्यस्ता खान नहुने वस्तुहरू मान्छेले खाएको मैले प्रायः देख्ने गरेको थिएँ । जस्तो कि-सिमेन्ट । त्यस्तै गरेर, इँटा पनि खाएको मैले देखेको थिएँ । अनि जुत्ता पनि, धागो पनि, कपडा पनि । फेरि त्यतिमा मात्रै सीमित होइन, यस्ता उत्पादन हुने सिंगो कारखाना नै खल्र्लप्पै खाएको देखेको थिएँ । नामै दिएर भन्ने हो भने, कसैले हिमाल सिमेन्ट कारखानाखाए, अर्काले हरिसिद्धि इँटा कारखाना खाए । फेरि, कसैले बाँसबारी छाला जुत्ता कारखाना खाए ।
अर्काले भृकुटी कागज कारखाना खाए भने कसैले गोरखकाली रबर उद्योग खाए । फेरि कसैले बालाजु कपडा उद्योग खाए भने अर्काले हेटौँडा कपडा उद्योग खाए । यस्तोमा, चिनी या चुरोटमात्रै खानु त असामान्य थिएन तर जनकपुर चुरोट कारखाना या चिनी कारखानै खाइदिए । खाने क्रमले यतिसम्म सीमा नाघ्यो कि सिंगासिङ्गै ट्रलिबस पनि खाए र त्यसको दायरा बढ्दै गएर अन्ततः ट्रलीबस कम्पनी नै सिंगै खाएर सकिदिए ।
जब मान्छेजस्ता सामान्य प्राणीले पनि यस्ता कारखाना-कम्पनी खाएको देख्थेँ मैले, पहिले-पहिले त छक्कै पर्ने गर्र्थें । तर, धमाधम एकपछि अर्कोलाई खाएको देखेपछि तब मलाई विश्वस्त हुन करै लाग्यो कि- खान नहुने/नसकिने वस्तु पनि तरिका मिलाएर खान जान्ने हो भने खान मिल्ने रहेछ । झन् बानी परेपछि तमज्जाले खान सकिने रहेछ । लुकाएर-छुपाएर होइन, देखादेखी-हाक्काहाक्की खान सकिने रहेछ । त्यसरी खाँदा, चपाइरहनै नपर्ने, घुटुक्क निलेपछि कुरै खत्तम ।
जापानले नयाँ ‘प्रोडक्ट’ बजारमा ल्याएको छ-नयाँ किसिमको वासिङ मेसिन । यस मेसिनमा कपडा होइन मान्छेलाई नै धुन सकिन्छ । यसको अर्थ, जुनसुकै मान्छेमा जस्तोसुकै दाग लागोस् ! बल गरेर जतिसुकै मेट्न नसकिएको किन नहोस् यो वासिङ-मेसिनमा त्यस्ता दागी मान्छेलाई हालिदिएपछि चमत्कारै हुन्छ ।
खाने-निल्ने कुरो त यतिसम्म भयो तर अर्को प्रश्न थियो मेरो मनमा-खान त खाए खाए त्यस्ता ‘हेभी’-चीजहरू, तर पचाउने कसरी होला ? कारखाना-कम्पनीहरू यसरी घुटुक्कै निल्ने त्यस्ता मान्छेलाई देख्नासाथ मलाई लाग्थ्यो-त्यस्ता वस्तुलाई पचाउन सक्ने त्यस्ता मान्छेहरूको पेटभित्रको मेशिन कति तगडा होला ! अझ, त्यसभन्दा पनि पहिले त्यसलाई पचाउन आँट गर्ने तिनका मुटु कति दह्रो होला भनेर म सोच्ने गर्थें ।
त्यसो त, गजब के थियो भने त्यस्ता चीजहरू नचपाईकन मान्छेले घुटुक्क निलिसकेपछि खुबै हल्ला चल्ने गथ्र्योमान्छेहरूकै समाज-बजारमा । तर, त्यस्तो हल्लाको के अस्तित्व हुन्थ्यो र ! निलेपछि निल्यो-निल्यो । निल्नेमात्रै हो र निलेपछि पच्यो-पच्यो । यस्तोमा, रमाइलो झन् के हुन्थ्यो भने पचाउने मान्छेले खाएर पचाइसकेपछि आफूमाथि कुनै आरोप खेप्नु पर्दैनथ्यो । अर्थात्, आरोप लागिहाले पनि त्यस्तो आरोप क्षणिक हुन्थ्यो, त्यस्तो आरोपको ती मान्छेको व्यक्तित्वमा कुनै दूरगामी दाग लाग्दैनथ्यो । वास्तवमा गहिरिएर विचार गर्दा, कुनै दाग नलाग्नुमा त्यहाँभित्र कुनै अरू तत्वको हात हुन्थ्यो कि भन्ने मलाई लाग्थ्यो । सोच्थेँ म-आरोप लागेर कुनै दाग-धब्बा लागिहालेमा त्यसलाई धोइदिइहाल्न सक्ने कुनै वासिङ मेसिन पो त्यहाँ हुन्थ्यो कि क्या हो तीसँग ! कदाचित् त्यस्तो वासिङ मेसिन हुन्थ्यो नै भने त्यो कस्तो थियो होला भन्ने अहिले पनि मेरो मनमा खुल्दुली जागिरहन्छ ।
यसै सिलसिलामा यहाँ एउटा नयाँ वासिङ मेसिनको चर्चा गर्न समय-सान्दर्भिक छ । जापानले भर्खरै नयाँ ‘प्रोडक्ट’ बजारमा ल्याएको छ-नयाँ किसिमको वासिङ मेसिन । यो विशेष किसिमको वासिङ मेसिन जसमा कपडा-सपडा होइन मान्छेलाई नै धुन सकिन्छ । यसको अर्थ, जुनसुकै मान्छेमा जस्तोसुकै दाग लागोस् ! बल गरेर जतिसुकै मेट्न नसकिएको किन नहोस् त्यो दाग, यो वासिङ-मेसिनमा त्यस्ता दागी मान्छेलाई हालिदिएपछि यस्तो चमत्कारै हुन्छ कि, क्षणभरमै सफाचट् ! म यतिखेर गहिरोसँग सोच्दै छु-त्यो वासिङ मेसिन हाम्रो देशमा आयात गर्न पाए क्या काइदा हुन्थ्यो होला ! देशले त्यस्तो कुनै महत्वपूर्ण काम गर्न नसकिरहेको अवस्थामा त्यो मेसिन ल्याउन सकिए पक्कै पनि एउटा उपलब्धिमूलक काम हुन्थ्यो कि भन्ने मलाई लागेको छ । ताकि-भर्खरै सम्पन्न बीआरआई सम्झौतामा खेप्नुपरेको दाग पखालियोस् !
-सहकारी वा बैंकहरूको रकम हिनामिना गरिएको भनेर लागेको दाग पनि मेटियोस् !
-निर्दोषलाई दोषी बनाएर व्यक्तिगत रिसइबी साँधेको भनेर लागेको दाग पनि पखालियोस् !
-धरहरा वा अन्य भ्युटावरहरू बनाउन देशको सम्पत्ति बफ्वाँकमा फ्याँकेको भनेर लागेको दाग पनि पखालियोस् !
-पार्टी कार्यालय बनाउन जग्गा दान लिएको भनेर लागेको दाग पनि मेटियोस् !
-चियाबगान या यस्तै कुनै स्थानहरूको नाममा लागेको दाग पनि मेटियोस् !
-ललिता निवास, बालमन्दिरभित्र अपचलन भएको भनेर लागेको दाग पनि मेटियोस् !
-अन्तर्राष्ट्रिय विमानस्थलबाटै ३८ किलो सुन लापत्ता पारिएको भनेर लागेको दाग पनि पखालियोस् !
-क्यान्टोनमेन्ट घोटाला अनि बुढीगण्डकी-कालीगण्डकी-महाकाली खोइ के-केमा भ्रष्टाचार गरिएको भनेर लागेको दाग पनि मेटियोस् !
-नेपाली नागरिकलाई अर्कै देशको शरणार्थी बनाएर नागरिकता नै बदलिदिएको भनेर लागेको दाग पनि पखालियोस् !
यति भइसकेपछि के चाहिन्थ्यो र ! देश त सुग्घर । प...र देखिने कञ्चनजंघाभन्दा पनि टलक्क-कञ्चन !!
हो, अहिले म त्यस्तै देशको कल्पना गरिरहेछु । सकिन्छ भने, मान्छेमा लागेको दाग निखार्ने गरेर धोइदिने त्यो वासिङ मेसिन यथासम्भव छिटोभन्दा छिटो देशमा भित्र्याऊँ ! किन्न सकिए किनेर स्थायी रूपमै ल्याऔँ । होइन भने, फर्काउने गरेरै केही दिनको लागि भए पनि भाडा तिर्ने गरेर ल्याऊँ ! यतिखेर त्यो वासिङ मेसिनको अत्यन्त जरुरत छ देशमा ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच