पठनसंस्कृतिको विकासका विविध पहलसँगसँगै पाठक र लेखक बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । यसै क्रममा पछिल्लो पटक ‘नयाँ च्याम्पियन’ नामक आफ्नो पहिलो कथाकृति लिएर नेपाली साहित्यको फाँटमा पदार्पण गरेका छन् कथाकार दुर्गाराज भट्टराई । ‘नयाँ च्याम्पियन’ कथासङ्ग्रहलाई शिखा बुक्सले प्रकाशित गरेको छ । ‘हाम्रो कर्मयात्रा, मनोयात्रा नै एउटा लामो कथा हो । मिर्मिरेदेखि एउटा भोगाइ पार गरेर केही अनुभूति सँगालेर झिसमिसेसम्म आइपुग्छौँ हामी । यसैलाई गाँसेर लामो बनाउँदा कथा पनि लामो हुँदै जान्छ तर जीवन सधैँ साधा हुँदैन । जीवन कहिले चरम दुःख, कहिले परम आनन्द, कहिले असीम खुसी, कहिले गहिरो संवेदनाका मोडहरूमा पुगेर ठोक्किन्छ ।
हामी उभिएको माटो र हामी हिँड्ने बाटोहरूको अनौठो योग र रोमाञ्चक संवेगहरूको सिलसिला त रहेछ कथा ।’ कथाबारेमा यस्तो धारणा राख्ने कथाकार भट्टराईले आफ्नो धारणासँग मेल खाने कथा लेखेका छन् । जे लेखेका छन् दमदार लेखेका र प्रभावशाली लेखेका छन् । विसङ्गत राजनीतिमाथि झटारो हानेका छन् । यद्यपि कथाकार भट्टराईका पात्रहरूले जानी नजानी अलि बढी बोल्छन् । त्यसैले उनका कथाहरू तुलनात्मक रूपमा लामा बनेका छन् । यसमा उनको स्वीकारोक्ति पनि छ । यसो त उनले जम्माजम्मी सत्र शब्दको लघुकथा पनि लेखेका छन् । कथाको आयामले होइन, गुणले अर्थ राख्छ । यो सत्यलाई उनकै कथाहरूले प्रमाणित गरेका छन् ।
उनले जे लेखेका छन् दमदार लेखेका र प्रभावशाली लेखेका छन् । विसङ्गत राजनीतिमाथि झटारो हानेका छन् । यद्यपि कथाकार भट्टराईका पात्रहरूले जानी नजानी अलि बढी बोल्छन् । त्यसैले उनका कथाहरू तुलनात्मक रूपमा लामा बनेका छन् । यसमा उनको स्वीकारोक्ति पनि छ ।
‘नयाँ च्याम्पियन’ मा केही छोटा र केही लामा गरी १५ वटा कथा सङ्गृहीत छन् । छोटोमा जम्माजम्मी सत्र शब्दको लघुकथा ‘समीकरण’ र लामोमा ५६ पृष्ठको कथा ‘सेवारो’ समाष्टि छ । सङ्ग्रहको पहिलो कथा ‘समीकरण’ सत्र शब्दको लघुकथा हो । यो लघुकथा निकै चोटिलो छ । कथामा सम्बन्ध र यौनलाई जोडेर मानवीय प्रवृत्तिलाई देखाइएको छ । अर्को कथा ‘लघुकथाको लम्बाई’ छोटो आयामको भए पनि भाव र विचारका हिसाबले बहृत् छ । ‘विश्वासका विश्राम’ मा भूतप्रेतप्रति विश्वासले सधैँ भय र त्रासमा बाँचेका मान्छेलाई भ्रतप्रेतको अस्तित्व छैन भनेर प्रमाणित गर्न उद्यत् एउटा अन्वेषकको प्रयोग सफल भएको रोचक कथा छ । ‘कस्तुरीको मृत्यु’ विचारप्रधान कथा हो । कथामा गरिबीप्रतिको दृष्टिकोण र विश्लेषण सटिक छ ।
कथानकले साहित्यका पाठकको खडेरी परेको देखाउने कथा हो ‘खडेरी’ । कथाको शीषर्कभन्दा कथानक अलि फरकझैँ लाग्ने कथा हो ‘पराधीन मान्छे’ । यो कथामा आधुनिक कथाको लेखक आधुनिक नै हुनुपर्ने कल्पना र मान्यताले डो¥याएका पाठक अथवा विद्यार्थीहरू लेखकलाई चिन्न अस्वीकार गर्दै निस्केको सन्दर्भले लेखन र लेखकबीचको तादात्म्यता हुनुपर्ने खाँचोलाई औंल्याइएको छ । आफ्नै जग्गामा शताब्दीयौंदेखि उभिएको कल्पवृक्षको रूखलाई नचिनेर त्यसको खोजीमा धनकुटा र पाँचथरसम्मका सरकारी कार्यालय र विभागहरू धाएर दुःख पाएको कथानकमा बुनिएको कथा ‘कल्पवृक्ष’ रोचक छ । यसमा सरकारी कर्मचारीमा काम पन्छाउने प्रवृत्तिप्रति कटाक्ष पनि छ । ‘राँगाको विभाजन’ अत्यन्तै सन्देशमूलक कथा हो । एकातिर पशु अधिकारको पैरवी छ भने अर्कोतिर पारिवारिक एकताले समृद्धि सम्भव हुन्छ भन्ने सन्देश दिएको छ । राँगालाई बिम्बको रूपमा प्रयोग गरिएको छ ।
समाजशास्त्र, अर्थशास्त्र, विज्ञान र प्रविधिको मिश्रित कथानकमा बुनिएको रोचक कथा हो ‘जादु र उत्पादकत्व’ । देशमा विद्यमान बेथितिप्रति प्रहार गरिएको सशक्त कथा हो ‘डा.केसीको अन्तर्वार्ता’ । एउटा अत्यन्तै समसामयिक र रोचक कथानकमा बुनिएको कथा हो ‘ध्रुव र कुटिलता’ । इमानदारलाई फसाउने अथवा इमानदारीलाई दण्डित गर्ने कुटिल चालको एउटा उदाहरणको रूपमा यो कथालाई लिन सकिन्छ । पूर्वकथाहरूमा झैँ रोचक कथानकमा बुनिएको कथा हो ‘आस्थापीडा’ । बिहे गर्न सिन्दुर, पोते र सुट्केस बाकेर हिँडेका युवा र युवती ईश्वरको अस्तित्वमाथि बहस गर्छन् । अध्यात्म र भौतिकवादमाथि तर्क-बितर्क गर्छन् । आस्था र वादका बारेमा वादविवाद गर्छन् । आफू अघि बढ्नुभन्दा विवादलाई बढाउँछन् । यस्तै वाद र विवादका प्रसङ्गहरूले कथानकलाई रोचक बनाएको छ ।
‘नयाँ च्याम्पियन’ यो सङ्ग्रहको शीर्षक कथा हो । यो एउटा भिन्न खालको कथानकमा बुनिएको भिन्न खालको रोचक कथा हो । खेलका वास्तविक खेलाडीभन्दा राजनीतिका खेलाडी अझ बढी चतुर हुन्छन् भन्ने तथ्यलाई पुष्टि गर्ने कथानकमा बुनिएको यो कथा नेपालको राजनीतिसँग पनि मेल खान्छ । ‘बुद्धिचालमा राजालाई बन्दी बनाउन शक्तिको प्रयोग हुन्छ । राजनीतिमा पनि कार्यकारी प्रमुखलाई सत्ताच्युत गर्न शक्ति प्रयोग हुन्छ ।’ (पृष्ठ १३२) यो कथा वर्तमान नेपालको राजनीति र राजनीतिज्ञसँग अत्यन्तै मेल खान्छ । राजनीतिमा समय–समयमा नयाँ च्याम्यिन जन्मिरहेका छन् । एउटा सत्यको उद्घाटन हो यो कथा । यो सङ्ग्रहकै उत्कृष्ट र प्रभावशाली कथा हो ।
मानवीय संवेदनाले भरिएको अत्यन्तै मार्मिक कथा हो ‘शत्रुसँग अन्तिम रात’ । मर्दै गरेको एउटा लडाकुको आर्तपुकारले पाठक द्रविभूत हुनेछन् । युद्धका परस्परविरोधी दुई लडाकुको भावनात्मक सम्बन्धले पाठकको हृदय छुनेछ । यो मित्रता र यो भावनात्मक सम्बन्धले पाठकलाई अचम्मको खुसी पनि दिनेछ । अस्वाभाविक जस्तो लाग्ने यो सम्बन्धलाई मानवीय भावना र संवेदनाले जोडेको हो । अरू सबै तुच्छ हुन् र मानवीय सम्बन्ध नै महान हो भन्ने सन्देश या कथामा छ ।
सङ्ग्रहको अन्तिम र लामो कथा हो ‘सेवारो’ । यायावरी शैलीमा लेखिएको निकै लामो, तर रोचक यो कथामा समाख्याता मान्छे कसरी एक अर्कामा कुनै सम्बन्धमा बाँधिएका छन् भन्ने विषयमा शोधपत्र तयार गर्ने उद्देश्यले यात्रामा हिँडेका छन् । बृहत् प्रेमसञ्जालका नायक नायिकहरूको खोजसँग आफ्नो सांस्कृतिक अभिरुचिलाई समेत जोडेर त्यस्ता नायकनायिकहरूको खोजमा हिँडेका छन् । फूलमाया लिम्बु, लमु तामाङ, सीमा राई, डोल्मा गुरुङ, साजना थारू, रिन्जे शेर्पा, भाइकाजी श्रेष्ठ, मङ्गल माझी, शबरी सार्की, राघवेश यादव, उमा उपाध्याय र सुविक्रम क्षेत्रीसँग भेट्दै उनीहरूको प्रेमसम्बन्धका बारेमा बुझ्दै हिँडेका कथाकारले त्रिकोणात्मक मात्रै होइन चोकोणात्मक प्रेमसम्बन्धबारे थाहा पाएर आफैँ आश्चर्यमा परेका छन् । ‘सेवारो’ सांस्कृतिक अध्ययनमा आधारित प्रभावशाली कथा हो ।
समसामयिक विषयवस्तुलाई केन्द्रमा राखेर चलनचल्तीको भन्दा भिन्न तरिकाले कथानक बुन्ने र भिन्न किसिमले प्रस्तुत गर्ने खुबीले गर्दा कथाकार दुर्गाराज भट्टराईको कथाकारितामा भिन्न खालको निजात्मक विशेषता झल्किन्छ । समाजलाई हेर्ने र बुझ्ने उनको भिन्न दृष्टिकोणले उनका कथालाई पनि भिन्न विशेषतायुक्त बनाएको महसुस हुन्छ ।
कथाकार भट्टराई आफ्ना कथामा वर्तमान समयका केही बेथिति र विसङ्गति अनि मान्छेले भोग्दै आएका व्यवहार र विवशतामाथि व्यङ्ग्य र कटाक्ष गर्दै समयको चिरफार गर्न सफल छन् । विशेषगरी कथाको वर्णन रोचक छ । कथामा एकपछि अर्को प्रसङ्ग जोड्दै कथालाई चलायमान बनाउने र जीवन्त बनाउने कथाकारको खुबी प्रशंसनीय छ । हल्का विषयलाई गम्भीर मोडमा पुर्याएर खडा गर्ने र गम्भीर विषयलाई पनि सरल संवादमा प्रस्तुत गरेर बोधगम्य बनाउने क्षमताले लामा कथामा पनि पाठकको धैर्य टुट्न दिइएको छैन । कथाका विषय आधुनिक छन् । कथाका पात्रहरू आधुनिक छन् । कथा र कथाका पात्रहरूले आधुनिक समय र समाजको प्रतिनिधित्व गरेका छन् ।
कथाकारको निजी विचार, जीवनदर्शन, समय र समाजलाई हेर्ने दृष्टिकोण आदि प्रखर रूपमा आएका छन् । विशेषगरी कुनै पनि विषयवस्तुमाथिको दृष्टिकोण र कथानकलाई विचारसँग तादात्म्य गर्ने क्रममा गरिएको परिकल्पनाको आयतन विशाल छ । कथाकारको कल्पनाशीलता बेजोड छ । कल्पनालाई कथानकसँग जोड्दा कतै व्यङ्ग्य, कतै विचार र कतै दर्शनका रूपमा प्रस्तुत गरेर पाठकको मन र मस्तिष्कमा मिठोसँग स्पर्श गर्नसक्ने सामथ्र्य सिर्जना गरेका छन् ।
समसामयिक विषयवस्तुलाई केन्द्रमा राखेर चलनचल्तीको भन्दा भिन्न तरिकाले कथानक बुन्ने र भिन्न किसिमले प्रस्तुत गर्ने खुबीले गर्दा कथाकार दुर्गाराज भट्टराईको कथाकारितामा भिन्न खालको निजात्मक विशेषता झल्किन्छ । समाजलाई हेर्ने र बुझ्ने उनको भिन्न दृष्टिकोणले उनका कथालाई पनि भिन्न विशेषतायुक्त बनाएको महसुस हुन्छ । यही भिन्नताले उनका कथाहरूले भिन्न खालको छाप र दूरगामी प्रभाव छोड्न सफल हुनेमा विश्वस्त हुन सकिन्छ ।
शुद्धाशुद्धिमा भएको कमजोरीले कुनै कुनै शब्दको गलत अर्थ लाग्ने सम्भावना पनि छ । पुस्तकको सुरुदेखि अन्त्यसम्मै ‘आफ्नो’ हुनुपर्नेमा ‘आनो’ भएको छ । ‘फ’ हराउँदा ‘फ्याँक्न’ हुनुपर्नेमा ‘याँक्न’ भएको छ । त्यस्तै ‘फ्याफुल्ला’ को ‘याफुल्ला’, ‘आफ्टरनुन’को ‘आटरनुन’ भएको छ भने एक ठाउँमा ‘वरीयता’को ठाउँमा ‘बरियात’ भएको छ । यो प्राविधिक कमजोरी हो । आगामी संस्करणहरूमा यिनमा पनि सुधार अपेक्षित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच