बजेट नछुट्याइएपछि खारेज हुँदै सरुवा रोग अस्पताल

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । प्रदेश सरकारले बजेट नछुट्याउँदा कालीकोटको एक मात्र सरुवा रोग अस्पताल खारेज हुने भएको छ । दुई वर्ष अगाडि कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालको स्थापना गरी उद्घाटन गर्नुभएको थियो ।

प्रदेशकै पिछडिएको कालीकोट जिल्लामा सरुवारोग अस्पतालको आवश्यकता ठानेर नै अस्पतालको उद्घाटन गरेर दुई वर्षदेखि जिल्लामा अस्पताल सञ्चालनमा रहेको थियो । दुई वर्षदेखि विभिन्न किसिमका सेवा दिँदै आइरहेको अस्पताललाई प्रदेश सरकारले यो वर्षका लागि बजेट विनियोजन नगर्दा एकजना मेडिकल अधिकृतसहित २१ जना स्वास्थ्यकर्मीहरूको रोजगारीसमेत गुम्ने भएको छ ।

दुई वर्ष अगाडि तामझामका साथ उद्घाटन गरिएको अस्पतालमा बजेट व्यस्वस्था गर्न नसकेपछि जिल्लाका राजनीतिक दलहरूले पनि विरोध गरेका छन् । आइतबार सर्वदलीय बैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल बजेट विनियोजन गर्न माग गर्दै सर्वदलीय निर्णयसमेत गरिएको छ । सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई सर्वदलीय बैठकका निर्णय पठाइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा. संकेत विश्वकर्माले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रको पहुँच बढाउनुको साटो उल्टै घटाउनु दुःखद रहेको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभएको छ । सञ्चालनमा रहेको अस्पताललाई बजेट विनियोजन नगरेपछि जिल्ला अस्पताल र हाम्रो सहजीकरणमा सर्वदलीय बैठक बसालेर बजेट छुटाउन माग गरेका छौँ प्रजिअ माझीले भन्नुभयो ।’

साबिकको कर्णाली प्रदेशको प्रवेशद्वार रहेको कालीकोटमा सरुवा रोग अस्पतालले सेवा दिँदै आएको र यहाँका सेवाग्राहीलाई सानो रोग लागेमा सुर्खेत काठमाडांै रेफर गर्नुपर्ने अवस्थामा कालीकोटमा सरुवा रोग अस्पताल आवश्यक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य र शिक्षामा पहिलो प्राथमिकता राख्नुपर्ने ठाउँमा स्थापना गरी सञ्चालनमा रहेको एक मात्र सरुवा रोग अस्पताललाई व्यवस्था गरी कटौती गरिनु दुःखद रहेको सरोकारवालाको भनाइ छ ।

बजेट आएन भने अब २१ जना कर्मचारी पनि रहँदैनन् सेवा पनि बन्द हुने अवस्था छ । २१ जनाको दरबन्दी रहेको अस्पतालमा १८ जना स्वास्थ्यकर्मीहरूले सेवा दिँदै आइरहेका छन् । अस्पताल स्थापना गरेर स्वास्थ्यकर्मीको अभावकै बीचमा अहिले प्रदेश सरकारले आवश्यक बजेट नछुट्याउँदा भएका कर्मचारी पनि फाजिल हुन पुगेका छन् ।

अस्पताल सार्ने षड्यन्त्रविरुद्ध हस्ताक्षर अभियान
जिल्लाको एक मात्र सरुवा रोग अस्पताललाई बजेटविहीन बनाएर अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै कालीकोटवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । बुधबार द चे फोर्स नेपाल कालीकोटका अध्यक्ष हिक्मत मल्लको नेतृत्वमा सदरमुकाम मान्ममा बजेट नदिएर अस्पताल अन्तै सार्ने षड्यन्त्रविरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको हो । अहिले पनि दादुरा, छयरोग, महामारी ज्वरो लगायतका रोगको उपचार भइरहेको छ ।

कालीकोट, बाजुरा, अछाम, दैलेख, जुम्लाका बिरामीले सेवा लिने यो अस्पतालमा प्रदेश सरकारले बजेट नछुट्याउँदा झन् यहाँका बिरामीको लागि समस्या थपिएको स्थानीय हिक्मतजंङ मल्लले बताउनुभयो । प्रदेश सरकारको एक करोड रुपैयाँबाट सरुवा रोग अस्पताल निर्माण गरिएको थियो । कोरोनाको पहिलो र दोस्रो लहरका बेला कोरोना अस्पतालका रूपमा सेवा सञ्चालन गरेको थियो । कोरोनाका समयमा खरिद गरिएका महँगा स्वास्थ्य उपकरणसमेत सो अस्पतालमा प्रयोगविहीन अवस्थामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?