काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाइने बताउनुभएको छ । नेपालमा बालबालिकामा अटिजम देखापर्ने क्रम बढेको भन्दै उहाँले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्न मन्त्रालयले काम थाल्ने बताउनुभएको हो । अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थामा प्रभावकारी काम गर्न सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउन लागिएको हो ।
जसका लागि डा. दिपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । समितिमा दिपकराज सापकोटा, डा. सुनिता मलेकु, डा. मेरिना श्रेष्ठ, डा. अरुण कुँवर सदस्य रहनुभएको छ । त्यसैगरी ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य–सचिव तोकिएको छ ।
समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । त्यसैगरी अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ ।
समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । नेपालको जनगणना २०७८ अनुसार अटिजमपीडितको संख्या चार हजार आठ सय ८४ रहेको छ तर विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच