वर्तमान शक्तिशाली गठबन्धन सरकार बनेको ६ महिना पूरा भएको छ । यो धेरै लामो समय होइन तर यसलाई कम भन्न मिल्दैन । बिहानीले दिनको संकेत गर्छ भन्ने भनाइ छ । सरकारको बिहानी अब टरिसकको छ । यो दिनको पहिलो प्रहर पार गर्दैछ । यस अवस्थामा सरकारले तय गरेको बाटो स्पष्ट रूपमा देखिनुपर्ने थियो तर उसले आफू हिँड्ने बाटो राम्ररी तय गर्न सकेको देखिँदैन । सरकारको कमजोरीका रूपमा देखिएको प्रमुख समस्या हो यो । यस सरकारलाई जसरी हेरे पनि यो शक्तिशाली छ । इतिहासमा थोरैमात्र सरकार र सरकारका प्रधानमन्त्रीहरू यसरी शक्तिशाली अवस्थामा पुगेका थिए ।
राष्ट्रमा शासनको स्पष्ट खाका तयार हुन नपाउँदैको अवस्था फरक हो । त्यसपछि एउटा राज्यप्रणालीको विस्तार र विकासको चरण आउँदै गर्दाको अवस्थामा होस् वा त्यो आकारमा नआउँदैको अवस्थामा होस् भीमसेन थापा, जंगबहादुर राणा र चन्द्र शमशेरहरूलाई समयले निकै नै शक्तिशाली बनाएको थियो । तर त्यसपछिका शासकहरू क्षीण शक्तिमा रहे । प्रजातन्त्रको पुनस्र्थापनापछि जनआन्दोलनका शक्तिहरू मिलेर बनेको अन्तरिम सरकारका प्रधानमन्त्रीलाई संसद्को अधिकारसहितको सम्पूर्ण अधिकार प्राप्त भएरको थियो र कतिपयले जंगबहादुरको समयसँग तुलना गर्ने गरेको भए पनि त्यस बेलाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट कुनै पनि निरंकुश कार्य भएनन् । बरू उहाँलाई नै सबै शक्ति मिलेर कमजोर बनाए । उहाँले शान्ति स्थपना, भारतसँगको सम्बन्धमा सुधार गरी २०४७ सालको संविधान बनाउने र २०४८ सालको आमनिर्वाचन गराउने कार्यमा सफलता प्राप्त गर्नुभएको थियो ।
त्यसपछि भने सबै प्रधानमन्त्री त्यसरी शक्तिशाली बनेनन् । कोही कोही त ढोडको खुट्टाले टेकेजस्ता थिए जसलाई अरूले टेको दिनुपरेको थियो । माओवादीको सशस्त्र विद्रोहले थिलथिलो भएको देशलाई सम्हाल्ने काम कोहीबाट पनि हुन सकेन, यो नै हाम्रा लागि दुर्भाग्य हो । वर्तमान संविधान बनेपछि एकाएक कम्युनिष्टहरूको एकताको घोषणा भयो र पहिलो पटक वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नुभयो । त्यसबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग झण्डै दुई तिहाइको बहुमत थियो र उहाँ यो संविधान बनेपछिकै शक्तिशाली प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, त्यसबेला पनि उक्त सरकारले अविष्मरणीय काम गर्न सकेन ।
नेता, नेतृत्व र अवस्था अनुकूल भएरमात्र पनि केही हुनसक्ने रहेनछ, काम गर्न साहस, आँट र मुख्य रूपमा एकता पनि चाहिँने रहेछ भन्ने कुरा त्यसबेलाको शक्तिशाली सरकार आपसी कलहबाट छिन्नभिन्न बन्नपुगेको अवस्थाबाट देखिन आएको थियो । त्यसपछि सरकारका समीकरणहरू परिवर्तन भइरहे तर ती सरकारहरूको ध्यान काम गर्नेतर्फ भन्दा आफ्नो गठबन्धन जोगाउनेतर्फ मात्र गइरहृयो । समयले अहिले पनि नेपालको इतिहासले शक्तिशाली प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीलाई दोस्रो पटक पाएको छ । यो सरकार एक प्रकारको अनौठो संयोगबाट बनेको छ । संसद्मा पहिलो र दोस्रो ठूला दल मिलेर बनेको सरकार हो यो ।
पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमाले मिलेर यो सरकार बनेको छ । यसलाई जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतको समेत समर्थन रहेको छ । यस अर्थमा वर्तमान सरकारसँग दुई तिहाइ निकटको बहुमत छ तर पनि आशातीत रूपमा यस सरकारले काम गर्न नसकेको भन्ने टिप्पणी भइरहेको छ । यो सरकारभन्दा पहिले केही सरकारहरू बन्दै परिवर्तन हुँदै आएको अवस्थामा यसलाई ‘अन्तिम आशाको सरकार’ मानिएको थियो । तर आशा पैदा गर्ने र नागरिकलाई भरोसा जगाउनसक्ने कामहरू यसबाट हुनसकिरहेको छैन । यस सरकारका सबै क्षेत्र नै कमजोर आवस्थामा छन् । जनतामा आशाको सञ्चार गराउन सकेको छैन ।
आर्थिक रूपमा राष्ट्र प्रतिदिन ओरालो लाग्दै गएको देखिन्छ भने हुँदैछ भने संवैधानिक अंग र सरकारी अवयवहरू कमजोर हुँदैछन् । जनताको आर्थिक उन्नति हुनेखालका काम हुनसकेका छैनन् । बेरोजगारीको समस्या दिनप्रतिदिन बढरहेको छ, देशबाट युवाहरू रित्तिँदैछन् । खेतीयोग्य जमिन बाँझो रहने क्रम बढिरहेको छ । विदेशसँग गरिएका आर्थिक सहयोगका सम्झौताहरूको स्वरूपको पुष्टि सरकारबाट हुन सकिरहेको छैन । हालै चीनसँग गरिएको बिआरआई सम्झौतालाई सरकारले ठूलो उपलब्धिका रूपमा चित्रण गरेको छ । तर यसअन्तर्गत उल्लेखनीय योजना लिन सरकारले सकिरहेको छैन । कृषि, सडक, यातायातलगायत क्षेत्रहरूमा समेत उल्लेख्य काम हुनसकेका छैनन् ।
वर्तमान प्रधानमन्त्रीले नै यस पहिले आफू प्रधानमन्त्री भएका बेला देशलाई तुइनमुक्त गराउँछु भन्नुभएको थियो तर त्यो प्रतिबद्धता अहिलेसम्म पूरा हुनसकेको छैन । हुन त ६ महिनामा सबै काम फुमन्तर हुन्छन् भन्ने छैन । तथापि केही कामहरू अगाडि बढ्दै गरेको भए अन्य कामहरूमा समेत विश्वस्त बन्न सकिने अवस्था रहन्थ्यो । यो सरकार पनि आफ्नो गठबन्धनकै ‘दुम्सी ढुकाइ’ मा रहेको भनेर हुनेगरेका टीकाटिप्पणीहरूको जवाफ सरकारले आफ्ना कामले दिन सकेको भए जनतामा यस सरकारप्रति एक प्रकारको भरोसा पैदा हुनसक्थ्यो ।
शिक्षा, स्वास्थ्य, कृषि, अर्थतन्त्र, विकास निर्माण सबै क्षेत्रमा यस्तै अवस्था छ । कूटनीतिक क्षेत्रमा समेत अवस्था राम्रो छैन । दक्षिणी छिमेकी देश भारतले प्रधानमन्त्रीलाई हालसम्म भ्रमणका लागि निम्तो दिएको छैन । यसका लागि व्यवस्था मिलाउन सरकार सफल नभएको रूपमै यसलाई हेरिने गर्छ । प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गर्ने परम्परालाई भारतले बेवास्ता गरेको छ । यी र यस्ता अनेकौं समस्याको चाङ सरकार सामु उभिएका छन् । जुन सरकारले पनि पहिले-पहिलेका सरकारले थुपारेका कुँडाकर्कट सफा गर्दैछु भन्ने गरेका छन् तर यस सरकारलाई त्यसो भन्ने छुट छैन । यस सरकारसँग बहुमत छ र चाहेको कामका लागि बहुमत जुटाउन सकस पर्दैन । त्यसकारण माथिका समस्याहरूतर्फ ध्यान दिँदै सरकारले बाँकी यात्रा तय गर्नु उचित हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच