
लाहोर । आइसिसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज (आइतबार) भारत र न्युजिल्याण्ड भिड्दै छन् । ‘मिनी विश्वकप’समेत भनिने प्रतियोगिताको उपाधिका लागि दुई पुराना प्रतिद्वन्द्वी भिड्न लागेका हुन् । पाकिस्तानमा सुरु भएको ट्रफीको समापन भने पाकिस्तानबाहिर हुँदैछ ।
भारतीय क्रिकेट टिम पाकिस्तानमा खेल्न नजाने भएपछि भारत संलग्न खेलहरू दुबईमा भइरहेका छन् । फाइनल खेल आज दिउँसो साढे २ बजे दुबई इन्टरनेसनल स्टेडियममा सुरु हुनेछ । दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको न्युजिल्याण्ड तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो । टोली यसअघि २००० र २००९ मा फाइनल पुगेको थियो । टोली जित्ने उद्देश्यका साथ प्रवेश गर्नेछ ।
भारतले यसअघि नै दुई पटक उपाधि जितिसकेको छ । रोहित शर्माको कप्तानीमा रहेको आइसिसी प्रतियोगितामा भारतीय टोलीले लगातार चौथो फाइनल खेल्दैछ । भारतीय टोली लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो । टोलीले २०१३ मा उपाधि जितेको थियो तर २०१७ मा पाकिस्तानसँग पराजित भएको थियो । अब रोहितको कप्तानीमा टोलीले १२ वर्षपछि यो आइसिसी उपाधि जित्ने मौका पाएको छ ।
सन् १९९८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणको उपाधि न्युजिल्याण्डले जितेको थियो अर्थात् सन् २००० को संस्करणको उपाधि न्युजिल्याण्डले जितेको थियो । संयोगवश त्यसबेलाको फाइनलमा भारतलाई नै हराएर न्युजिल्याण्डले पहिलो पटक उपाधि जितेको थियो । अब २५ वर्षपछि न्युजिल्याण्डलाई इतिहास दोहोर्याउने अवसर छ ।
अर्कोतर्फ भारतलाई पनि लामो समयपछि एकदिवसीय फम्र्याटको प्रतियोगिता जित्ने अवसर हुनेछ । भारतले पछिल्लो पटक सन् २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यसयता भारतले गत वर्षको टी-२० विश्वकपबाहेक अन्य आइसिसी इभेन्ट जित्न सकेको छैन । यस क्रममा भारत दुईपटक अष्ट्रेलिया र दुईपटक न्युजिल्याण्डकै हातबाट सेमि वा फाइनलमा पराजित हुँदै उपाधिबाट वञ्चित हुँदै आएको छ ।
सन् २०१५ को ओडिआई विश्वकप सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको भारत सन् २०१९ मा न्युजिल्याण्डसँग स्तब्ध बनेको थियो भने सन् २०२३ को सेमिफाइनलमा न्युजिल्याण्डलाई हराए पनि फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।
प्रतियोगिताको सुरुवातमा दुवै टोली एउटै समूहमा रहेका थिए । समूह ‘ए’ मा रहेका यी दुई टोलीमध्ये भारत अपराजित छ भने न्युजिल्याण्डले एकमात्र हार समूह चरणमा भारतसँग बेहोरेको थियो । यस्तोमा यो फाइनल खेल एक ‘हाई भोल्टेज’ प्रतिस्पर्धा हुनेमा कुनै शंका छैन । भारतले सुरुवातदेखि नै यही एउटै मैदानमा खेलिरहेको भए पनि न्युजिल्याण्डले पनि एकपटक यस मैदानमा खेलिसकेकाले त्यसले फरक पार्ने छैन ।
भारत र न्युजिल्याण्ड एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म कुल ११८ पटक खेलेका छन् जसमा भारत ६१ खेलमा विजयी हुँदा न्युजिल्याण्ड ५० खेलमा विजयी भएको छ । एक खेल बराबरी हुँदा सात खेल नतिजाविहीन थिए । क्रिकेट विश्वकप र च्याम्पियन्स ट्रफी गरेर यी दुई टोली कुल १३ पटक आमनेसामने भएका छन् जसमा भारत र न्युजिल्याण्ड समान ६ खेलमा विजयी हुँदा एक खेल बराबरी छ ।
आइसिसीका ओडिआई प्रतियोगिताको नकआउट खेलहरूमा दुई टोली हालसम्म तीन पटक भेट भएका छन् जहाँ न्युजिल्याण्ड दुई तथा भारत एक खेलमा विजयी भएको छ । सन् २००० को च्याम्पियन्स ट्रफीको फाइनल तथा सन् २०१९ को विश्वकप सेमिफाइनल न्युजिल्याण्डले जितेको थियो भने भारतको एक जित सन् २०२३ को विश्वकप सेमिफाइनलमा थियो ।
फाइनलअघि न्युजिल्याण्डलाई ठूलो झट्का
च्याम्पियन्स ट्रफीको फाइनलअघि न्युजिल्याण्डलाई ठूलो धक्का लागेको छ । टोलीका अनुभवी खेलाडी म्याट हेनरी घाइते हुनुभएको छ । काँधमा लागेको चोटका कारणा उहाँ फाइनल खेल खेल्न वञ्चित हुनुहुने भएको छ । यद्यपि यसबारे आधिकारिक घोषणा गरिएको छैन । हेनरी आउट भएमा न्युजिल्याण्डले प्लेइङ इलेभेनमा परिवर्तन गर्न बाध्य हुनेछ । टिम इण्डियाले भने फाइनलको प्लेइङ इलेभेनमा कुनै परिवर्तन नगर्ने सम्भावना छ । तर, न्युजिल्याण्डले केही परिवर्तन गर्नुपर्ने हुन सक्छ । दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा म्याट हेनरी घाइते हुनुभएको थियो । हेनरिक क्लासेनलाई समात्न खोज्दा उहाँ तल खस्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच