
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । शुक्रबार भएको विभागीय डर्बीमा पुलिस क्लबले एपीएफ क्लबलाई दुई विकेटले पराजित गरेको हो । एपीएफले दिएको ९५ रनको सामान्य लक्ष्य पुलिसले २६.२ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको थियो । पुलिसको जितमा कुशल भुर्तेलले सर्वाधिक ३१, गुलशन झाले नटआउट १२ रन बनाउनुभयो ।
एपीएफका लागि भुवन कार्कीले तीन, रोहित पौडेल र अभिषेक गौतमले समान दुई र कमलसिंह ऐरीले एक विकेट लिनुभएको थियो ।
यसअघि दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको एपीएफले २७.४ ओभरमा अलआउट हुँदै ९४ रनको योगफल तयार पारेको थियो । सन्दीप जोराले सर्वाधिक २६ र लोकेस बमले २२ रन जोडनुभएको थियो ।
एपीएफलाई सस्तैमा समेट्न स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिनुभएको थियो । म्यान अफ द म्याच ललितले ७.४ ओभरमा १८ रन खर्चिएर ६ विकेट लिनुभएको हो । कुशल भुर्तेल, करण केसी, सागर ढकाल र गुलशन झाले समान एक विकेट लिनुभएको थियो । लगातार तेस्रो जित हात पारेको पुलिसको ६ अंक भएको छ भने तेस्रो खेलमा पहिलो हार बेहोरेको एपीएफको चार अंक छ । पुलिस दोस्रो र एपीएफ तेस्रो स्थानमा छन् ।
बागमती प्रदेशको पहिलो जित
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ । शुक्रबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराएको हो । बागमतीले दिएको २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमा अलआउट भएको थियो ।
टेक रावतले सर्वाधिक ४५ रन बनाउनुभयो भने कप्तान नारायण जोशीले ३९ रन जोडनुभयो । राहुल भण्डारीले २६ तथा किरण ठगुन्नाले २१ रन बनाउदा निश्चल क्षेत्री र शेर मल्लले समान १४ रन बनाउनुभएको थियो । शेर नटआउट रहनुभएको थियो । बागमतीका रिजन ढकालले १० ओभरमा ३० रन दिएर चार विकेट लिनुभयो भने सोनु देवकोटाले १० ओभरमा ४९ रन दिएर चार विकेट र प्रतिश जिसीले एक विकेट लिनुभएको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ५० ओभरमा आठ विकेट गुमाएर २६६ रन बनाएको थियो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ७७ रन बनाउनुभएको थियो । आशुतोष घिरैयाले ५८ रन बनाउनुभयो भने इशान पाण्डेले ३६ रन जोडनुभएको थियो ।
सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले दुई–दुई विकेट लिनुभएको थियो । राहुल भण्डारी र नारायण जोशीले एक–एक विकेट लिनुभयो । यसअघि बागमती एपीएफ र आर्मीसँग पराजित भएको थियो । कर्णाली र आर्मीसँग पराजित भएको सुदूरको भने चार खेलमा यो तेस्रो हार हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच