प्रधानमन्त्रीले उद्घाटन गर्ने लुम्बिनी केवलकार सञ्चालनको अन्तिम तयारीमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । कोरोना कहर र आर्थिक मन्दीबाट सुस्ताएको बुटबल अब फेरि चलायमान हुने भएको छ । बुटबलमा दुई वटा केबलकार सञ्चालन भएपछि थप चलायमान हुने अपेक्षा लिइएको छ । बुटवलदेखि पाल्पाको ऐतिहासिक बसन्तपुर जोड्ने गरी निर्माण भईरहेको लुम्बिनी केवलकार सञ्चालनको अन्तिम तयारी भएको छ ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माणको काम सम्पन्न भएको र अहिले प्राविधिक परीक्षणको काम भईरहेको लुम्बिनी केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो ।

उहाँका अनुसार जेठको ८ गतेदेखि नियमित सञ्चालनको तयारी गरिएको छ । ‘यहि १० गतेदेखि कमर्सियल अप्रेसनमा ल्याउनेगरी काम गरिरहेका छौं’,– उहाँले भन्नुभयो । त्यस्तै सम्भवतः जेठको १२ देखि १८ गतेसम्म बसन्तपुरमा निर्माण गरिएको कामाक्षा देवी मन्दिरमा महायज्ञ सञ्चालन गरिने र त्यहि महायज्ञकै विचमा औपचारिक उद्घाटन गरिने उहाँले बताउनु भयो ।

लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने बसन्तपुर लैजानेगरी बुटवलको वडा नं. ३ बमघाटमा आधार स्टेशन निर्माण गरिएको छ । जसको टप स्टेशन बसन्तपुरमा छ । यो केवलकारको दुई साढे २ किलोमिटर हो ।

यो केवलकारमा २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एउटा गोण्डुलामा ८ जना यात्रु सवार गर्न मिल्छ । यसमा प्रतिघण्टा ६ सय यात्रु आवतजावत गर्न सक्नेछन् । यो केवलकार नियमित रुपमा सञ्चालनमा आउँदा दैनिक ५ हजार जनालाई ओहोरदोहार गराउन सकिने अध्यक्ष ढकालले बताउनु भयो ।

केवलकार, आधार स्टेशन, टप स्टेशन, बसन्तपुरमा क्यासिनो सहितको १५० कोठा भएको पाँच तारे होटल, कामाक्षा देवी मन्दिर, छुट्टा छुट्टै भेज नन्भेज रेष्टुरेन्ट, बार तथा पार्क सहितका संरचना निर्माणमा करिव ५ अर्व लगानी भएको अध्यक्ष ढकालले बताउनु भयो ।

बसन्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्य सहित त्यसको आधारको रुपमा केवलकार निर्माण गरिएको हो । यसले पाल्पाको बसन्तपुर क्षेत्रमा नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र आसपासको पर्यटन विकास संगै आर्थिक गतिबिधिलाई पनि चलायमान बनाउने उहाँको भनाई छ ।

लुम्बिनी केवलकार प्रा.लिका प्रोजेक्ट म्यानेजर गोकुल साउदले अहिले परीक्षण रूपमा केवलकार सञ्चालन भएको र १४ वा १५ गते औपचारिक रूपमा शुभारम्भ गर्ने गरी तयारी थालिएको बताउनु भयो । अहिले १५ वटा गोण्डाला राखेर परीक्षण भइरहेको छ ।

बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए । केवलकारको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने निश्चित भएको साउदले बताउनु भयो।

‘१४ वा ‘१५ गते प्रधानमन्त्रीको हातबाट केवलकार शुभारम्भ गर्ने तयारी भएको छ, प्रधानमन्त्रीको समय मिलाएर दिन तय हुन्छ, विशेष अवस्थाबाहेक १५ गतेभित्रै केवलकारको उद्घाटन हुन्छ’, यो केवलकारको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गर्नुभएको थियो । ‘यो केबलकार शिलन्यास भएको १० दिनपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरेको बुटवलको अर्को सिद्धार्थ केबलकारको पनि धमाधम निर्माण भइरहेको छ । पुरानो बुटवलस्थित बुटवल मावि माथिबाट पाल्पाको नुवाकोट डाँडामा जानेगरी यो केबलकार असोज १ गते संचालनको तयारी भइरहेको छ ।

निर्माणको काम धमाधम भइरहेको छ, असोज १ गते संचालन गर्नेगरी काम भइरहेको छ’, अध्यक्ष राजेन्द्रसिंह गुरुङले वताउनु भयो। केबलकार यो क्षेत्रको विकासको ड्रीम प्रोजेक्ट भएकाले पनि लुम्बिनी आएका पर्यटकलाई बुटवल ल्याउने पाल्पाको डाँडामा बसाउने गरी पर्यटन विकासमा टेवा पुर्याउने मूल उद्देश्य रहेको पर्यटन व्यवसायी माधव नेपालको भनाई छ ।

सिद्धार्थ केबलकार प्रालिले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो । करिब दुई किलोमिटर लम्बाई रहेको सिद्धार्थ केबलकारमा एकपटकमा ८ जना यात्रु बोक्ने क्षमता भएका २५ वटा गन्डोला रहनेछन् ।

नुुवाकोटमा कालभैरवको मन्दिर, सेनकालीन दरबार, सेनकालीन इनार, काठेदरबार, सेनकालीन भग्नावशेष दरबार नुवाकोट किल्ला र ग्रामीण परिवेश पर्यटकले अवलोकन गर्न पाउने र बुटवलदेखि नुवाकोटसम्म केबलकार सञ्चालनपछि विशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको नुवाकोट विकास समितिका अध्यक्षसमेत रहेका पर्यट व्यवसायी नेपालले बताउनु भयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?