भद्रपुर महेन्द्र पार्क : सुरक्षाकर्मीले रोकेपछि सडक बन्द गरेर विरोध प्रदर्शन, राजाको सालिक राखेरै छाड्ने अडान

Read Time = 6 mins

-पार्थ मण्डल
झापा । पूर्व राजा महेन्द्रकाे सालिक पुनर्स्थापन समितिलाई भद्रपुर-८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएको छ ।

सुरक्षाकर्मीले समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वार मै रोकेपछि दुई घण्टासम्म स्थिति तनावपूर्ण बनेको थियो ।

पार्कभित्र पूर्व राजा महेन्द्रको अर्धकदको सालिक राख्ने समितिको पूर्वघोषित कार्यक्रम अनुसार शनिबार दिउँसो १ बजे र्‍यालीसहित टोली त्यहाँ पुगेको थियो ।

राष्ट्रिय झन्डा, ब्यानरसहित हातमा कुचो बोकेर पुगेका टोलीलाई सुरक्षाकर्मीले पार्कभित्र प्रवेश गर्न दिएन । उनीहरू सालिक नलिई सरसफाइ गर्न त्यहाँ पुगेका रहेछन् ।

तरपनि सुरक्षाकर्मीले टोलीलाई सडकमै रोक्यो । पार्कभित्र प्रवेश गर्न नपाएपछि उनीहरू विरोध प्रदर्शनमा उत्रिए । उनीहरूले सडक नै अवरोध गरी स्थानीय सरकार र प्रशासनविरुद्ध चर्को नाराबाजी समेत गरे ।

उनीहरूले बल प्रयोग गरेर पार्कभित्र छिर्न खोज्दा सुरक्षाकर्मीले पनि बल प्रयोग गरेर उनीहरूलाई रोकेका थिए । दुवै पक्षबीच सामान्य घम्साघम्सी भएपनि झडपको स्थिति भने आएन । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठक र सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका डिएसपी प्रेम पोखरेल समेत घटनास्थलमा उपस्थित हुनुहुन्थ्यो ।

अन्ततः समितिको कार्यक्रम सुरक्षाकर्मीले असफल बनाइ दिएपछि उनीहरूले सदरमुकाममा आधा घण्टा यातायात बन्द गरी विरोध प्रदर्शन गरेका थिए । भद्रपुरको ट्रेड युनियन चोकको बिच सडकमै बसेर उनीहरूले यातायात बन्द गराउँदा सवारीसाधन र यात्रुले सास्ती झेल्नु परेको थियो । त्यसपछि उनीहरूले कोणसभा गरी कार्यक्रम समापन गरी फर्किए ।

राजाको सालिक राखेर छाडने अडान

पूर्व राजा महेन्द्र शाह सालिक पुनर्स्थापन समितिका संयोजक सञ्जीव मैनालीले पार्कभित्र जसरी पनि राजाको सालिक राखेरै छाडने बताउनु भयो । विगत १६ वर्षदेखि कुनै स्थानीय सरकारले वास्ता नगर्दा जीर्ण बनेको, सरसफाइ र रंगरोगन नपाएको महेन्द्र वाटिकालाई नयाँ जीवन दिएर, पूर्ववत् अवस्थामा फर्काउन लागेको उहाँले बताउनु भयो ।

‘हाम्रो शान्तिपूर्ण अभियानसहितको कार्यक्रममाथि भद्रपुर नगरपालिका र स्थानीय प्रशासनले हस्तक्षेप गर्यो,’ उहाँले भन्नुभयो, ‘हामी चुप लागेर बस्दैनौँ, यो अभियानको सुरुवात हो, हामी जसरी पनि पूर्व राजा महेन्द्रको सालिक राखेरै छाडछौं ।’

स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर मात्र सालिक राख्नुहोस् प्रशासनले भनिरहेको अवस्थामा तपाईँहरूले किन समन्वय गर्नुभएन ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले सालिक राख्न कार्यपालिका वा नगर सभाबाट बहुमतले पारित गर्नुपर्ने हुन्छ, त्यो कदापि स्थानीय सरकारले चाहँदैन, त्यसैले समितिले समन्वय र सहकार्य गर्नु कुनै अर्थ नै छैन ।’ ‘यो पार्क इतिहाससँग जोडिएको सार्वजनिक सम्पत्ति हो, यसमा सबै नागरिकको समान अधिकार हुनुपर्छ,’ उहाँले भन्नुभयो । त्यस्तै समितिका सचिव सन्तोष बिमलीले हामी झापाली युवाहरू स्वतःस्फूर्त रुपमा लागेर जीर्ण पार्कलाई जीवन्त दिन खोजेको बताउनु भयो ।

‘हामी हातहतियारसहित पार्क प्रवेश गर्न खोजेका थिएनौँ,’ उहाँले भन्नुभयो, ‘हातमा कुचो बोकेर आउँदा पनि राष्ट्रप्रेमी नागरिकलाई सुरक्षाकर्मीले अपराधीको शैलीमा हस्तक्षेप गर्न खोज्यो, यो घटना अति निन्दनीय छ ।’

हामी सालिक राख्ने अभियानबाट पछि नहट्ने बताउँदै मेचीनगरका गिरिराजमणि पौडेलले भन्नुभयो, ‘त्यस क्रममा मर्नु परे पनि हामी पछि हट्दैनौ’ । राजाको सालिक राख्न नदिए देशभर रहेका शहीदको सालिक पनि हामी तोड्न तयार रहेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?