काठमाडौं । ‘माननीय सदस्यहरू अब संसद्को कारबाही प्रारम्भ हुन्छ,’ राष्ट्रिय गीत बजिसकेपछि सभामुख देवराज घिमिरे आफ्नो आसनबाट बोल्नुभयो । बानेश्वरस्थित संघीय संंसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल’ गर्ने एक मात्रै कार्यसूची थियो । सभामुखले कारबाही प्रारम्भ गरौँ भनेपछि शून्य समयको कार्यक्रम थियो । तर, शून्य समय सुरु नहुँदै संसद् भवनभित्र अनौठो दृश्य देखियो । एकाएक माहौल बदलियो । शून्य समय सुरु नहुँदै सांसद प्रेम सुवाल र अमरेशकुमार सिंह उठ्नुभयो ।
उहाँहरू दुवैको माग थियो विशेष समयमा बोल्न पाउनुपर्ने । ‘विशेष समयको प्रबन्ध गरेका छैनौँ । नियमित कारबाहीमा जान्छौँ । माननीय सदस्यहरू बस्नुस्,’ सभामुख घिमिरेले अनुरोध गर्नुभयो, ‘हामीले बनाएको नियमावलीको ख्याल गरौँ ।’ माननीयहरूले सुनेको नसुन्यै गर्नुभयो । उल्टै प्रेम सुवाल माइक समातेर बोल्न थाल्नुभयो । सभामुखले फेरि नियमावली स्मरण गराउनुभयो । ‘समय लिएर मात्रै बोल्न पाइने व्यवस्थामा ध्यान दिन अनुरोध छ । बसौँ माननीय सदस्य । नियमित कारबाही अघि बढाउन सहयोग गर्नुस् । बोल्न समय दिएको छैन ।’ सभामुखको आग्रह माननीयहरू टेर्नुभएन ।
सभामुख अलि कडा बन्नुभयो । ‘अब म नियमित कारबाही अगाडि बढाउँछु । शून्य समय प्रारम्भ हुन्छ । एक मिनेट ।’ अहँ ! दुईजना माननीयलाई केही लागेन ।
अमरेशकुमार पनि चिच्याउन थाल्नुभयो । ‘तपार्इंलाई समय दिएको छैन । बसौँ,’ सभामुखले भन्नुभयो, ‘म तपाईंलाई प्रतिनिधिसभा नियावलीको नियम २१ (घ)आकर्षित गर्न चाहन्छु ।’ नियमावलीको २१ (घ)मा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने व्यवस्था छ । सभामुखले फेरि भन्नुभयो, ‘अशिष्ट, अश्लील, आपत्तिजनक व्यवहार नदेखाउन्स् ।’
तर, सांसद सिंह झन् झन् उग्र बन्दै जानुभयो । सांसद सुवाल पनि उठिरहनु भएको थियो । सिंह शरीरमा लगाएको लुगा फुकाल्न थाल्नुभयो । एकैछिनमा उहाँले शरीरको माथिल्लो भागमा लगाएको सबै लुगा फुकाल्नुभयो । सभामुखले फेरि नियम ३० को आधारमा चेतावनी दिनुभयो । नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सांसदलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिनसक्ने व्यवस्था छ ।
चेतावनी पाएपछि सांसदले आफ्नो व्यवहार सच्याउनुपर्ने व्यवस्था छ । ‘ठाउँमा आएर बस्नुस् । अनुशासित भएर नबसे अरू कुरा हुने जानकारी गराउन चाहन्छु,’ सभामुखले कडा चेतावनी दिनुभयो । उहाँको चेतावनीपछि सिंहले लुगा लगाउनुभयो ।
अन्यथा सभामुखले सिंहलाई बैठकबाट निष्कासन गर्ने तयारी गर्नुभएको थियो । नियमावलीको नियम ३० मा सांसदले अभद्र व्यवहार देखाएमा सभामुखले निष्कासन गर्न सक्ने व्यवस्था छ । तर, चेतावनीपछि सिंहले व्यवहार सच्याउनुभयो । उता, सांसद सुवाल बोलिरहनु भएकै थियो । ‘नियमित बैठकको कारबाहीका लागि सहयोग गनुस्’ भन्दै सभामुखले शून्य समयको कार्यक्रम सुरु गर्नुभयो । शून्य समय सुरु भयो ।
सिंहको स्वास्थ्य जाँच गर्न माग
शून्य समयमा बौल्दै नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गर्नुभयो । सिंहले लुगा फुकालेपछि शून्य समयमा बोल्दै सांसद मैनालीले सिंहको स्वास्थ्य जाँच गर्न माग गर्नुभयो । ‘संसद्मा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु,’ उहाँले भन्नुभयो ।
संसद् जनताका प्रतिनिधिको थलो हो । जहाँ जनताका चासो, गुनासो, समस्या र आवाजहरू जनप्रतिनिधिले उठाउँछन् । सरकारलाई घचघच्याउँछन् । सुनाउँछन् । कार्यान्वयनका लागि दबाब सिर्जना गर्छन् । जनताको स्वाभाविक अपेक्षा हुन्छ आफ्नो जनप्रतिनिधिले जनताका समस्याहरू बोलोस् । समाधानका लागि पहल गरोस् । नीति, निर्माण तहमा पु¥याओस् । तर, कहिलेकाहीँ ठिक उल्टो भइदिन्छ । माननीयहरू संसद्को मर्यादा र गरिमा भुलेर आवेश र उत्तेजनामा आइदिन्छन् ।
उत्तेजनामा उत्तेजक गतिविधि गरिदिन्छन् । संसद्मा बोल्न नपाएको सांसदको गुनासो एक ठाउँमा छ । सभामुखको ध्यानाकर्षण गराउने उनीहरूले जनाउने विरोध पनि स्वाभाविक होला । तर, उनीहरूले बेलाबेलामा देखाउने अशिष्ट हर्कत माननीयको मानमर्दन गर्ने खालका हुन्छन् ।
सिंहले आक्रोशमा शरीरको लुगा फुकालेर अर्धनग्न भएको घटना नेपालका लागि नौलो हो । तर, यसअघि पनि माननीयले यस्ता अशिष्ट हर्कत नगरेका होइनन् । बजेटको ब्रिफकेस खोस्नेदेखि कुर्सी तोड्नेसम्मका घटना नेपाली जनताले भुलेका छैनन् । एकपटक एकजना माननीयले सिंहकै शैलीमा शरीरको लुगा च्यातेको बिर्सिएका छैनन् ।
मैले धेरै समय मागेको थिइनँ, दुई मिनेट पनि बोल्न दिइएन : सिंह
सांसद अमरेशकुमार सिंहले बोल्न नदिए कपडा खोल्ने जानकारी पहिल्यै सभामुखलाई दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्न नपाएपछि कपडा खोलेर विरोध जनाउनुभएका स्वतन्त्र सांसद सिंहले दुई मिनेट बोल्नसमेत समय नपाएको गुनासो गर्नुभयो ।
‘आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु भनेर सभामुखलाई आग्रह गरेँ । दुई मिनेट पाउने हो त्यो समय भनेँ,’ उहाँले भन्नुभयो, ‘तर, पाइएन । सभामुखलाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’
उहाँले बजेट बिचौलियाले बनाउने गरेको आरोपसमेत लगाउनुभयो । बैठकबाट बाहिरिने क्रममा उहाँले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । ‘बजेट बिचौलियाले बनाउँछन् । अर्थमन्त्रीले पढ्छन् र सांसदहरूले ताली बजाउँछन्,’ उहाँले भन्नुभयो, ‘के बजेटबारे छलफल हुन्छ ? मैले धेरै समय मागेको थिइनँ । दुई मिनेट बोल्न दिइएन ।’ नक्कली शरणार्थी प्रकरणदेखि भ्रष्टाचारको विषयमा आफूलाई बोल्न नदिएपछि विरोध जनाएको उहाँले बताउनुभयो ।
सम्पत्ति छानविनको माग गर्दै अमरेशविरुद्ध अख्तियारमा उजुरी
स्वतन्त्र सांसद अमरेशकुमारको सम्पत्ति छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सर्लाहीका विकाशकुमार ठाकुरले सिंहविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानविनको माग गर्दै अख्तियारमा निवेदन दर्ता गराउनुभएको हो । सी–०६०२८९ दर्ता नम्बर रहेको उजुरीमा राजनीतिबाहेक अन्य पेसा वा व्यवसायमा संलग्न नभएका सिंहको अकुत सम्पत्तिमाथि आवश्यक अनुसन्धान अघि बढाउन आयोगलाई अनुरोध गर्नुभएको हो ।
२०६३ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले प्राप्त गरेको आर्थिक हैसियत सर्लाही जिल्लाका आमजनता र मतदाताका लागि आश्चर्यको विषय बनेको ठाकुरको जिकिर छ । उहाँले सर्लाहीबाट आर्थिक चलखेल गरेर पटक–पटक निर्वाचित भएको पनि निवेदनमा उल्लेख छ । अमरेशबाट सर्वसाधारणको सट्टा आफू र आफ्नो नजिकका आफन्तलाई पोस्ने कार्य मात्रै भइरहेको ठाकुरको भनाइ छ ।
‘सामान्य परिवारमा जन्मिनुभएका माननीय अमेरशकुमार सिंह कुनै समय नेपाली कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरका स्वकीय सचिवसमेत रहनुभएको थियो । २०६३ सालमा एकैपटक नेपाली कांग्रेसको राजनीतिमा उदाउनुभएका सिंहले गरेका आर्थिक फड्को सर्लाही जिल्लाका आमजनता र मतदाताका लागि आश्चर्यको विषय बनेको छ । निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो ।
यसका साथै सर्लाहीबाट आर्थिक चलखेलले पटकपटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरी आफू र आफ्नो नजिकका आफन्तलाई पोस्ने कार्य निरन्तर भइरहेको छ । राजनीतिलाई पेसा बनाएर सर्लाही जिल्लालाई यो तहको धोकाधडी लामो समय सहन नसक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तपसिल बमोजिमका आधारमा अनुसन्धान गरी आवश्यक कारबाही गरिपाऊँ,’ आयोगमा दर्ता गरिएको निवेदनमा भनिएको छ ।
२०६३ सालमा अन्तरिम संसद्को सदस्य भइसकेपछि सिंहले सर्लाहीको बलरा नगरपालिका–४ मा करिब दुई करोडको साढे दुई तले घर निर्माण गरेको, बलरा र अर्नाहामा साढे एक करोड मूल्यका दुई बिघा जग्गा खरिद गरेको उहाँको दाबी छ । यस्तै, आफ्नी जेठी श्रीमती नीतु सिंहको बुबाको नाममा झापाको भद्रपुरमा दुई करोड मूल्य पर्ने चार कठ्ठा जग्गा खरिद गरेको उल्लेख छ । सिंहले ललितपुरको सैंबुमा हाल २० करोडभन्दा बढी मूल्य पर्ने डेढ रोपनी जग्गा आफ्नो नाममा खरिद गरेको छानविन माग गर्दै हालिएको उजुरीमा लेखिएको छ ।
हाल उहाँ बसिरहेको ललितपुरको सैंबु वडा नं. ४ (ग) मा कित्ता नम्बर १०००९ र ८५१ रहेको डेढ रोपनी जग्गामा एउटा तीन तले र अर्को आठ तले बंगला निर्माण भएको र जसको हालको मूल्य ३० करोडभन्दा बढी रहेको उजुरीपत्रमा उल्लेख गरिएको छ ।
यसैगरी, ‘ललितपुरको संैबु वडा न ८ (घ) मा कित्ता नम्बर ८८४८८५ ८८६ को डेढ रोपनी जग्गा खरिद गरिएको छ । जुन अमरेशकुमार सिंहको नाममा रहेको र जसको हालको मूल्य २० करोड बढी रहेको उजुरीकर्ताको भनाइ छ । ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्कोमा करिब पाँच करोड पर्ने चार तले घर र जग्गा आफ्नै बहिनी बेबी सिंह झाको नाममा खरिद गरेको पनि उल्लेख गरिएको छ ।
‘केही समय अगाडि मात्रै भारतको राजधानी नयाँ दिल्लीमा एकासगोलको दाजु शैलेन्द्रकुमार सिंहको कान्छी बुहारी मेघाली मजुदारको नाममा पाँच करोड भारतीय रुपैया पर्ने घर खरिद गरेको, सुन, चाँदी तथा बहुमूल्य धातु हिरा राखेको (४० तोला सुन, २०० तोला चाँदी र १ तोला हिरा) सम्पत्ति विवरणमै पेस भएको, बासु श्रेष्ठ भनेर चिनिने काठमाडौंको एकजना व्यापारीसँग सेयरमा बैंक सञ्चालन गरेको र उनीसँगै छाउनीस्थित क्लोनीमा करिब पाँच करोडको सेयर रहेको छ’ लगायतका विवरणहरू अख्तियारमा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ ।
क्याप्सन ः उहाँ हुनुहुन्छ सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचत स्वतन्त्र सांसद अमरेशकुमार सिंह । यो तस्बिर हेर्दा अहिलेको संसद्, अहिलेको प्रणाली, अहिलेको राजनीतिक अभ्यास, अहिलेका दलहरू सबै नांगिएका हुन् कि भन्ने देखिन थालेको छ । उहाँ संसद्लाई नंग्याउँदै हुनुहुन्छ कि आफैँ नांगिनुभएको हो वा अहिलेको राजनीतिक प्रणाली नै यस्तै खालको हो ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच