एमालेले संसदमा प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारत भ्रमणबाट फर्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ माग्ने भएको छ ।

बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिबार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित विपरित बंगलादेशको सिमासम्म पहुँच पुरयाउनका लागि नेपालले कालापानीको भूभाग छाड्न सकिने भन्दै प्रधानमन्त्रीले अभिब्यक्ति दिएको सार्वजनिक भएको छ, यो बिषयमा आइतबारको संसद बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौं,’ सचेतक गिरीले भन्नुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहालको अभिब्यक्ति राष्ट्रघाती भएको भन्दै सो जवाफ मागिन लागिएको हो ।

प्रधानमन्त्री दाहालले भारतको आफ्नो चार दिने औपचारिक भ्रमणको क्रममा बंगलादेशसँग सिमा पहुँच पुर्याउनका लागि कालापानीको भूभाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिनुभएको थियो । सोही अभिब्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो ।

एमालेले इपिजी प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहालले छलफल नगरेको बिषयलाई पनि गम्भिरतापूर्वक लिएको छ । ‘सीमा समस्याको विषयलाई उहाँले उठाउन सक्नुभएन, ईपीजी प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरू पनि उहाँले उठाउनु भएन, यो भ्रमण राष्ट्रहितको पक्षमा हुन सकेन’ एमाले संसदीय दलको निष्कर्ष सुनाउँदै गिरीले भन्नुभयो। उहाँका अनुसार ‘दिने काम भएको तर लिने काम हुन नसकेको भ्रमण’ को रुपमा एमालेले लिएको छ ।

आजवाट सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेट माथि छलफल सुरु हुनु अघि एमालेले प्रधानमन्त्रीसँग भूमी साटफेरको बिषयमा जवाफ माग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?