सुर्खेत । नेकब्लाष्ट (घाँटी मरुवा) रोगले जुम्लामा मार्सी धानबाली सखाप हुन थालेपछि कर्णाली प्रदेश सरकारले पीडित किसानलाई राहत दिने तयारी गरेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाको ८० हेक्टर जमिनमा खेती गरिएको मार्सी नेकब्लाष्टले सखाप भएपछि पीडित किसानलाई राहत दिने तयारी गरिएको हो ।
भण्डारण गर्ने बेलाको मार्सी रोगले सखाप भएपछि जुम्ली किसान छाक टार्ने पिरलोमा चिन्तित छन् । तातोपानीको वडा नम्बर ४, ५ र ६ र चन्दननाथको ९ नम्बर वडामा झण्डै ८० हेक्टर क्षेत्रफलमा गरिएको मार्सी खेतीमा नेकब्लाष्ट रोग देखिएको हो ।
विभिन्न प्राकृतिक प्रकोप र रोगले खाद्यान्न बालीमा क्षति ब्यहोरेका जुम्लालगायत कर्णालीका दशवटै जिल्लाका किसानलाई झण्डै ६ करोड बराबरको राहत रकम वितरण गर्ने तयारी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार, राहत रकम वितरणका लागि बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत दिइसकेको छ ।
प्राकृतिक प्रकोपबाट बालीनाली तथा पशुपन्छीमा क्षति ब्यहोरेका पीडित किसानको घाउमा मल्हम लगाउन राहत रकम वितरण गरिने अधिकारी बताउनुहुन्छ । मन्त्रालयले प्रकोपका कारण पुगेको जिल्लागत क्षतिको आँकलन गरी ६ करोड बराबरको राहत बजेटका लागि मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्रालयमा फाइल स्वीकृतिका लागि पठाएको थियो । बजेट स्वीकृतसँगै राहत रकम सम्बन्धित जिल्ला कार्यालयहरुमा पठाउने तयारी छ ।
प्रदेश स्थापनाको सुरुवाती चरणबाटै जुम्लाको रैथाने बाली मार्सी धानको ब्राण्डिङ्ग गरी मूल्यवान लोगोसहितको संरक्षण अभियान थालिएको बताइए पनि हालसम्म प्रदेश सरकारले यसको अस्तित्व जोगाउनतर्फ ध्यान नदिँदा किसानहरु मार्सी खेतीबाट पलायन हुने अवस्थामा छन् । हाल मार्सी ब्राण्डका रुपमा बजारमा स्थापित भइसकेको अन्न हो ।
भएन औषधिको अनुसन्धान
प्रदेश सरकारले ६ पौष २०७६ मा कर्णालीलाई अर्गानिक प्रदेश बनाउने उद्देश्यले अर्गानिक कृषि मिसन कार्यक्रम सञ्चालन निर्देशिका २०७६ जारी गरेको थियो । प्रदेश सरकारले अघि सारेको उक्त निर्देशिकामा प्रदेश भित्र उत्पादन हुने रैथाने बालीहरूको प्रवर्द्धन कार्यक्रमअन्तर्गत मार्सीको संरक्षण, संवर्द्धन तथा बजारीकरण गरिने उल्लेख छ । कर्णालीमा मात्रै पाइने नौ प्रकारकार स्थानीय रैथाने बालीको संरक्षण गरी कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको महत्वकांक्षी योजना थियो । तर, कार्यान्वयन पाटो भने फितलो देखिन्छ ।
यी नै बिशिष्टिकृत गरिएका बालीहरु मध्येको एक हो जुम्लाको ‘मार्सी’ धान । यो धानमा नेटब्लाष्ट रोगले क्षति पुर्याएको यो पहिलो पटक भने होइन । जुम्लालाई २०६४ मा अर्गानिक जिल्ला घोषणा गरियो । सो समयअघि मार्सीमा खासै यो समस्या देखा परेको थिएन ।
अर्गानिक जिल्ला घोषणा पश्चात जिल्लामा पूर्णरुपमा विषादी प्रयोगमा रोक लगाइयो । र, तबमात्र मार्सीमा देखा पर्न थाल्यो नेक ब्लाष्ट रोग । त्यसयता किसानले न मार्सीमा लाग्ने नेकब्लाष्टको विकल्प खोज्न पाए । नत हालसम्म पनि प्रदेश सरकारले उक्त रोगको औषधी पत्ता लगाउन सक्यो । नेक ब्लाष्ट रोग विरुद्धको औषधि अनुसन्धानमा समेत लगानी भएन ।
जसका कारण किसानहरु बिस्तारै मार्सी खेतीबाट पलायन हुने अवस्थामा पुगेको जुम्ला तातोपानी गाउँपालिका ४ का किसान जयप्रसाद गौतम बतानुहुन्छ । वर्षौदेखि परिवारको मुख्य खाद्यान्न बालीको रुपमा रहेको मार्सी खेतीमा रोगले क्षति पुर्याएर आफूहरु पीडित बन्दासमेत सरकारले गुनासो नसुनेको उहाँको आरोप छ ।
यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारी पुरानो मुल बीउका कारण मार्सीमा समस्या आएको बताउनुहुन्छ । हाल प्रयोगमा रहेको बिउले नेटब्लाष्ट सहन नसक्ने भन्दै जुम्ली मार्सीको विकल्पमा चन्दननाथ १ र ३ प्रजातिका नयाँ मार्सी धानको बीउ विकास भएको र आगमाी वर्षदेखि किसानलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
नयाँ विकास भएको धानको बिउमा नेट ब्लाष्टले कुनै असर नगर्ने उल्लेख गर्दै जिल्लाका अन्य पालिकामा खेती सुरुभई सकेको तर, तातोपानी लगायतका केही पालिकामा वितरण गर्न नसकिएकाले किसान मर्कामा परेको भण्डारीले स्वीकारे । उनकाअनुसार हाल जुम्लामा तीन हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुँदै आएको छ ।
नेट ब्लाष्ट कसरी लाग्छ ?
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार, नेकब्लाष्ट धानबालीमा धेरै क्षति पुर्याउने रोग हो । यो रोग म्याग्नाप्रोथे ग्रेसिया नामक ढुसीको कारण लाग्दछ । यो ढुसीले जमिनको सतहभन्दा माथि रहेको धानको सबै भागमा क्षति पुर्याउन सक्दछ । यो रोग लाग्दा पातमा स साना सेतो टिका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् ।
बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो देखिनु यो रोगको मुख्य लक्षण हो । यो रोग बालामा दुध नपस्दै लाग्यो भने बाला फोस्रा हुन्छन् । र, दुध पसेपछि लाग्यो भने निम्न गुणस्तरको अन्न उत्पादन हुन्छ । यो रोग लागिसकेपछि खैरो भएको आँख्लाबाट बाला भाँचिएजस्तो देखिन्छ । बाला सुकेर सेतो या खैरो हुने गर्छ ।
मार्सीको इतिहास
मार्सी विश्वकै अग्लो भूभागमा फल्ने धान हो । समुन्द्र सतहदेखि २ हजार ८ सय ६० मिटर उचाइमा अवस्थित विश्वकै अग्लो स्थान जुम्ला छुमचौर ज्युलोमा समेत मार्सी फल्छ । सामान्यतयाः कात्तिक पहिलो साता भित्र्याइन्छ ।
करिब एक हजार वर्षअघि दत्तातय चन्दननाथ मन्दिरको स्थापना भएदेखि मार्सी धानको खेती सुरु भएको इतिहास छ । इतिहासकार रमानन्द आचार्यका अनुसार, जुम्ला कल्याल राज्यको सहयोगमा मार्सी धानको अनुसन्धान तथा व्यवस्थापन गरिएको हो ।
उनका अनुसार, १०९८ सालमा सुरु गरिएको मार्सी धानको परीक्षण १११२ सालमा भएको थियो । भने २०४४ सालसम्म मार्सीको उत्पादन राम्रो थियो । त्यसपछि भने मार्सीमा विभिन्न खाले रोग देखा पर्न थाले । रोगबाट बाली जोगाउन कृषिविज्ञको परामर्शविना जथाभावी औषधि छर्किन थालेपछि त्यसको दीर्घकालीन असर परेको इतिहासकार आचार्य बताउँछन् ।
स्वादिलो, रसिलो र पोषिलो भएकै कारण १९०४ सालमा जंगबहादुर राणाको पालादेखि हुलाकबाट प्रतिदिन एक माना चामल काठमाडौं पठाइन्थ्यो । २००७ सालसम्म यो क्रम रहेको इतिहासकार आचार्य बताउँछन् । पछिल्लो समय मार्सीको बजार माग राम्रो छ । तर उत्पादन कमजोर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच