दुई वर्षदेखि राहतकै पखाईमा ढोरपाटनका बाढी पीडित

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । दुई वर्ष अगाडी भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ बोबाङका हुमबहादुर विकको श्रीमति, बहिनी र भएको जायजेथा सबै बगायो । दुई छोरालाई छिमेकीले बचाए । उहाँ विदेशमा हुनुहुन्थ्यो । बाढीले ठूलो क्षति पुर्याएको खबर पाएपछि उहाँ गाउँ फर्किनुभयो । उहाँ आउँदा न श्रीमति थिइन्, न बहिनी, न श्रीसम्पत्तिनै थियो । उहाँसँग मन सम्हाल्नुबाहेक अरु केही विकल्प थिएन ।

बाढीले विकको पसल, घर, पशुचौपायासहित भएको जग्गा जमिन सबै बगाएको थियो । घर बनाउन विभिन्न संघ संस्थाले सहयोग गरेको जस्तापाता पनि यत्तिकै रहेको थियो । परिवारबाट पहिलेनै छुट्टिएर बस्नुभएका विकको भए भरको जग्गा जमिन नभएपछि उहाँ घर कहाँ बनाउने चिन्तामा हुनुहुन्थ्यो । तर, बुबाआमा र भाइले केही जग्गा दिएपछि अहिले उहाँले ऋण धन गरेर घर बनाउनुभएको छ ।

सरकारले बाढी पीडितलाई चार लाख रुपैयाँ दिने घोषणा गरेपछि विकले ऋण खोजेर घर बनाउनुभयो । तर सरकारले अहिलेसम्म राहत नदिएपछि उहाँ झन् तनावमा पर्नुभएको छ । विक जस्ता धेरै बाढी पीडितको हालत पनि उस्तै छ । सरकारले राहत दिने आशले घर बनाउँदा अहिले ऋणले झन् समस्या थपिएको हुमबहादुर बताउनुहुन्छ । अहिलेसम्म विभिन्न संस्थाले संकलन गरेको दुई लाख र नगरपालिकाले दिएको ५० हजारबाहेक अन्य रकम पाउन नसकेको उहाँको भनाइ छ ।

‘विभिन्न संघ संस्था र नगरपालिकाले दिएको रकमबाहेक अन्य कुनै पनि निकायले अहिलेसम्म राहत दिएको छैन, सरकारले चार लाख रुपैयाँ दिने भनेर आश्वासन दियो अहिलेसम्म दिएको छैन,’ हुमबहादुर भन्नुहुन्छ– ‘राहत पाइएला भनेर ऋण खोजेर घर बनाइयो, अहिलेसम्म राहत पाइएन, साहुले छिटो पैसा दिने भए दे, नत्र घरको टिन भए पनि उठाएर लग्छु भनेको छ, निकै समस्या भयो, कहिले आउने हो थाहा छैन ।’

बाढीमा पसलसहित घर जग्गा गमाउनुभएका भीमबहादुर सुनारले जनप्रतिनिधिले राहत उपलब्धका लागि पहल गरिरहेको भने पनि अहिलेसम्म सरकारी निकायबाट राहत पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले बाढीले क्षति पुर्याएको दुई वर्ष बितिसक्न लाग्दा पनि सरकारले आफूहरूलाई राहत दिन नसक्दा धेरै पीडामा परेको बताउनुभयो ।
‘बाढीले घर, सम्पत्ति सबै लग्यो, कतिको त परिवारनै बगायो, त्यसको पीडा त छँदैछ, तर सरकारले राहत दिने बचन दिएपछि ऋण खोजेर धेरैले घर बनायौँ, अहिलेसम्म राहात नआएपछि ऋणले सबैको टाउको दुखाएको छ, सबैलाई झ्न पीडा दिएको छ, साहुले दनदिनै पैसा मागेर सताउने गरेका छन् ।’

सुनारले सरकारले राहत दिने आश्वासन नदिएको भए ऋणमा नपर्ने बताउनुहुन्छ । ‘सरकारले राहत दिने भन्यो, हामी त होला देला भन्ने आश गर्यौ र ऋण खोजेर जसोतसो घर बनायौँ, तर अहिलेसम्म आएन,’ उहाँले भन्नुभयो, ‘अब के गर्ने, कसरी ऋण तिर्ने ?, हामी त निकै समस्यामा प¥यौँ, कसैले सुनेन हाम्रो पीर व्यथा ।’

बाढीमा बुहारी र छोरी गुमाउनुभएकी खिमी विकले राहत नपाएको गुनासो गर्दै घर बनाउन पैसा आउँछ भनेको धेरै समय भएको तर अहिलेसम्म नपाएको बताउनुभयो । ‘आज आउँछ भोली आउँछ भन्छन्, यस्तो भन्न लागेको वर्ष दिन भयो तर अहिलेसम्म आएन, कहिले आइपुग्दो रैछ ?, कहाँ आएर रोकिएछ कुन्नी, छिटो आए हुन्थ्यो, यहाँ घर बनाएका कर्मीले आज पैसा देउ, भोली पैसा देउ नत्र झ्याल ढोका निकालेर लग्छौँ भन्छन्’ विकले भन्नुभयो ।

बाढी पीडितलाई विभिन्न संघ संस्थाहरूले संकलन गरेको दुई/दुई लाख र ढोरपाटन नगरपालिकाको ५०/५० हजार गरि दुई लाख ५० हजार राहत प्राप्त भए पनि सरकारले दिने भनेको चार लाख रुपैयाँ पाउन सकेका छैनन् ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले स्थानीय तहले समयमा आवश्यक कागज पत्र प्रक्रिया अनुसार नपठाउँदा अहिलेसम्म राहत वितरण हुन नसकेको बताउनुभयो । प्रक्रिया पूरा गरि आएका कागजपत्रको छानविन गरि राहत वितरणका लागि काम गरिरहेको उहाँको भनाइ छ ।

बाढीमा परि ३७ जनाले ज्यान गुमाएका थिए । १५ जना अझै बेपत्ता छन् । बाढीले १३१ घरमा क्षति पुर्याएको थियो भने ११ वटा जलविद्युत आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ढलान पुल पाँच वटा काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?